– रामकुमार एलन
नेकपा (एकीकृत समाजवादी) पार्टी सचिव रामकुमारी झाँक्रीले हेटौँडाको एउटा कार्यक्रममा भनिन्, ‘प्रत्येक १० मिनेटको दूरीमा मन्दिर, गुम्बा र चर्चका लागि बजेट हालिएको छ ।’ स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको चिन्ता नै मन्दिर, गुम्बा र चर्च बनाउनेमा केन्द्रित भएपछि विकासको काम कसरी हुन्छ ? मान्छेलाई पुल चाहिएको छैन, बाटो चाहिएको छैन । विद्यालय भवन चाहिएको छैन । क्याम्पस चलाउन अचेल महायज्ञ पनि हुन छाडे । तर मान्छेलाई मन्दिर चाहिएको छ । गुम्बा चाहिएको छ । चर्च चाहिएको छ । गणतन्त्र संस्थागत गर्दै संघीयता कार्यान्वयनमा मुलुक अघि बढिरहेको भन्दै नेताहरु बाटो बनाइदिने, पुल बनाइदिने कुरा गरिरहेका छैनन्, बरु भनिरहेका छन्, ‘चर्च, मन्दिर र गुम्बालाई भनेजति बजेट दिइनेछ, मस्जिद र मदर्साहरुले पनि मागेअनुसार रकम पाउने छन् ।’
बागमती प्रदेशकै सिन्धापाल्चोकमा केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगे । उनले त्यहाँ पार्टी अभियान चलाउने भनेपछि उनको कुरा सुन्न, उनलाई हेर्न र अरु दललाई गाली गर्न जनता उर्लिएका थिए । शासन यही तर शासक फरक चाहिएको छ जनतालाई । त्यसैले उनीहरुलाई राजा चाहिएको छैन, तर मन्दिर, गुम्बा, मस्जिद, चर्च चैँ चाहिएको छ । गणतन्त्रका मठाधीशहरुले यो सब सुविधा दिन्छ भने राजा किन चाहियो ? लोकतन्त्रको बाटो हुँदै विकासे पुल, क्याम्पस बनेकाले अब मन्दिर, गुम्बा र चर्चका लागि गणतन्त्र अझ २४ क्यारेटको संघीयता पक्षधरले नै बजेट दिने भएपछि वर्षमा एकपटक पूर्वराजा ज्ञानेन्द्र शाह देशाटन गर्छन्, उनी स्वयम् राजतन्त्र आउने कुरामा ढुक्क हुने अवस्थामा छैनन् । किनभने केही महिनाअघि जति जर्ती काट्दा पनि देशभर हल्ला भएको निकै फूर्तिफार्तीका साथ झापास्थित एउटा कलेजमा राजेन्द्र लिङ्देनसहितको हुलहुज्जतले पृथ्वीनारायण शाहको शालिकको शिलालेख स्थापित ग¥यो । त्यहाँ कानुनमै नभएको ‘श्री ५ महाराजाधिराज’ लेखिएपछि कलेज भएको वडाका वडाध्यक्षले त्यो हटाउछौ कि कलेजको अनुमतिबारे पत्र काटौँ भनेपछि २४ घण्टा नबित्दै ज्ञानेन्द्र शाहको ‘श्री ५ महाराजाधिराज’ लेखिएको शिलालेखसमेत टिकेन । जहाँ राजेन्द्र लिङ्देन थिए, उनकै जिल्ला थियो । त्यही जिल्ला हो, दुर्गा प्रसाईंले पनि शाहका बाबुछोरालाई नै उतारेका थिए । हजुरबुबा केपी ओली पनि आउँछु भन्नु भएको थियो, धोका भयो भनेर नातिकेटा प्रसाईंले एकसाथ ओली र शाहको धज्जी उडाइदिए । ज्ञानेन्द्र शाहलाई थाहा छ, लिङ्देनले वडामा ढुंगाको लेख टिकाउन नसकेका बेला कसरी राजा ल्याउलान्, गुनासो गरौँ, यी केटाहरु पनि कमल थापा जसरी बिच्केलान् भन्ने पनि पर्दो हो । भन्ने कल्लाई ? उसमाथि राजतन्त्र फर्काउने भनेर गणतन्त्रमा कमल थापा झैँ उपप्रधानमन्त्री हुन पाइन्छ भने एकबारको जुनीमा कसले छाड्ने ? जसरी संघीयता र प्रदेश खारेज गर्छौँ भन्दै चुनाव जितेको राप्रपाले बागमती र कोशी प्रदेशमा सभामुख पद भने पनि चाखेकै छ ।
अब सिन्धुपाल्चोक नै जोडौँ, रवि लामिछाने गएको केही दिनपछि समाचार आयो, त्यहाँ ठूलो घण्टको मूर्ति बनाइने भनेर समाचार आयो । यति ठूलो घण्ट नेपाली जनतालाई किन चाहिएको होला भनेर सोच्न नपाउँदै त्यहीँ फेरि ८० फिटको बुद्धको प्रतिमा पनि बन्दै गरेको कुरा सुनियो । गण्डकी प्रदेशतिर फेरि ३ सय ५० केजी कि कतिको महादेवको मूर्ति राखिने समाचार आयो । आफैँ पिपलबोटमुनि तपस्या गरेका बुद्धले कहिले चैँ मेरो प्रतिमा ८० फिटको हुनुपर्छ भने होलान् । जबकि धादिङको छिमेकी गाउँ पालुङका रुपचन्द्र विष्टले मेरो मूर्ति, प्रतिमा, तस्बिर केही नराख्नू भनेका थिए रे, तर उनका अनुयायीहरुले उनै विष्टले स्थापना गरेको ‘विकास घर’अगाडि अग्लो रुपचन्द्रको शालिक राखिदिए । यो शालिक, प्रतिमा, मूर्तिमा के रहेछ यस्तो आकर्षण कि भन्छन्, गणतन्त्र संस्थागत गरौँ, राख्छन् मूर्ति, शालिक, प्रतिमा । कतिसम्म सुनिएको थियो भने, बागमती प्रदेशको राजधानी हेटौँडा बनाएकामा गजब गर्नु भयो भनेर केही त ‘प्रथम मुख्यमन्त्री’ डोरमणि पौडेलको शालिक कहाँ राख्ने भनेर पनि छलफलमा जुटिसकेका थिए । मुख्यमन्त्रीकै सचिवालयमा बस्नेहरुले सुनाएको यो किस्सामा थप केही सुनिएको छैन । तर शक्ति चैँ गणतन्त्र हो कि शालिक भन्ने प्रश्न घनिभूतसँग मनमा उफ्रिरहेको छ । काठमाडौँको सबैतिर देख्ने गरी साँगामा राखिएको १ सय ८ फिट अग्लो महादेवको मूर्तिले पर्यटक तान्लान् तर गणतन्त्र र राजतन्त्र कुन ठिक भनेर पक्कै विवाद गर्दैनन् । थाहा छैन, न महादेव कमरेड पनि यसपालि काठमाडौँमा मेरो स्तुतिको स्वस्थानी पढेनन् भनेर चित्त दुखाएर माघको चिसोमा यत्तिकै उभिइरहेका छन् कि ? आफ्नै छोरा पनि नचिनेर टाउको छिनाइदिने उहाँको पनि दुःख अनेक छन् । फेरि देशमा हिन्दू र बुद्धलाई जति गाली गरे पनि हुने आवारा लोकतन्त्र छ ।
हाम्रो विकासको मोडल नै भगवानले तोडमरोड गराइरहेको छ । सुरेन्द्र पाण्डेले मध्यपहाडी राजमार्गको परिकल्पना गरेको विषय पनि भगवानद्वारा नै किचिमिची भयो । अब डाँडाका चार घरलाई एउटा स्कुल, एउटा स्वास्थ्यचौकी, एउटा चौतारो, एउटा सडक दिन सकिन्न, भएको बस्ती वेशीमा झारेर सबै सुविधा त्यहीँ दिन सकिन्छ, बरु पोखरी, पार्कसहित बस्ती बसाउँ भन्ने मनसायले अर्थमन्त्री हुँदा पाण्डेले यस्तो योजना ल्याए । तर मान्छे तर तल वेशीमा घर भए पनि माथि नै डाँडामा बसिरहे । उनीहरुको तर्क थियो, डाँडाको छेउमा कुलदेउता छ, तल लैजानै मिल्दैन, कुलदेउता यहीँ बस्ने भएपछि आमाबुबा पनि तल झर्नै मान्नु भएन, यहीँ हामी मरेपछि तिमीहरु तल जानु भन्नुहुन्छ, तल झरेको त हो नि, हाम्रो घरमा बिरामी पर्न थाले । माथि आएर पूजा गरेपछि सबै ठीक भयो । यस्ता गणतान्त्रिक तर्कहरु कैयौँ सुनिए । यसरी गाउँमा चार घर कुलदेउतासहित बसिरहँदा बेशीको बस्तीमा विकासका योजना ठप्प भयो । गाउँगाउँसम्म मन्दिर बन्न थाले । हाम्रो विकासको मोडलमा कहाँ कैफियत भयो थाहा छैन, जनतालाई स्वास्थ्य चौकी र औषधीमा भन्दा धर्मका नाममा बजेटको ‘कनिकाछराई’ चर्को हुँदैछ । थाहा छैन, यसले गणतन्त्र कति बलियो हुन्छ, एउटा कुरा चैँ यसैपालि धादिङ–मकवानपुरतिर हेरियो । ल्होसारमा ३ दिन बिदा, क्रिसमसमा ३ दिन बिदा । जनयुद्धमा एकदिन पनि छैन बिदा । यसो मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष हे¥यो, फेरि गणतन्त्रका लागि जनयुद्ध लडेर आएका अनुहारहरु नै झुल्किन्छन् । जनताको धर्मप्रति अगाध आस्था छ । गणतन्त्र त झन खतरामा पर्नै दिन हुन्न भन्छन् । गणतन्त्र शालिकले जोगाउने कि हामीले ? समाज धर्मले अघि बढाउने कि समाजवादले ? हुन त देशकै ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष स्वयम् जनताको बहुदलीय जनवादको उत्तरआधुनिक कालमा चितवनको ठोरीमा अयोध्या देख्छन्, जनताले घण्ट देख्नु कुन अपराध भयो र ?
शासकहरुको स्वभाव र हुलिया बदलिएको छ । आक्रोशको पारो यस्तरी बढेको छ कि निरासाको धर्सो निकै बढेको छ । यहाँहरुले आफ्नो बारीको दाम बढेको त फाइदा पनि पाउनु भयो । तर हजारको रोपनी काटेर आनाको लाखमा बेच्दा पनि किन दिन फिरेन र सीमित मुठ्ठीभरका दलालहरुलाई नै तरुण छोराछोरी र बारीको पाटो जिम्मा लगाउनु पर्ने दिन आयो भनेर कहिल्यै सोच्नु भएको छ ? सोच्नु भएको छैन । किनभने सोच्ने जिम्मा बुद्धिजीबीहरुको हो । यो देशमा यस्ता बुद्धिजीबीहरु छन्, जो परेका बोल्दैनन् । बोल्ने बुद्धिजीबीहरु फेरि ‘पुन्य गौतम’ टाइपका छन् । डबल पिएचडी स्कलरसीपवालाहरु छन् । यसरी सोच्नुभन्दा साँझ भट्टी छिरेर व्यस्त हुने र सामाजिक सञ्जाल हेरेर यसपालि नयाँलाई छान्ने भनेर धारणा बनाउने बानीले जनता, व्यवस्था र राष्ट्रका लागि कति हानिकारक भयो भन्नेबारे पनि सोच्न ढिला भयो । अस्ति एउटी आमाले लेखिन्, ‘मुटुको टुक्रा छोरीहरु छाडेर जान चाहिनँ, त्यही भएर सँगै लगेँ ।’ दुई कि कति छोरी मारेर आफूले आत्महत्या गरिन् । अस्ति स्वयम्भूतिर एउटाले स्वास्नी, छोरा मारेर अर्को छोरालाई मोबाइलमा भिडियो खिच्न लगाए । यो तहको निरासा, आक्रोशको ओखती रवि लामिछानेको घण्ट, बालेनको लौरोले शान्त पार्ला त ? यसपटक बालेन साहले १० हजार फुटपाथ व्यापारीलाई काठमाडौँ छाडेर गाउँ जाऊ, मैलेजस्तै केही गरेर देखाऊ भनेका छन् । देश यस्तो अवस्थामा गयो कि, त्यही मान्छे हुन्, काठमाडौँमा बालेनले घर भत्काउँदा क्या गजब गरेको भनेर फेसबुकमा लेख्छन्, धादिङमा मेयरले घर भत्काउने कुरा गरे, यहाँ भत्काउन मिल्दैन, चल्तीको मुआब्जा दिनु पर्छ भनेर आन्दोलन गर्छन् । यस्ता जनताले गणतन्त्रमा माग्ने चैँ फेरि विकासका नाममा मन्दिर, मस्जिद, गुम्बा र चर्च नै हो भनौँ भने उनीहरुकै जुलुश ठूलो भइसक्यो । माओवादीजस्ता गणतन्त्रको असली परेदार त मन्दिरको कोषाध्यक्ष भएको देखिन्छ ।
व्यवस्थाप्रति एक हिसाबले सबैतिरबाट प्रहार भइरहेको छ । प्रदेश चाहिन्न भन्नेहरु नै सत्तामा साझेदार छन् । हिन्दूको कुरा कांग्रेसमा पनि बलियो भइरहेको छ । एमालेको पुच्छर समातेर पनि संसद र सत्तामा पुग्न नसकेपछि कमल थापा फेरि राजतन्त्र र हिन्दूको कुरा लिएर देशाटन गरिरहेका छन् । माओवादीमै पनि रामकुमार शर्माजस्ता नेताहरु हिन्दूका पक्षमा छन् । थाहा छैन, यो देशमा धर्मका नाममा विकास बजेट काटेर जनताको निरासाको धर्सा मेटिन्छ कि मेटिन्न । तर नयाँ आएका, युवा पुस्ता भनिएका पनि चरम अवसरवादी सत्तालम्पट देखिएका छन् । यिनले पाए बाख्रा पनि बेचेका छन्, म्यादै नपुगी सभापति पनि ताकेका छन्, संसदीय दलको नेताको रहर पनि राखेका छन् । यस्ता रहरहरुले व्यवस्था रहला कि नरहला ? थिति बस्ला कि नबस्ला ? भोलि बहुमत पुगेका दिन तिमीहरुले बनाएको मन्दिर, मस्जिद, गुम्बा र चर्च अब हामी चलाउँछौँ, तिम्रो गणतन्त्रकाल सकियो भन्दै लखेट्न आएका दिन मात्रै सबै दलहरुको चेत फिर्ने हो कि ? देशमै गरिखाउँ, मरिजाउँ भन्नेहरुलाई सबै पार्टी, व्यक्तिले अनेक रोग बोकाएका मात्र छन् । उपाय देखाएका छैनन् ।