Tue. Jul 16th, 2024

सामुहिक भावना हराएको राजनीति

– धनराज वास्तविक
भनिन्छ, सबै नीतिको पनि मुल नीति हो राजनीति । विश्व सञ्चालन गर्ने मुख्य हतियार हो राजनीति । राजनीतिको माध्यमद्वारा विश्वका नेताहरूले आफ्नो देश र अन्य देशमा सत्ता सञ्चालन गरिरहेका हुन्छन् । राजनीतिलाई पद प्राप्तिका निम्ति गरिने संघर्ष पनि भनिन्छ । राजनीति शक्ति संघर्षको मुख्य माध्यम भएका कारण यसलाई सफल बनाउन तमाम मानिसहरूको उपस्थिति र सहभागिता अनिवार्य हुन्छ । यसअर्थ राजनीति सामुहिक संघर्ष पनि हो । सामुहिक संघर्ष र परिश्रम बिना राजनीतिमा सफल हुन सकिन्न । राजनीतिमा एउटा व्यक्ति बनाउनका निम्ति तमाम मानिसहरूको सक्रिय सहभागिता र लगानी चाहिँन्छ । जो भएन भने राजनीति सफल हुन सक्दैन । उल्लेखित सन्दर्भलाई नेपालको राजनीतिसँग जोडेर हेरौं ।

‘म’ वादले भरिएका नेताहरू
अमेरिकी लेखक जेम्स फ्रिम्यान क्लार्कले भनेका छन्, ‘नेता र राजनेताबीच फरक भनेको, नेताले अर्को चुनावका बारेमा सोच्छन् भने राजनेताले भावी पुस्ताका लागि ।’ हाम्रा नेताहरूले चुनावदेखि चुनावसम्मका भाषण गर्नु बाहेक अर्को कुरा गर्न जानेकै छैनन् भन्दा अन्यथा हुँदैन ।

के नयाँ, के पुराना ? नेपाली राजनीतिमा राज गरिरहेका नेताहरूको पदलोभ सीमाहिन देखिन्छ । चुनावमा मुलुक र जनताको निम्ति भोट माग्ने नेताहरू चुनाव सकिएपछि गाउँ जादैनन् । गएपनि जिल्ला र पालिका केन्द्रभन्दा तल ओर्लिदैनन् । क्लार्कले भनेझैँ नेपाल चुनावदेखि चुनावसम्मका निम्ति भाषण गर्ने नेताहरू यत्रतत्र सर्वत्र भेटिन्छन् । तर, युग र भावि पुस्ताका निम्ति काम गर्नुपर्छ भनेर बोल्ने नेता निक्कै कम भेटिन्छन् । भेटिएपनि ती नेताहरूको पार्टीमा हैसियत कमजोर छ । पूँजीवादको विरोध गरेर नथाक्नेहरूको गम्भीर पेलाइमा ती नेताहरू पर्छन् र राजनीति सकिदिने काम हुन्छ । यस्तो किन हुन्छ ? यस सवालको सरल जवाफ छ, नेपाली राजनीतिमा सामुहिकता भन्ने जिनिस छैन । सामुहिक भावना बोकेको राजनीति भएको भए राम्रा मान्छेहरूले राजनीतिमा आफ्नो उपस्थिति बलियो र प्रभावकारी देखाएका हुन्थे । यहाँ त नेताको वरिपरी घुम्ने, भए नभएका रिर्पोटिङ गर्ने, चम्चागिरी गर्नेहरू पार्टी सत्ता र राज्य सत्तामा पुग्छन् । जसले मुलुक र जनताको निम्ति दिगो विकासका काम गर्छन् भन्ने कसरी विश्वास गर्नु ? नेपाली नेताहरूको व्यक्तिवाद, नातावाद, गुटवाद, भ्रष्ट मानसिकता देखेर बिचरा भन्नु बाहेक अरू विकल्प छैन ।

‘म’ भन्नेहरू
विगत ४० वर्षदेखि पार्टी सत्ता र राज्य सत्तामा रहेकाहरूले देश चलाउन सकेनन् भनेर ‘नो नट अगेन’ को नारा दिएका रवि लामिछानेहरू जति पदलोभि र विवादित मान्छे अर्को देखिएन । कामगर्ने नाममा रविहरूले आफ्ना कर्तुतलाई राज्य सत्ताको दुरूपयोग गरेर लुकाउने काम गरिरहेको घाम जस्तै छ । दोहोरो नागरिकता र राहदानी प्रकरणमा मुछिएका लामिछाने पछिल्लो समय सहकारी प्रकरणमा नाङ्गो बनेको सबैले देखेकै कुरा भयो । तर, पनि उनको स्वर सानो भइसकेको छैन । किन कि उनका भक्तहरूको अन्धोसर्मथन अचाक्लि छ । केवल समर्थकको समर्थनले बलियो बनेका रविले स्वार्थ बाझिने गृहमन्त्रालयमा लाजघिन नमानी विराजमान छन् । रविहरूको मपाइत्व छरपस्ट छ । स्वार्थ बाझिँने मन्त्रालय नै किन ? यसको पनि सरल जवाफ छ, सहकारी र दोहोरो राहदानी प्रकरणमा आफूलाई चोख्याउन । । आफ्नो पार्टीका अन्य नेताहरूलाई गृहमन्त्री बनाएर आफूले अर्को मन्त्रालयको नेतृत्व गर्न सक्थे । रापतापका साथ सयर गर्ने र आफूमाथिका कलंकलाई पवित्र बनाउने बाहेक रविको अर्को उद्देश्य देखिदैन । आफूमाथि निरन्त समाचार प्रकाशित गर्ने मिडिया सञ्चालकलाई पक्राउ गरेर मिडिया जगतलाई तर्साउन खोजेको घटना आलै छ । विभिन्न घटनालाई हेर्दा पुरानाभन्दा नयाँ झन् सामुहिक भावनाभन्दा धेरै पर पुगेर राजनीति गर्दैछन् । यस प्रकारको राजनीतिले मुलुकलाई फाइदा गर्दैन भन्ने कुरा आम मानिसहरूले बुझ्नुपर्छ ।

त्यस्तै पुराना नेताहरूको अवस्था झन् लाजमर्दो छ । प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । उनी विगत ३५ वर्षदेखि पार्टी प्रमुख छन् । प्रचण्ड परिवर्तन, अग्रगामी र प्रगतिशीलताको पक्षमा भाषण गर्छन् । तर, यी कुराहरूको समय, परिस्थिति र मूल्य छ भन्ने कुरा प्रचण्डले कहिल्यै बुझेनन् । बरू उल्टै आफूलाई निर्विकल्प नेताको रूपमा परिभाषित गरिरहन्छन् । आफू र आफ्ना बाहेक कसैलाई पनि पार्टी चलाउन योग्य देख्दैनन् । उनी माओवादी पार्टीभित्रका अकण्टक नेता हुन् । उनको विरूद्धमा कोही बोल्यो कि सकियो । प्रचण्डको आलोचना गर्नेहरूको हविगत देखेकै विषय हो । आलोचना पचाउन प्रचण्डलाई मुस्किल पर्छ । प्रचण्डमा पनि सामुहिकता भन्ने कुरा कुन चराको नाम ? भाषणमा जनताजाती, आदीवासी, मधेशी, दलित, महिला, पीछडिएको वर्ग र क्षेत्र भन्ने तर, व्यवहारमा आफू र आफ्ना बाहेकलाई देख्ने प्रचण्डको नजर छैन । प्रचण्ड भनेकै आफ्न्तवादको नाइके हुन् । राजनेता बन्ने अवसरलाई चिन्न नसकेका प्रचण्ड आफन्तको घेराभन्दामाथि उठ्न सकेनन् । उनले सामुहिकताको सिद्धान्तलाई पोलेर खाए । यदि सामुहिक नेतृत्व र पार्टी पद्धति अंगालेका हुन्थे भने आज माओवादी पार्टी अरूको बैशाखीमा बाँच्नुपर्दैन थियो । प्रचण्डले आफ्नो राजनीतिक जीवनको अन्तीम खण्डमा आइपुग्दासमेत उत्तराधिकारी खोजेका छैनन् । बरू बाबुराम, वैद्य, विप्लवहरूले प्रचण्डलाई दक्षिणपन्थी अवसरवादको भासमा भासिएको आरोप लगाउदै छिन्नभिन्न बने । यो अवस्थामा आउदासम्म प्रचण्डको चेत खुलेन । यो सब हुनुमा सामुहिकतालाई स्वीकार्न नसक्नु नै हो ।

बाँचुञ्जेल आफै अध्यक्ष भइराख्ने, आफै प्रधानमन्त्री बनिराख्ने, सत्ता जोगाउन नैतिक, अनैतिक कदम चालेर मुलुकलाई अस्थिर बनाइ राख्ने र उथलपुथल मच्चाउने काममा प्रचण्ड न्वारनको बल लगाएर लागि रहेका छन् । प्रचण्डलाई छोडेर हिडेका बाबुराम, वैद्य, विप्लवहरूको हविगत पनि दुनियाँले देखिरहेकै छन् । वैद्यले प्रचण्डलाई ३३ वर्षको उमेरमा नेतृत्व हस्तान्तरण गरेका थिए । आज वैद्य एउटा समूहको नेतृत्व गरिरहेका छन् । पार्टी विभाजन गर्नु भनेको पदको लागि जस्तै भएको छ । एकअर्काको अस्तित्व स्वीकार्न नसक्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन सकिदै गएको अवस्था छ । वैद्यबाट विभाजित बनेका विप्लव विगत १२÷१३ वर्षदेखि नेतृत्वमा रहेका छन् । उनले पनि नेतृत्व हस्तान्तरण गर्ने छाट देखाएका छैनन् । यसरी हेर्दा जसरी पनि नेतृत्व हत्याउने र पदमा बसिरहने परिपाटीमा नेताहरू रूमली रहेका देखिन्छ । सीपी, मोहनविक्रमहरूको पदलोभी इतिहासका बारेमा लेख्नै परेन । किन कि आफूलाई असल र क्रान्तिकारी कम्युनिष्ट भन्ने तर, व्यवहारमा यथास्थितिवादी, जडमा बाँच्नुपर्ने उनीहरूको बाध्यता छ ।

समाजवादीहरूको हरिबिजोग
भनाई र लेखाईमा समावादीहरू सामुहिकतालाई बढो स्थान दिन्छन् । तर, व्यवहरमा हेर्दा यति लिच्चड देखिन्छन् कि शब्दमा अर्थाउन गाह्रो पर्छ । प्रचण्डबाट छुटिएर गएका बाबुराम आजका दिनसम्म पनि अधयक्ष नै छन् । उपेन्द्र यादवहरू पनि अध्यक्ष नै छन् । महन्त ठाकुर, प्रभु साहको अवस्था उस्तै छ । पद नपाउदा वित्तिकै पार्टी विभाजन गर्ने र बाँचुञ्जेल पार्टी अध्यक्ष भएर बस्ने रोग नयाँ होइन । उपेन्द्रको जसपाबाट हालै अशोक राइको नेतृत्वमा अर्को नयाँ पार्टी गठन भएको छ । भलै अदालतले उक्त पार्टीलाई मान्यता दिन्छ या दिदैन हेर्न बाँकी छ । उपेन्द्रकै कारण राजनीति अस्तित्व बनाउन सफल भएका अशोक राइहरूको राजनीतिक भविष्य अर्को कुनै दलसँग एकता नगर्ने हो भने दुई चार वर्षभित्र दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्था आउने छ ।

कम्युनिष्टहरूको नारा र पारा
यता आफूलाई सबैभन्दा ठूलो कम्युनिष्ट ठान्नेहरूका सामुहिकताका सन्दर्भमा बोल्ने नारा र पारा बेग्लै छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वका निम्ति अबका २० वर्षसम्म आस नगर्न उर्दी जारी गरिसकेका छन् । अबका २० वर्षसम्म एमालेका दोस्रो पुस्ताका नेताहरूले पार्टी अध्यक्षको कुर्चितिर आँखा लगाउन पाइने छैन । यसो भन्नु भनेको सामुहिक भावनाको घोर विपरित कुरा हो । अस्तित्वमा रहेका कम्युनिष्ट पार्टी मध्य सदस्यका हिसाबले एमाले सबैभन्दा ठूलो दल हो । तर, एमाले नेतृत्वको अहंकार, व्यक्तिवाद, दम्भ, घमण्डले विस्तारै खिँइदै गइरहेको छ । एमालेमा सामुहिकता भन्ने चिज खोज्नुपर्ने अवस्थामा छ । केपी ओलीको भक्तिगान गाउँदा नेता, पद, पैसा सबै पाइन्छ भन्ने स्कुलिङबाट एमाले पंक्ति चलिरहेको छ । मुलतः मुलुक भत्किनुमा नेपाली कुम्युनिष्टका नारा र पाराबीचको तादात्म्यता नमिल्नु हो । सत्ता र शक्तिका निम्ति जे सुकै गर्ने होडमा एमोल—माओवादी लागि परेको छ । यस्तो दुःखद र नाजुक अवस्थामा न त देश बन्छ, न कम्युनिष्ट आन्दोलन बच्छ । बन्छन्, केवल नेतृत्वका भक्त । गणेश प्रवृत्तिले जन्माउने भनेकै भक्त हो । वैज्ञानिक विचार र चिन्तनसहितका कार्यकर्ता जन्मिनलाई त विचारको काममा दत्तचित्त भएर लाग्नुपर्छ । जो काम नेतृत्वबाटै अवरूद्ध छ ।

सामुहिकताको सवालमा एकीकृत समाजवादी
एमालेका अध्यक्ष केपी ओलीले दुई/दुई पटक संविधान विपरित, पार्टीको भावना विपरित, जनभावना विपरित, अदालतको आदेश विपरित संसद विघटन गरेपछि त्यसको प्रतिपाद गर्दागर्दै जन्मिएको पार्टी हो एकीकृत समाजवादी । मैले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पार्टी कम खराब पात्र समेटिएको पार्टी हो भन्ने गरेको छु । अन्य कम्युनिष्ट पार्टीमा जस्तो भ्रष्ट, तस्कर, दलाल, विचौलिया एस पार्टीमा कम छन् । जसको अन्त्य गर्न धेरै समय लाग्दैन । अन्य कम्युनिष्ट पार्टी जस्तो नबन्ने, नसप्रिने गरी बिग्रेको अवस्था एस पार्टीमा छैन । त्यसैमा माधवकुमार नेपाल इतिहास बोकेका नेता हुन् । राजनीतिमा त्याग निष्ठामा बाँचेको नेता हुन् । अरूभन्दा कम विवादित नेता हुन् । ललिता निवास जग्गा प्रकरणमा उनको नाम जोडिएको थियो । तर, कहिँ कतैबाट पनि त्यसको पुष्टि भएन । सायद हुँदैन पनि । उनको नेतृत्वमा यहि असार १६—२० काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ । झलनाथ खनाल, घनश्याम भुसाल जस्ता वैचारिक नेताहरूलाई साथमा लिएर नेता नेपालले समाजवादी कार्यक्रम अघि सारेका छन् ।

यसरी हेर्दा सामुहिकताको राजनीति एस पार्टी थोरै भएपनि जिउँदो देखिन्छ । अबको महाधिवेशनमा नेता नेपालले केही त्याग अवश्य गर्नुपर्ने छ । पद त्याग गर्नेहरूको इतिहास गर्विलो हुन्छ । पदको लोभ गर्नेहरूको इतिहास अत्यन्तै सतही हुन्छ । नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरणको बाटो रोजेको खण्डमा माधव नेपालको पार्टी सामुहिकतामा विश्वास गर्ने पार्टी रहेछ भनेर थप पुष्टि हुनेछ । नभए आफै अध्यक्ष, आफै प्रधानमन्त्रीको उम्मेदार, संसदीय दलको नेता, वडा कमिटीको रिवन काट्न पनि आफै पुग्ने हो बनेकै इतिहास पनि भत्किदै जान्छ । एकीकृत समाजवादीका कार्यकर्ता र माधवकुमार नेपालको वरिपरी रहेका नेता कार्यकर्ताले उनलाई महान नेता बनाउने कि पद लोभि नेता भनेर चिनाउने ? समयमै विचार गरून् ।

About The Author

Loading...