Mon. Oct 28th, 2024

आरिघोप्टे वर्षा–हाँडिघोप्टे राजनीति !

– रामकुमार एलन

मध्य असारको बेला छ । पानी झमझम परिरहेको छ । यो पानीले धेरैको जिन्दगी आतंकित पारिरहेको छ । उखरमाउलो गर्मीबाट उन्मुक्ति दिए पनि सुतिरहेका कैयौँ ज्यान भलबाढीमा बगेका छन्, पहिरोमा पुरिएका छन्, बेपत्ता भएका छन् । बर्सेनि देशमा बाढीपहिरोको चपेटाले धेरैको अकालमा ज्यान जान्छ । अचेल खोलानाला सुकेका छन् । कतै त्यस्तै जग्गामा बस्ती आवाद भएको छ । वर्षाका बेला झरी परेपछि आउने भलले बाटो बिर्सँदैन । जता ओरालो र पुरानो बाटो हो, खोज्दै आइहाल्छ । त्यस्तोबेला त्राहिमाम हुने चैँ घरमा बस्नेले हुनु पर्ने हो, घर बनाउने, बेच्ने, जग्गा प्लटिङ गर्नेले त कुस्त कमाइसकेको हुन्छ, ऊ अन्तै रमाइरहेको हुन्छ । आमनेपालीको नियती यो भन्दा फेरिएन, नयाँ र जान्नेलाई छान्ने भन्दै दुई दुईपटक भोट हाले पनि ।

बाढीले कस्तरी समस्यामा पार्छ भन्ने भुक्तभोगी एउटा मै हुँ । २०५० साल साउन ४ गते हामी मकवानपुरको मनहरी खोलाको बगरमा गोठाले थियौँ । खोला एकाएक बढेर आयो । केही फर्निचरका टुक्रा बगेर आए । यसो हेरेको त, ‘कालिका मावि’ लेखिएको छ । धेरै माथि शिरमा रहेको नामटारको स्कुल बगाएछ भन्ने पर्यो । हतारमा गाइगोरु लिएर घर गयौँ । घर पुग्दा पानी ‘आरीघोप्टे’ भइसकेको थियो । भोलिपट हाम्रो रोपाइँ थियो । पलाँसे बगरको खेतमा रोपाइँ भव्य भयो । साँझ यस्तो मुसलधारे पानी पर्यो कि यसले फेरि ‘आरिघोप्टे’ रुप लियो । अनि हामी साँझ हलो पनि खेतमै छाडेर घर पुग्यौँ । मामाघरमै हुर्किएको हुँ, पछि मामाघरसँगै हामी पनि बसाइँ सरेर आएका थियौँ । मामाघरका हजुरबुबा साँझ पानी पर्दै गर्दा बगरतिरको स्याउलीबजार छिर्नु भएको थियो । राति ११ बजेसम्म आउनु भएन । त्यतिखेर अहिलेजस्तो फोन, नेट थिएन । सोधिखोजी हुँदा कुनै एउटा भट्टीमा हुनुहुन्थ्यो । त्यसपछि सम्पर्कविहीन हुनुभयो ।

साउन ६ गते झिसमिसेमै सारा संसार बगाएको दृश्य हेरियो । हिजो मात्रै रोपाहारले रोपेको खेतमाथि चुर्लिङ खोला दौडिरहेको थियो । यामानका बगरभरि खोला दौडेर बगरका खेत मात्रै होइन माथिका आँठाका खेतहरुमा पनि छिर्न खोज्दै थिए । थिएन, खेत, हलो र हजुरबा जानु भएको भट्टी पनि । भट्टीवालाले बाढी आयो, भागौँ भन्दा बस्नु भएका उहाँसहित त्यतिखेर मकवानपुरका धेरैलाई खोलाले निल्यो । सानै थिएँ, याद छ, ६ दिनसम्म बुबा र मामाहरुले कतै हजुरबा भेटिनु हुन्छ कि भनेर खोज्नुभयो । मनहरीको बिजौना बगरतिरसम्म खोज्नु भयो । शव भेटिएन, सातौँ दिन कुशको शव बनाएर जलाएर मामाहरु किरिया बस्नु भयो । उर्लिरहेको बाढीले हामी लगभग सुकुम्बासी भएका थियौँ । हामी मात्र होइन, मकवानपुर र देशभर बाढीले तबाह गरेको त्यही जिन्दगीबाट जुरुक्क उठेर यहाँसम्म आइपुग्दा तीन दशक अर्थात् ३१ वर्ष सुकुम्बासी, बाढीपीडित र अव्यवस्थित बसोबासीको जिन्दगी कति पीडादायी हुन्छ, अनुभूत गर्छु । त्यसैले अन्जान बाबुले लेखेको ‘हामी भयौँ बेघरबार, चरी लैजा समाचार’ गीत सुन्दा आँसु आउँछ, त्यही ५० सालको दृश्य आउँछ । त्यो दुःखबाट यहाँसम्म आउँदा कति हण्डर खाएर ‘मनुवा’बाट ‘मान्छे’ हुन खोज्दा कहिले आर्थिक त कहिले राजनीतिक प्रहारले ‘सामाजिक जिन्दगी’मा मोसो दल्न एकाध भूइँफुट्टाहरु सेतो सर्टको गोजीमा मोसो बोकेर हिँड्दा आफैँ ‘कालो’ पोतिएको पनि देखेको छु ।

हो, बाढीको यो कहरमा सन्तान हुर्काउन, पढाउन बुबाआमाले खेप्नु भएको दुःखको एक छेउ पनि ऋण तिर्न सकिएन । त्यतिखेर नै खेत कति महंगो थियो भने कठ्ठाको २५ हजार रुपैयाँमा किनबेच हुन्थ्यो । यति मात्र होइन, अलि अलि याद छ, यो धान त रोपियो, भित्र्याउने कि नभित्र्याउने टुंगो छैन भनेर बुबाले गाइँगुइँ गफ गरेको याद छ । खेत छिमेककै थापाहरुले किन्ने कुरा भएको थियो । हामी सायद मंसिरमा मनहरीतिर बसाइँ सर्ने कुरा थियो । तर एक साँझको आरीघोप्टे झरीले हाम्रो जिन्दगीमा पारेको वज्रपातले हामी निहत्था सुकुम्बासी भयौँ । त्यहाँबाट यहाँसम्म उठेर आउन कति कष्ट झेलेका छौँ, यो देशका लाखौँ बाढीपीडितले झेलेको कथा उही हो । हाम्रा कथा चाडपर्व, जाडो, झरीबादलका बेला मात्र फिचर हुन्छ । बाँकी समय यिनीहरु कसरी बाँचेका छन् भनेर कसैले चासो लिँदैनन् । पत्रकारलाई बाहेक अरुलाई यस्ता निम्छरा जिन्दगीबारे चिन्ता गर्ने समय पनि हुन्न । किनभने आफ्नो हातमा भएको राजनीतिक गणितका आधारमा हान्ने गोरुलाई नाक छेडेर नत्थी लगाए झैँ प्रधानमन्त्रीलाई पनि सुइ हानेर इमरजेन्सीमा बस्ने बनाउने देशको घिनलाग्दो राजनीति पनि यो ३१ वर्षमा राम्रैसँग अनुभूत गरिएको छ । प्रधानमन्त्री गणित जोडजाड पारेर बहुमत त सावित गर्छन् तर कहिले रञ्जिता श्रेष्ठसँग त कहिले रेशम चौधरीसँग डराइरहन पर्छ र आफ्नै बहुमतको गठबन्धनले इमरजेन्सीमा राखेर सुइ लगाइरहँदा ठीक भएर ‘ओपिडी’मा झर्नु पर्नेमा बरु ‘भेन्टिलेटर’ जाने अवस्था बन्छ । जस्तो अहिलेको राजनीतिक गाइँगुइँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘इन्तु न चिन्तु’ हुने संकेत गर्दैछ । सायद यो पंक्ति तपाईंहरुले पढिरहँदा उहाँ पदमुक्त भइसकेको पनि हुनसक्ने गरी देशमा असारे भल भन्दा ठूलो राजनीतिक भलबाढी आउने संकेत गरिरहेको छ ।

यो हाँडिघोप्टे राजनीतिले देश उँभो लागेन । जनताले सधैँ साथ दिए । आन्दोलनमा भोकै हिँडे । एमसिसीका विरोधमा बानेश्वरमै पानीका फोहोरा खाएर जनताका छोरा मरे । कोरिया कोटामा विदेश जान पाउँ भन्दा प्रहरीका गोली खाएर मरे । आफूले जुठा भाँडा माझेर बचत गरेको सहकारीको पैसा खानेलाई पनि ‘वाह, क्या जान्ने, यस्तो नयाँलाई पो छान्ने’ भन्दै भोट हाले । तर देशको दृश्य उस्तै रहिरह्यो । कहीँ कतै सुधार आएन । यो सुधारको संकेत नआउनुमा हामी जनताको दोष कति हो भने ससाना कुराबाट माथि उठ्नै सकेनौँ । उहिल्यै रुपचन्द्र विष्टले भनेजस्तै ‘मान्छेहरु एक थाल भात, एक अंगालो स्वास्नी र कुख्राबाख्रा भन्दा माथि उठ्न सकेनन्’ भन्ने भाष्य पनि परिवर्तनका ३५ वर्षमा देखिएन । २०४६ देखि २०८१ को यो परिददृश्यमा आमजनता अझ राजाकालीन प्रजा भन्दा राणाकालीन रैतीमा करार हुँदै गए । रैतीबाट जनता हुँदै सार्वभौमसत्ता उलटफेर गर्ने शक्तिका रुपमा बदलिनु पर्ने शक्ति फेरि उही एक छाक मासुभात, दुई चार हजार पैसा, एक थान टोपीगन्जी, अनि आफन्तलाई राम्रो ठाउँमा करार र सरुवा माग्दै हामी नेताहरुको दास भयौँ । त्यसैले प्रजातन्त्र उन्नत भएर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदा हामी नेताहरुबाटै बेचियौँ । कहिले नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान घरबारी बेच्न थाल्यौँ । कहिले ठेक्कापट्टाका लोभमा नेताको तलुवा बनेर आफ्नो विवेकको टाउको खियाएर सिध्यायौँ । यो हाँडिघोप्टे राजनीतिले केहीलाई मात्र मस्ती दिइरहेको छ ।

कोही भोलिपल्टै लाइन बसेर नागरिकता पाउँछन् । जनता श्रीमान मरेको मृत्यु दर्ता लिन जाँदा अपमानित भएर फर्कनु पर्छ । बजेटमा कमिसन पहिल्यै पठाउनु पर्छ । घरलौरी उठेर नेताका उर्दीमा कहिले जुम्ला त कहिले ओखलढुंगामा पनि भिड र जुलुश ठूलो देखाउन जानु पर्छ । नेतालाई हिँड्न मन लागेर ¥याली चलाइदिनु पर्छ । नेतालाई गीत सुन्न मन लागे हामीले दैनिक ५० हजार सामाजिक सञ्जालमा शेयर गरिदिनु पर्छ । अनि हामी जनता पनि आफ्नै पैसाको नेट चलाएर जान्ने भइटोपल्दा वर्ष यसै सकिन्छन् । हिसाब गर्दा हरेक वर्ष ब्याज, ऋण र किस्ताले एक थान मृगौला कमजोर भइरहेको हुन्छ । यो हाँडिघोप्टे राजनीति किन यति विकृत र हाम्रो दैनिकीमा कुनै पनि बेला प्रहार गर्ने अस्त्र मात्र बनिरह्यो, जनताले प्रश्न गरेनन् । पाँच पाँच वर्षमा पार्टी फेरेर, फेसबुक हेरेर भोट दिइरहे, खबरदारी गरेनन् । त्यसैले २०६४ यताको राजनीतिले हामीलाई हरुवाचरुवा, दास बनायो । आज कांग्रेस खत्तम भनेर सामाजिक सञ्जालमा वान्ता ग¥यो, नेताहरुले मध्यराति अंगालो हालेपछि हत्त न पत्त गन्हाइरहेको आफ्नै बान्ता लुकाउनु पर्ने अवस्था छ । भोलि माओवादी नराम्रो भनेर लेख्यो, माथि नेताहरु गम्लंग अंगालो हालेर बार्दलीबाट हात हल्लाइरहेका हुन्छन् । तलका कार्यकर्ताहरु चिल्लाराम । जसलाई सिध्याउने भनेर नयाँ शक्ति आयो, त्यही शक्ति बोकेर पार्टीको सरकार बहुमत पुर्याउनु पर्ने अवस्था बनेपछि उसका पनि सबै अपराधमा कठोर भएर जोगाउन लाग्नु पर्ने अवस्थामा सायद अब माओवादीको निर्णय आउनेछ, ‘पार्टी निर्माणमा लाग्ने !’

जतिखेर पनि देश बगाउने, राष्ट्रियता कमजोर बनाउने, जनताको अवस्था रसातलमा भसाउने यो राजनीतिक संयन्त्र मुठ्ठिभरका नेताहरुको ‘गिफ्ट ह्याम्पर’ सावित भएको छ । यतिखेर जम्मा ३ वटा कुराले प्रचण्ड सरकार लगभग ढल्ने अवस्थामा पुगेको छ । बाहिर जतिसुकै राम्रा र मीठा कुरा आए पनि यसको चिन्ताको अन्तर्य हो, ‘गिरीबन्धुवालाहरुको बचाउ, कैलाली जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणमा छोपछाप र विश्व बैंक र एसियाली विकास बैंकले दिएको अनुदान त पचाउन नसकिरहेको सरकारलाई चीनले दिएको ब्याजसहितको ऋणले पार्ने समस्याबाट भाग्ने ।’ अर्कातिर पश्चिमाहरु नेपालमा अस्थिरता देखाउन उत्तरको दोष लगाएर आफू चलखेल गरिरहन्छन् । यसैले अहिले उत्तरको केही सहयोग पनि नचाहिने, पश्चिमा र दक्षिणको दाहिना बनिरहन कम्मर कसेर लाग्ने प्रयास पनि बलियो बन्दै गएको हो । यसमा कथमकदाचित एमाले र कांग्रेस मिले भने अन्यथा नठान्नुहोला । उनीहरु महाकाली सन्धीदेखि सँगै थिए । एमसिसीमा सँगै थिए । अहिले पनि सँगै हुनेछन् । यिनलाई जनता दास बनाएर आफ्नो नेता कार्यकर्ताको अपराध लुकाउनु पर्छ । रवि लामिछानेलाई जोगाउँदा आफ्नाहरु चैँ सकिने भए भन्ने एमालेलाई पनि परेको हुनसक्छ । किनभने प्रधानमन्त्रीले आफ्नै उपाध्यक्ष समातिँदा पनि मौनता साँधिदिएपछि रवि लामिछाने उत्साहित हुने नै भए । तर यो उत्साहले कतै ठूला पार्टीहरुको आयु व्यवस्थाको भन्दा छोटिँदै गयो भन्ने बुझेर यतिखेर देश जनताका नाममा गुलिया कुरा गरेर राष्ट्रियता र जनजीविका कमजोर बनाउनेहरु मिल्छन् भन्ने बुझन् ढिला गर्नु हुन्न ।

आरिघोप्टे वर्षापछिको बाढीले हामीलाई वर्षौँदेखि भूमिहीन बनायो । बगरको मालपोत तिरिरहने बनायो । यो वर्षाले हरेक वर्ष नेपालमा लाखका हाराहारीमा मान्छेको जिन्दगी बर्बाद पारिरहेको छ । भारतमा यसको आँकडा करोडमा छ । तिनैमध्ये केही नेपाल छिरेर बसेका छन् । अनि आफ्नै कमाण्डमा बहुमतको सरकारको कमाण्डर हुँदाहुँदै कतै सत्ता ढालेर आफू मुखिया हुने रोग नेताहरुमा हावी भयो भने हाँडिघोप्टे राजनीतिले देश र जनताको हित कसरी हुन्छ ? यो प्रश्नको उत्तर खोज्दाखोज्दै हामी एकथान घर बनाउने सपनामा भौँतारिँदै करिब १ सय वर्ष त घर बनाउने र बसाइँ सर्नेमै बिताएछौँ । हजुरबुबाले घर बनाउनु भयो, बुबाले बसाइँ सरेर अर्को घर बनाउनु भयो । बुबाको रोजाइ मन परेन, हामीलाई घर चाहियो । अब सन्तानहरु पढे, लेखे, उनीहरुलाई नेपाल भन्दा बाहिर घर चाहियो । अष्टे«लियामा घर किन्नेमा नेपाली विश्वकै सातौँ । यता पुख्र्यौली जग्गा बेचेर उता घर किन्दा हामी टाट पल्टियौँ । देशमै केही सम्भावना खोज्दा बर्सेनि बाढीपहिरोले हामीलाई सुकुम्बासी बयो । बाँकी अलि अलि आसा थियो, वश, कुर्सीका लोभले हाँडिघोप्टे नेताहरुले लाज पचाएर ‘थुक्ने र चाट्ने’ गर्दा कर्मचारीको हातमा देश छ । जनताका छोराछोरी समातिने, निलम्बनमा पर्ने, मुख्यसचिवले विदेशमा जागिर खान जान पाउने, देशमै मुद्दा लागे कतै दरबन्दी बनाएर राखिदिनु पर्ने बाध्यतामा नेताहरुको नैतिकताबारे प्रश्न गरौँ । अब मासुभात, गन्जीटोपी, दुईचार हजार र सरुवामा नलोभिउँ । वाक्क छौँ यो आघिोप्टे वर्षाले गरेको प्रहारबाट र हाँडिघोप्टे नेताहरुको विकृत राजनीतिक वर्षा र बाढीले देश तहसनहस पारिरहँदा ।
००००

About The Author