धादिङ । राजतन्त्र स्थापित गरेर देश बच्छ भन्ने सोच्नु मुर्खता रहेको नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बताएका छन् ।
बिहीवार धादिङको गजुरी र बेनिघाटमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले भने-‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्ने सोच्नु मूर्खता हो । राजतन्त्र फर्काउने नाममा केही अराजक तत्व फेरि सल्बलाउन थालेको छ । ठुला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्रले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको छ । यस्ता अराजक प्रवृत्तिको हामीले प्रतिकार गर्नुपर्छ ।’
‘लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै सक्दैन । बरु लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक छ’, भट्टराईले स्पष्ट पारे ।
सिद्धलेक गाउँपालिका–७ मा नेकपा एमालेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै नेता भट्टराइले एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई घेराबन्दीमा पार्न खोजिरहेको बताए । हरेक संकटमा देशलाई बचाउने नेकपा एमाले भएकोले एमालेलाई गिराउन खोजिएको बताए ।
‘एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई गिराउन खोजिएको छ । घेराबन्दीमा राखिएको छ । तर एमाले इमान्दार भएर कति पनि विचलित नभई अघि बढी रहेको छ’ उनले भने– अन्य शक्ति एमाले कार्यकर्ता भाड्न लागि परेका छन् । तर नेकपा एमालेले अराजक तत्वहरुको सामना गर्दै देश र जनताले गरेको विश्वास मर्न दिने छैन । देशको हित, विकास र संकट समाधानमा सधै नेकपा एमाले अग्रणी स्थानमा रहिरहनेछ ।’