लोकतन्त्रको सार परिवर्तनमा निहित हुन्छ । परिवर्तन बिना लोकतन्त्र जड बन्छ, औपचारिक बन्छ र अन्ततः जनताबाट टाढिँदै जान्छ । पछिल्लो समय नेपाली राजनीतिमा “जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान हो” भन्ने भाष्य बारम्बार निर्माण भईरहेकोे छ । तर यो तर्क लोकतान्त्रिक मूल्य, राजनीतिक चेतना र समयको मागसँग मेल खाँदैन । वास्तवमा नयाँ नेतृत्वको खोजी कुनै व्यक्ति, पुस्ता वा इतिहासप्रति अपमान होइन, यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, विकासको नयाँ अनुुभूतिको चाहना हो ।
नेपालको राजनीतिक इतिहासमा पुराना नेताहरूको योगदान अस्वीकार गर्न मिल्दैन । निरंकुश शासनविरुद्धको संघर्ष, बहुदलीय व्यवस्था, गणतन्त्र, संघीयता र समावेशिताजस्ता उपलब्धिहरू उनीहरूको नेतृत्वबिनाको सम्भव थिएन । ती योगदान इतिहासमा सुनौलो अक्षरले लेखिएका छन् र सदैव सम्मानित रहनेछन् । तर इतिहासमा योगदान गरेको आधारमै वर्तमान नेतृत्वमा स्थायी रूपमा रहिरहनु लोकतान्त्रिक अभ्यास होइन । सम्मान र उत्तरदायित्व फरक विषय हुन् ।
समयसँगै समाजका आवश्यकता बदलिन्छन् । हिजो राजनीतिक अधिकार पहिलो प्राथमिकता थियो भने आज सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र आर्थिक समृद्धि प्रमुख मुद्दा बनेका छन् । हिजो आन्दोलन र बलिदान केन्द्रमा थियो भने आज नीति, कार्यक्षमता र परिणाममुखी नेतृत्व आवश्यक छ । यस्तो अवस्थामा जनताले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैली भएको नेतृत्व खोज्नु अस्वाभाविक होइन, बरु अपरिहार्य हो ।
नयाँ नेतृत्वको मागलाई पुराना नेतामाथिको व्यक्तिगत आक्रमणका रूपमा बुझ्नु गर्नु लोकतान्त्रिक चेतनाको कमजोर पक्ष हो । लोकतन्त्रमा आलोचना अपमान होइन, सुधारको माध्यम हो । जनताले प्रश्न उठाउँछन्, मूल्यांकन गर्छन् र विकल्प खोज्छन् । यही नै सचेत नागरिकताको परिचय हो । तर म यहाँ लेख तयार गर्दै गर्दा अझै पनि यो देशका कतिपय जनतामा वास्तविक विकास के हो भन्ने चेतना समेत विकास नभएकोमा चिन्ता बोकिरहेकी छु । अर्को तर्फ नेताहरुले राज्य कायम गर्नको लागि समयक्रमसँगै भएका न्युनतम कार्यलाई उत्पात विकास दाबी गरिरहेको कुरामा सत्यता खोजिरहेको छु । यदि जनताले सधैं एउटै नेतृत्वलाई प्रश्न बिनै स्वीकार गर्नुपर्छ भन्ने सोच राखियो भने त्यो लोकतन्त्र होइन, व्यक्तिवादतर्फको यात्रा हो ।
नेतृत्व परिवर्तनको माग राजनीतिक अस्थिरताको संकेत होइन, राजनीतिक परिपक्वताको सूचक हो । विश्वका सुदृढ लोकतन्त्रहरूमा नेतृत्व पुस्तान्तरण नियमित प्रक्रिया हो । अनुभवी नेताहरू मार्गदर्शकको भूमिकामा रहन्छन् भने नयाँ पुस्ता कार्यकारी जिम्मेवारीमा अघि बढ्छ । यसले संस्था बलियो बनाउँछ, दललाई जनमुखी बनाउँछ र प्रणालीलाई दीर्घकालीन बनाउँछ । नेतृत्वमा पुस्तान्तरण गर्न नचाहने प्रवृत्तिले भने दलभित्र असन्तुष्टि, विभाजन र जनविश्वासको क्षय निम्त्याउँछ ।
नयाँ नेतृत्व भनेको अनुभवहीनता मात्र होइन भन्ने तथ्यलाई पनि बुझ्न आवश्यक छ । अनुभव उमेरसँग मात्र होइन, काम, जिम्मेवारी र परिणामसँग जोडिएको हुन्छ । आज स्थानीय तहदेखि संघीय संरचनासम्म काम गरेर खारिएका धेरै युवा तथा नयाँ पुस्ताका नेताहरू नीति निर्माण, व्यवस्थापन र जनसरोकारका विषयमा सक्षम देखिएका छन् । उनीहरू प्रविधिमैत्री छन्, विश्व परिवेशसँग परिचित छन् र पारदर्शिता तथा जवाफदेहितालाई महत्व दिन्छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्न निस्किएका हाम्रा नवयुवाहरुलाई विश्वव्यापी प्रविधीले तानेको छ र आज भन्दा ३० बर्ष अघि हामी सरह अर्थतन्त्र बोकेको देशले आज विकासमा कति फड्को मार्यो र हामी कहाँ छौं तुलनात्मक अध्ययन गरिरहेका छन् । त्यसैले पनि नवयुवाले नेतृत्वमा परिवर्तन चाहानुु स्वभाविक छ ।
राजनीतिमा नयाँ नेतृत्व छिर्ने वित्तिकै पुराना नेताहरूको भूमिका यहाँ समाप्त हुन्छ भन्ने होइन । उनीहरू वैचारिक मार्गदर्शक, संरक्षक र अनुभवको स्रोतका रूपमा अत्यन्त महत्वपूर्ण छन् । तर कार्यकारी नेतृत्व सधैं एउटै पुस्तामा सीमित रहिरहनु स्वस्थ लोकतन्त्रको लक्षण होइन । नेतृत्व हस्तान्तरणलाई कमजोरी होइन, दूरदर्शिता र राजनीतिक परिपक्वताको संकेतका रूपमा बुझ्न सक्नुपर्छ । आज जनताले नयाँ नेतृत्व खोजिरहेका छन् किनकि उनीहरू परिणाम खोजिरहेका छन् । नाराभन्दा कार्य, भाषणभन्दा सेवा र आश्वासनभन्दा उपलब्धि खोजिरहेका छन् । यो खोज अपमानबाट जन्मिएको होइन, अपेक्षाबाट जन्मिएको हो । यदि नेतृत्वले जनअपेक्षा सम्बोधन गर्न सक्दैन भने विकल्प खोजिनु स्वाभाविक पनि हो ।
अन्ततः समय अनुसार नेतृत्वको चरित्र बदलिनुपर्दछ । हिजोको संघर्षमुखी राजनीति र आजको विकासमुखी, सुशासनमुखी राजनीति फरक–फरक नेतृत्व क्षमता माग गर्छ । हिजो साहस र बलिदान आवश्यक थियो, आज नीति, प्रविधि, पारदर्शिता र परिणाममुखी कार्यशैली आवश्यक छ । नयाँ पुस्ताले शिक्षा, प्रविधि, विश्वव्यापी सोच र स्थानीय आवश्यकता बुझ्ने क्षमता बोकेको हुन्छ । त्यसैले जनताले नयाँ नेतृत्व खोज्नु समयको माग हो, भावनात्मक विद्रोह होइन । जनताले नयाँ नेतृत्व खोज्नु पुराना नेताको अपमान होइन, लोकतन्त्रप्रतिको विश्वासको अभिव्यक्ति हो । यो प्रक्रिया रोक्ने होइन, व्यवस्थापन गर्ने विषय हो । पुराना र नयाँ नेतृत्वबीच टकराव होइन, सहकार्य र संक्रमणको संस्कृतिले मात्र नेपाली लोकतन्त्रलाई मजबुत बनाउँछ । इतिहासको सम्मान गर्दै भविष्यको निर्माण गर्न सक्ने परिपक्वता नै आजको राजनीतिक आवश्यकता हो ।