धादिङबेसीको विश्रामस्थल ‘विपी पार्क’
सम्बाददाता

जेठ ५, २०८३

धादिङ । सदरमुकामबेसीको बीचबजारस्थित क्याम्पसचोकमा रहेको विपी पार्क पछिल्लो समय नागरिकहरूको विश्रामस्थल बनेको छ ।
बजारको भीडभाड र गर्मी छलेर सितल खोज्दै बस्न पुग्ने मानिस र विभिन्न सिलसिलामा आइपुगेका मानिसहरुको लागि पार्क आकर्षणको केन्द्र बनेको हो । वि.पी. कोइरालाको मूर्ति र आकर्षक पोखरीले पार्कको शोभा बढाएको छ ।
पार्कमा बस्नका लागि प्रतीक्षालय निर्माण गरिएको छ । दुबो लगाइएकोले चौरमा पनि मज्जाले बस्न मिल्छ । यसै कारण यहाँ बिहानदेखि बेलुकासम्म विभिन्न उमेर समूहका मानिसहरूको चहलपहल हुने गरेको छ ।
बिहानीको समयमा सरकारी कर्मचारीहरू साथीभाइलाई पर्खन र छोटो भेटघाट गर्न यो पार्कमा आउने गर्छन् । दिउँसोको समयमा बाटोमा हिँड्दा थकित भएका यात्रु तथा सर्वसाधारणहरू पार्कको शीतल छहारीमा बसेर आराम गर्छन् । बेलुकाको समयमा युवायुवतीहरू यहाँ बसेर कुराकानी गर्छन् र समय बिताउँछन् । विद्यालय र क्याम्पसका विद्यार्थीहरू समेत यहाँ आएर फोटो तथा भिडियो खिच्ने गर्छन् । साना बालबालिकाहरू पनि पार्कमा आएर खेल्ने र रमाइलो गर्ने गर्छन् ।
यो पार्क सबै उमेरका मानिसहरूका लागि साझा भेटघाट र सुस्ताउने ठाउँ बनेको स्थानीयहरु बताउँछन् । विद्यालय छुटेपछि पार्कमा भेटिनुभएका विद्यार्थी विष्णु घलेले भन्छन्, “दिनभरि विद्यालयको कक्षामा बसेर पढ्दा अल्छी र दिक्क लागेको हुन्छ । छुट्टी भएपछि यहाँ आएर साथीहरूसँग कुराकानी गर्दै चटपटे र पानीपुरी खाएर बस्न पाउँदा धेरै खुसी लाग्छ ।”
पार्कमा भेटघाट र छलफल गर्न निकै सहज वातावरण रहेको स्थानीय सर्वसाधारणहरू बताउँछन् । बाटो हिँड्दाहिँड्दै थकाइ मार्न पार्क पस्नुभएकी रीता श्रेष्ठले भन्छिन्, “बाटोमा हिँड्दा थकाइ लागेको महसुस हुँदा यहाँ आएर बस्न निकै सहज भएको छ । भेटघाट गर्न र कुनै कुराको छलफल गरेर बस्न यो ठाउँ निकै राम्रो छ ।”
पार्कमा आउने नागरिकहरूले यसको थप व्यवस्थापनमा पनि जोड दिएका छन् । पार्कमा बस्न आएका अर्का आगन्तुक रमेश थापाले भने, “पार्कमा आएर बस्दा र खानेकुरा खाँदा पानीको सुविधा तथा फोहोर व्यवस्थापनका लागि डस्बिन भए अझ राम्रो हुने थियो ।” यो पार्कलाई अझ राम्रो र आकर्षक बनाउन सके यसले बाहिरबाट धादिङबेसी आउने मानिसहरूलाई समेत आकर्षित गर्ने देखिन्छ ।
जननेता एवं साहित्यकार विपि कोइरालाको सम्पझनामा पार्क निर्माण गरिएको र यो पार्क पछिल्लो समय धेरै मानिसहरुका भेटभाट गर्ने स्थल बनेको साहित्यकार नविनबन्दु पहाडीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
50%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
सम्बाददाता