धादिङ । भदौ १४ गतेदेखि कृष्णभीरमा सडक अवरुद्ध छ । देशको लाइफलाइन खुलाउन ११ दिनदेखि काम पनि भइरहेको छ । नदी कटानले सडक भासिएकै कुनापट्टीबाट नयाँ ट्रयाक निर्माण गरी परीक्षण पनि गरिसकिएको छ । असोज १ गतेबाट पूर्ण रुपमा सवारी आवागमन गराउन सकिनेगरी द्रुत गतिमा काम भइरहेको प्राविधिकहरुले बताएका छन् ।
तर, यो काम सोचेजस्तो सहज र सुरक्षित छैन । यहाँ भित्ता काटेर बाटो बनाउने क्रममा पहराका ठाउँठाउँबाट पानी रसाइरहेको छ, ‘कृष्णभीरको पहरामा जता छोयो त्यतै पानी’ शीर्षकमा कहलिएका संचार माध्यमले समाचार लेख्दा र सामाजिक अभियान्ताहरुले भिडियो फोटो खिचेर पोष्ट गर्दा कृष्णभीरलाई अन्याय हुनेछैन ।
कृष्णभीरको भित्तामा जता छोयो उतैबाट पानी निस्कने अनौठो समस्या छ । सामान्य रूपमा थोरै मात्र कोट्याउँदा वा प्वाल पार्दा पनि पाइप वा बोतल छिराउन मिल्ने गरी पानीको मुल नै फुटेझैँ धारा बन्ने गरेको छ ।
खुकुलो पहरा, निरन्तर झर्ने साना–ठूला पहिरो र पहराबाट अनियन्त्रित रूपमा निस्किरहने पानी नै यहाँका मुख्य चुनौती हुन् । भित्ताबाट रसाएको पानी निर्माण व्यवसायी र इन्जिनियरहरूका लागि टाउको दुखाइको विषय बनेको छ ।
कृष्णभीर देशको चर्चित पहिरो हो । यो पहिरो २६ वर्षअघि निकै ठूलो मेहनत, उच्च प्राविधिक सीप, लामो अनुभवको प्रयोग र प्रयासपछि रोकिएको थियो । तर, सडक भएको पुरै भाग पहिरिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा गरी नयाँ ट्रयाक बनाइएको छ ।
सडक चाँडै खुलाउने दबाब र बल्लतल्ल रोकिएर स्थिर बनेको कमजोर जमिनलाई फेरि काटेर हतारोमा सडक निर्माण गरिनुले यस क्षेत्रमा पुनः ठूलो पहिरोको जोखिम निम्त्याएको छ । हतारमा कमजोर जमिनलाई छियाछिया पारेर निर्माण गरिएको यो संरचनाले देशको मुख्य लाइफलाइन पृथ्वी राजमार्गलाई नै झनै बढी जोखिममा धकेलिदिएको छ ।
यसको दीर्घकालीन र वैज्ञानिक समाधान बेलैमा खोजिएन भने यो लापरबाहीले आगामी दिनमा राष्ट्रले ठूलै मूल्य चुकाउनुपर्ने र यसले भयानक दुःख दिने निश्चितप्रायः देखिन्छ ।