धादिङ । अनुमति बिना स्वास्थ्य सेवा सञ्चालन गर्ने धादिङका तीन डेन्टल क्लिनिकहरू जरिवानामा परेका छन् ।
सेवा सञ्चालनको अनुमति नलिई सदरमुकाम धादिङबेसीमा सेवा प्रवाह गर्दै आएका भैरबी दन्तो केयर नेपाल डेण्टल क्लिनिक, मानव डेन्टल होम, ओम मुक्तिनाथ डेन्टल होम एक एक लाख जरिवानामा परेका हुन् ।
दर्ता र अनुमतिपत्र बिना सेवा सञ्चालन गर्दै आएका संस्थालाई बागमती प्रदेश स्वास्थ्य संस्था अनुगमन तथा नियमन प्राविधिक समितिको सिफारिसअनुसार मन्त्रालयले नै नियमअनुसार जरिवाना तोकेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले अनुमति नलिई संचालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई ३५ दिनभित्र निवेदन दिन जारी गरेको सूचना अटेर गरी तोकिएको समय अवधिमा निवेदन समेत नदिएर सेवा संचालन गरिरहेकाहरु छन् । जरिवाना तिरेर आवश्यक कागजपत्र र मापदण्ड पुरा गर्नेहरुलाई आसयपत्र उपलब्ध गराएर दर्ता प्रकृया सुरु गर्न सकिने पौडेलले जानकारी दिनुभयो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत २०८२ भदौ २८ गते सूचना प्रकाशन गर्दै अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई ३५ दिनभित्र निवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । तर, जरिवानामा परेका डेन्टलहरुले तोकिएको समय अवधिमा निवेदन दिएका थिएनन् । मन्त्रालयको २०८३ भदौ ११ गतेको बैठकको निर्णयअनुसार भदौ २८ गते जनस्वास्थ्य कार्यालय धादिङलाई जरिवाना गर्न पत्र पठाइएको हो ।
संशोधित ऐन कार्यान्वयनमा आएपछि डेन्टलहरूले अनलाइनमार्फत पेस गरेको कागजातको आधारमा २०८३ असार २४ गते जनस्वास्थ्य कार्यालय धादिङले अनुगमन गरी मन्त्रालयमा सिफारिस पठाएको थियो ।