काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आजको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।
तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काकाअनुसार तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख र तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने छ ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु एक करोड १० लाख पुरस्कार पाएको थियो ।