धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा तरकारी खेती एवं बाख्रापालन सम्बन्धी जलवायु कृषक पाठशाला सञ्चालन गरिएको छ।
क्यानेडियन फुडग्रेन्स बैंक र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं प्रयास नेपाल, धादिङको साझेदारीमा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत गाउँपालिकाका ४६ समूहमा तरकारी खेती तथा बाख्रापालन सम्बन्धी जलवायु कृषक पाठशाला सञ्चालन गरिएको हो। ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा, वडा नं. ५ का अध्यक्ष कुमारबहादुर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुदीप ढुंगानालगायतको सहभागिता रहेको थियो।
बैठकमा जलवायु कृषक पाठशाला सञ्चालनका क्रममा गरिएका गतिविधिहरूको समीक्षा, प्राप्त उपलब्धि, सिकाइ तथा अनुभव आदानप्रदान गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने गतिविधिहरूको योजना निर्माणका विषयमा छलफल गरिएको थियो। अगुवा कृषकहरूले पाठशाला सञ्चालनका क्रममा प्राप्त अनुभव र सिकाइ प्रभावकारी बनाउने विषयमा सहभागीहरुले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा प्रयास नेपाल, धादिङका फिल्ड संयोजक प्रतीक अवस्थी र लैङ्गिक एसोसिएट शर्मिला गुरुङले परियोजना अन्तर्गत सञ्चालित जलवायु कृषक पाठशालाका गतिविधि तथा तिनको महत्त्वबारे जानकारी गराउनु भएको थियो।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले कृषक पाठशाला मार्फत कृषकहरूको व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सुधारिएको कृषि प्रविधि र पशुपालन अभ्यासको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताउनु भयाे। यसबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, जलवायु उत्थानशील जीविकोपार्जन र खाद्य सुरक्षा सुदृढीकरणमा योगदान पुग्ने बिश्वास लिइएकाे छ ।
रिलिफ परियोजनाले स्थानीय कृषकहरूको जीविकोपार्जनमा सुधार ल्याउन तथा दिगो कृषि प्रणालीको विकास गर्न स्थानीय सरकार, कृषक समूह र सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको पनि निर्देशक अर्यालले बताउनु भयो ।


