काठमाण्डौ। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण गर्न लागेको जनाएको हो।
प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका लक्ष्मी र गणेश अङ्कित सिक्का एक एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ।
सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र सिक्का लिन सक्नेछन्।
राष्ट्र बैंकले असर्फी तथा सिक्का खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित आफै उपस्थित हुनुपर्ने जनाएको छ।
खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।
सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन-चाँदीका सिक्का खरिद गर्दा सुन-चाँदीको प्रचलित बजार भाउभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।