धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङमा पहिलोपटक आफ्नो कार्यालय स्थापना गरेको छ।
धादिङबेशीस्थित नीलकण्ठ नगरपालिका-८, मनकामना टोलमा स्थापना गरिएको कार्यालय सोमबार एक कार्यक्रमकाबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
विश्वभर छरिएर रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय नीलकण्ठ नगरपालिका-८ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठ र समाजका अध्यक्ष बद्री खतिवडाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजका पदाधिकारी तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्थाका रूपमा स्थापित समाजले विश्वभर रहेका धादिङवासीलाई एउटै सञ्जालमा जोड्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
समाजको गत असोज ३१ गते धादिङबेँसीस्थित सम्पन्न चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट अमेरिकामा रहेका बद्री खतिवडा सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनुभएको थियो।
समाजले खेलकुद प्रवर्द्धन, विपद् व्यवस्थापनमा पूर्वतयारी तथा सामूहिक लगानीमार्फत जिल्लामा रोजगारीका अवसर सिर्जना गर्ने योजनासमेत अघि सारेको छ।
विभिन्न देशमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको समाजले नयाँ कार्यालयमार्फत संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने जनाएको छ।