अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार उहाँको निधन भएको घोषणा गरेको हो । उहाँले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गर्नुभएको थियो ।
विदेश मन्त्रालयले उहाँलाई उत्कृष्ट कूटनीतिज्ञ, अनुभवी नेता र सहयोगी स्वभावको सहकर्मीका रूपमा स्मरण गरेको छ । डार्चिभलाई सन् २०२५ मार्चमा अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो । मन्त्रालयले उहाँको निधनको कारणबारे भने केही खुलाएको छैन ।
अमेरिकी विदेश मन्त्रालयले पनि बुधबार मस्कोमा उहाँको निधन भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले डार्चिभको परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै निधनसम्बन्धी थप विवरणका लागि रुसी सरकारसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
डार्चिभले यसअघि सन् २०१४ देखि २०२१ सम्म क्यानाडाका लागि रुसी राजदूतका रूपमा काम गर्नुभएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि रुस–अमेरिका सम्बन्धमा आएको परिवर्तन तथा युक्रेनमाथि रुसको आक्रमणका बीच उहाँलाई गत वर्ष अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो ।
रुस–अमेरिका सम्बन्धका जानकार डार्चिभले सन् २०२१ देखि २०२४ सम्म रुसी विदेश मन्त्रालयको उत्तर अमेरिका विभागको निर्देशकका रूपमा पनि काम गर्नुभएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा उहाँले त्यसलाई ‘आवश्यक कदम’ को संज्ञा दिनुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0