भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

राष्ट्रिय समाचार समिति

कार्तिक २७, २०८३

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।
प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उहाँले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताउनुभयो । सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उहाँको भनाइ छ ।
आज बिहान काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति