अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताउनुभएको छ । उहाँले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा ट्रम्पलाई सैनिक टुकडी र ब्यान्डसहित स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए ।
अमेरिका र फिलिपिन्सबीच दक्षिण चीन सागरको क्षेत्रीय परिस्थिति तथा ताइवान आसपासको अवस्थालगायत विषयमा आपसी समझदारी र सहकार्य हुँदै आएको छ । राष्ट्रपति मार्कोसको कार्यकालमा अमेरिकी सेनाको पहुँच र संयुक्त सैन्य अभ्यास विस्तार भएको छ । गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त अभ्यास गरिएको थियो ।
ट्रम्प बुधबार एपेक बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम थियो । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0