Sun. Oct 6th, 2024

थापाको आज राजकीय अन्त्येष्टि

suryab_20150417075038

४ वैशाख,  काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गर्ने भएको छ । उनको भारतको नयाँदिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषद्को बिहीबारको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक बिदा दिने, सरकारी कार्यालय तथा कूटनीतिक नियोगमा एक दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पञ्चायत र प्रजातान्त्रिक कालमा गरी ५ पटक प्रधानमन्त्री भएका ८९ वर्षीय थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामै निधन भएको हो । ६ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए ।

उनको पार्थिव शरीर बिहीबार साँझ पौने ७ बजे इन्डियन एयरफोर्सको विशेष विमानबाट राजधानी ल्याइएको थियो । विमानस्थलमै श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, स्वास्थ्यमन्त्री खगराज अधिकारी गएका थिए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, नेता प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता अर्जुननरसिंह केसीलगायत पार्टी कार्यकार्ता र शुभेच्छुकहरू पनि विमानस्थल पुगेका थिए । विमानस्थलबाट थापाको शव श्रद्धाञ्जलिका लागि उनकै निवास मालीगाउँमा लगिएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जनाए ।

राप्रपाको बिहीबार बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरीरलाई शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी कार्यालय चाबहिल र दिउँसो १ देखि ३ बजेसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलिका लागि राख्ने निर्णय गरेको छ । दशरथ रंगशालामा राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शवयात्रा सुरु हुनेछ । यसअघि निधन भएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई दिइएसरहकै राजकीय सम्मान थापालाई पनि दिइनेछ ।

१९८४ मा धनकुटाको मुगामा जन्मिएका थापा निरंकुश पञ्चायती र बहुदलीय प्रजातान्त्रिक दुवै व्यवस्थामा उत्तिकै चर्चित नेता हुन् । सत्ता परिवर्तनका बेलामा सधैं चर्चामा रहने थापालाई परिवर्तन स्वीकार्न सक्ने नेताका रूपमा धेरैले बुझ्ने गरेका छन् । पञ्चायती शासन ढल्नेबित्तिकै उनले राप्रपा पार्टी गठन गरी बहुदलीय अभ्यासमा लागेका थिए । उनी बहुदलकालमा ०५४ र ०६० मा प्रधानमन्त्री भए । थापाको पार्टी भने पटकपटक विभाजित भएको थियो । ०६२र६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा जाने तयारीमा लाग्दै गर्दा थापाले पनि त्यसलाई सहजै स्वीकार गरे । राजतन्त्र कि गणतन्त्र कुन बाटो लिने भन्ने निर्णय गर्ने बेलामा थापाले राजतन्त्रको मोह त्यागिदिए । त्यसैले पनि उनलाई धेरैले परिवर्तन स्वीकार्ने नेताका रूपमा सम्झिने गर्छन् । इकान्तिपुर अनलाइनबाट

About The Author

अन्य समाचारहरु: