Tue. May 21st, 2024

धादिङको धुनीबेसीमा डिजिटल प्रविधिबाट शिक्षण सुरु


२० फागुन, धादिङ –

धादिङको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) बाट शिक्षण गराउन सुरु गरेको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाई उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिएको विद्यालयले जनाएको छ ।

पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग गरिएको विद्यालयमा प्रधानाध्यपक शीवहरि रेग्मीले बताए । ‘आधुनिक युगसँगै शिक्षालाई प्रविधिमैत्री प्रणालीबाट संचालन गर्नुपर्छ’, प्रधानाध्यपक रेग्मीले भने, ‘सामुदायिक विद्यालयहरूमा आधुनिक डिजिटल प्रविधिको प्रयोग गर्दै शिक्षाको गुणस्तर बढाउन र गुणस्तरीय शिक्षामा देखिएका असमानता हटाउने कक्षा सुरु गरेका हौँ ।’ व्याख्यात्मक विधिमै सीमित विद्यालयको पठनपाठनमा ई– पाठशालाले थप परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एकीकृत सिकाइ तथा डिजिटल प्रविधिको उचित प्रयोग गर्दै हाल विद्यालयमा २५ वटा ल्यापटप प्रदान गरिएको छ । यसरी ल्यापटप तथा सफ्टवेरको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाई क्रियाकलापमा उत्साहित भएको पाइएको प्रधानाध्यपक रेग्मीले बताए ।  समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझै भएको छ ।

कक्षा ४ सम्म पढाई हुने विद्यालउमा ८५ जना विद्यार्थीहरु छन् । विद्यालयलाई प्रदान गरेको कम्प्युटर ४२ जना विद्यार्थीहरुले सिकिरहेका छन् । कम्प्युटरमा कक्षा १ देखि कक्षा ४ सम्म अध्यापन हुने सबै किताब नेपाली, अँग्रेजी, गणित लगायतका बिषयहरु रहेका छन् । प्रविधिमा विभिन्न विषयका डिजिटल सिकाई मोडलहरूको विकास गरिएको छ । बिद्यालयमा रहेको कम्प्युटर शिक्षणका लागि ५ जना शिक्षकले डिजिटल लर्निङ सम्बन्धि तालिम प्राप्त गरेका छन् । बिद्यार्थीहरुलाई सिकाई उपलब्धि बढोस् भन्ने उदेश्यले बिद्युतिय माध्यम प्रयोग आवश्यक रहेको शिक्षकहरुको भनाई छ ।

जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरुले पनि चासो देखाएका छन् । साझा शिक्षा ईपाटी, इसीआईमोड र धादिङ ईटा उद्योग व्यवसायी संघको संयुक्त पहलमा विद्यालयमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन गरिएको हो । अडियो भिडियो सहितको शिक्षण सिकाई प्रविधि स्थापना भएसंगै बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको छ । पहिलो पटक ल्यापटप चलाएर पढ्न पाएकोमा विद्यालयमा कक्षा चारमा पढ्ने विद्यार्थी विनोद विक खुसी छन् ।

नगरपालिकामा अहिले ईट्टा उद्योगहरु बढी मात्रामा संचालन भएका छन् । ईट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीको पढाईलाई केन्द्रित गर्दै पढाई सुरु गरिएको ईसिमोडका मिडिया अफिसर म्याक्सिम श्रेष्ठले बताए ।

२०७५ फागुन २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: