तमु ल्होसार : पुस्तैनी ठेकीले सम्झायो पुर्खा

पुस १५, २०८२

काठमाडौ । ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ? सोध्नेहरुलाई उहाँ भन्नुहुन्थ्यो, “अनि यो ठेकी आजको हो त ? तीनपुस्ते पुरानो नि ।”
उमेरले ६३ पुग्नुभएकी देवकुमारीले आज टुँडीखेलमा भएको तमु ल्होसार महोत्सवमा परम्परागत संस्कृति प्रदर्शन गर्न घरबाटै पुख्र्यौली ठेकी लिएर आउनुभएको थियो । उहाँले उक्त ठेकीमा आफ्नो मौलिकपनसँगै पुर्खाका भावनासमेत जोडिएको सुनाउनभुयो । गोर्खाबाट ललितपुर बसाइँसराइ गर्दासमेत उहाँले पुख्र्यौली भाँडाकुँडासँगै राख्नुभएको बताउनुभयो ।
“यो ठेकीमा कुनै बेला कति मोही पारियो पारियो”, देवकुमारीले भन्नुभयो, “सानैमा बिहे गर्दिए, यस्तै ठेकी जत्रै थिएँ । अहिले यसैलाई हेर्दै विगत सम्झिँदा रमाइलो लाग्छ ।”
आदिवासी जनजातिको परम्परागत गरगहना, भाँडाकुँडादेखि रहनसहनमा सबैका कथा समेटिएका छन् । महोत्सवमा यिनै कथा र भावना साटासाट गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदैछन् । जसमा नयाँ पुस्ता र पाका पुस्ता एक साथ रमाइरहनुभएको थियो ।
भक्तपुर घर भएकी सोरठी गुरुङले आफूले लगाएका पुख्र्याैली गहनाको बेलीविस्तार सुनाउनुभयो । मखमली चोली, छिट्को गुन्यो र नीलो पटुकीमा चिटिक्क परेकी सोरठीले पुर्खाले दिएको मुगामाला (पिरुमाला), शिरमा शिरफुल, शिरबन्दी र हबेल माला अति मायाले सम्हालेको बताउनुभयो । उहाँका अनुसार ती गहना आमाले बिहेका बेला माइतीका तर्फबाट उपहार दिनुभएको थियो ।
“यो गहना जति पुरानो हुन्छ, उति नै महत्वपूर्ण लाग्छ”, उहाँले भन्नुभयो, “जति दुःख परे पनि पुख्र्यौली गहना बेच्दिन भनेर जोगाएर राखेकी छु ।”
सोरठीका दुई छोरी छन् । आफूले यी गहनाहरु छोरीलाई उपहार दिने सोच राखेको उहाँले बताउनुभयो । हजुरआमादेखि आमा र आमादेखि छोरीसम्म परम्परागत गहना हस्तान्तरण हुँदै आएको उहाँले बताउनुभयो ।
महोत्सवमा गुरुङ समुदायका पुरुष पनि उत्तिकै परम्परागत शैलीमा देखिनुभयो । महोत्सवमा संयुक्त परिवारसँगै टुँडिखेल आउनुभएका ७० वर्षीय धर्ने गुरुङले ७ वर्षको नातिलाई परम्परागत पोसाक कछाड लगाउने तरिका सिकाउँदै हुनुहन्थ्यो । उहाँले युवा पुस्तालाई समेत साथमा लिएर संस्कार र संस्कृति बुझाउँदै हुनुहुन्थ्यो ।
“कछाड लगाउन नातिले जान्दैन, सिकाउनु त पर्यो”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र परम्परा नाति पुस्ताले सिकून् भन्ने रहर लाग्दोरहेछ ।”
धर्नेले जस्तै, महोत्सवमा कला, संस्कृति र वेशभूषादेखि गुरुङ समुदायको जीवनशैलीसमेत प्रदर्शन गरिएको थियो । खासगरी, गुरुङ समुदायले खाने परम्परागत परिकारका कक्ष धेरै थिए । सेलरोटी, बङ्गुरको मासु, अचारलगायत परिकार पकाएर उनीहरुले दर्शकको मन तानेका छन् । रक्सी बनाउने परम्परागत कलासमेत प्रदर्शनीमा देखाइएको थियो ।
महोत्सवका संयोजक राजु गुरुङले गुरुङ समुदायको मौलिक संस्कृतिलाई सामूहिक रुपमा मनाउने र अरू समुदायलाई समेत उत्सवमा आकर्षित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु   

माइक्रोबस दुर्घटनामा १२ जना घाइते

यो पनि पढ्नुहोस