तरकारी व्यवसायबाटै सन्तोषको सुखद् सफलता

जेष्ठ २, २०८३

धादिङ । बिहान सबेरै उठेर पसल सफा गर्ने, ताजा तरकारी लिन दौडिने र बेलुका ९ बजेसम्म ग्राहककै सेवामा व्यस्त रहने धादिङबेसीका सन्तोष अधिकारीको दिनचर्या निकै लोभलाग्दो छ । विदेश पुगेर हन्डर ठक्कर भोगेका सन्तोष आज आफ्नै माटोमा फर्किएर तरकारी व्यवसायमा मस्त छन् ।

अनेकौँ चुनौती र सङ्घर्षलाई चिर्दै १७ वर्षदेखि निरन्तरको मेहेनतले नै अहिले उनलाई सफल बनाएको हो । तरकारी पसलबाट आर्थिक समृद्धि त गरेका छन् नै उनले जीवनकै सबैभन्दा ठुलो खुसी र आत्मसन्तुष्टि प्राप्त गरेका छन् । सन्तोष भन्छन्–‘पुरानो अवस्थाबाट अहिले धेरै अगाडि बढिसकेको छु ।’

धादिङको ज्वालामुखी गाउँपालिका घर भएका सन्तोषको सफलताको पछाडि सङ्घर्षको कथा पनि छ । सन्तोष वि.सं. २०६० सालमा वैदेशिक रोजगारीको सिलसिलामा दुबाई देश पुगे । इलेक्ट्रोनिक कम्पनीमा काम सुरु गरे । विदेशी भूमिमा दिनरात दुःख गर्दा ५० हजार कमाउन कठिन हुन्थ्यो । सोचे जस्तो आम्दानी पनि नहुने, परिवार र जन्मभूमिबाट टाढा लामो समय बस्न सकेनन् । र, २०६४ सालमा घर फर्किए ।
आफ्नै माटोमा केही गर्ने दृढता बोकेर केही समय परम्परागत रूपमा खेतीपाती गरेर बिताए । खेतीपातीकै क्रममा उनले कृषि र तरकारी क्षेत्रमा राम्रो व्यावसायिक सम्भावना देखे । त्यही सम्भावनालाई अवसरमा बदल्ने उद्देश्य राखे र उनले वि.सं. २०६६ साल चैतबाट धादिङबेसीमा तरकारी पसल सुरु गरे । ग्राहकको मन जित्न थुप्रै चुनौतीहरू भोग्नुप¥यो । तर, उनी पछि हटेनन् । निरन्तरको मेहेनत, धैर्यता र लगनशीलताले अहिले सन्तोषलाई सफल बनाएको हो ।

सामान्य लगानी र सानो स्तरबाट सुरु भएको सन्तोषको तरकारी पसल अहिले निकै फस्टाएको छ । पसलमा धेरैजसो स्थानीय स्तरमा उत्पादित ताजा तरकारी विक्रि गर्छन् । हरिया सागसब्जी र ताजा तरकारी नै उनको विशेषता हो । स्थानीय स्तरमा उत्पान नभएका तरकारीहरु पालुङ र नारायणगढ जस्ता प्रमुख क्षेत्रहरूबाट ल्याएर उपभोक्तालाई बिक्री गर्ने गरेको सन्तोषले बताए ।

सन्तोषको पसलमा गोलभेडा, बन्दाकोभी, काउली, हरियो सागसब्जी, खुर्सानी र विभिन्न मौसमी तथा बेमौसमी फलफूलहरू कहिल्यै टुटदैन । किसानसँग किनेर केही प्रतिशन मात्रै नाफा राखेर उपभोक्तालाई बिक्री गरिरहेका छन् ।

तरकारी पसलबाट सबै खर्च कटाएर मासिक ३० हजार भन्दा बढी बचत गरिरहेका छन् । सन्तोषले आफ्नो परिवारका ५ जना सदस्यको पालनपोषण, शिक्षादीक्षा र सम्पूर्ण व्यावहारिक खर्च सहजै धानिरहेका छन् । तरकारी पसलकै कमाइबाट जेठी छोरीलाई उच्च अध्ययनका लागि विदेश पठाएका छन् । विदेशको कमाइ छोडेर स्वदेशमै गरेको यो लगानीले उनलाई समाजमा सफल र आदरणीय व्यवसायीको रूपमा स्थापित गराएको छ ।

बजारमा व्यवस्थित शीतभण्डार (कोल्ड स्टोर) नहुँदा सामान भण्डारण गर्न गाह्रो भइरहेको उनको अनुभव छ । स्थानीय सरकारले बजारको उचित व्यवस्थापन, तरकारी भण्डारणका लागि शीतभण्डारको निर्माण र खुद्रा व्यापारीहरूको हितमा ध्यान नदिँदा आफू जस्ता व्यवसायीले घाटा सहनुपरेको गुनासो सन्तोषको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

काठमाण्डौबाट नृसिंहधाम आउजाउ गर्न छुट्टै गाडी !

तरकारी व्यवसायबाटै सन्तोषको सुखद् सफलता

आहाः ‘स्केटिङ’मा गुड्दा क्या मज्जा !

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस