धादिङ । बिहान सबेरै उठेर पसल सफा गर्ने, ताजा तरकारी लिन दौडिने र बेलुका ९ बजेसम्म ग्राहककै सेवामा व्यस्त रहने धादिङबेसीका सन्तोष अधिकारीको दिनचर्या निकै लोभलाग्दो छ । विदेश पुगेर हन्डर ठक्कर भोगेका सन्तोष आज आफ्नै माटोमा फर्किएर तरकारी व्यवसायमा मस्त छन् ।
अनेकौँ चुनौती र सङ्घर्षलाई चिर्दै १७ वर्षदेखि निरन्तरको मेहेनतले नै अहिले उनलाई सफल बनाएको हो । तरकारी पसलबाट आर्थिक समृद्धि त गरेका छन् नै उनले जीवनकै सबैभन्दा ठुलो खुसी र आत्मसन्तुष्टि प्राप्त गरेका छन् । सन्तोष भन्छन्–‘पुरानो अवस्थाबाट अहिले धेरै अगाडि बढिसकेको छु ।’
धादिङको ज्वालामुखी गाउँपालिका घर भएका सन्तोषको सफलताको पछाडि सङ्घर्षको कथा पनि छ । सन्तोष वि.सं. २०६० सालमा वैदेशिक रोजगारीको सिलसिलामा दुबाई देश पुगे । इलेक्ट्रोनिक कम्पनीमा काम सुरु गरे । विदेशी भूमिमा दिनरात दुःख गर्दा ५० हजार कमाउन कठिन हुन्थ्यो । सोचे जस्तो आम्दानी पनि नहुने, परिवार र जन्मभूमिबाट टाढा लामो समय बस्न सकेनन् । र, २०६४ सालमा घर फर्किए ।
आफ्नै माटोमा केही गर्ने दृढता बोकेर केही समय परम्परागत रूपमा खेतीपाती गरेर बिताए । खेतीपातीकै क्रममा उनले कृषि र तरकारी क्षेत्रमा राम्रो व्यावसायिक सम्भावना देखे । त्यही सम्भावनालाई अवसरमा बदल्ने उद्देश्य राखे र उनले वि.सं. २०६६ साल चैतबाट धादिङबेसीमा तरकारी पसल सुरु गरे । ग्राहकको मन जित्न थुप्रै चुनौतीहरू भोग्नुप¥यो । तर, उनी पछि हटेनन् । निरन्तरको मेहेनत, धैर्यता र लगनशीलताले अहिले सन्तोषलाई सफल बनाएको हो ।
सामान्य लगानी र सानो स्तरबाट सुरु भएको सन्तोषको तरकारी पसल अहिले निकै फस्टाएको छ । पसलमा धेरैजसो स्थानीय स्तरमा उत्पादित ताजा तरकारी विक्रि गर्छन् । हरिया सागसब्जी र ताजा तरकारी नै उनको विशेषता हो । स्थानीय स्तरमा उत्पान नभएका तरकारीहरु पालुङ र नारायणगढ जस्ता प्रमुख क्षेत्रहरूबाट ल्याएर उपभोक्तालाई बिक्री गर्ने गरेको सन्तोषले बताए ।
सन्तोषको पसलमा गोलभेडा, बन्दाकोभी, काउली, हरियो सागसब्जी, खुर्सानी र विभिन्न मौसमी तथा बेमौसमी फलफूलहरू कहिल्यै टुटदैन । किसानसँग किनेर केही प्रतिशन मात्रै नाफा राखेर उपभोक्तालाई बिक्री गरिरहेका छन् ।
तरकारी पसलबाट सबै खर्च कटाएर मासिक ३० हजार भन्दा बढी बचत गरिरहेका छन् । सन्तोषले आफ्नो परिवारका ५ जना सदस्यको पालनपोषण, शिक्षादीक्षा र सम्पूर्ण व्यावहारिक खर्च सहजै धानिरहेका छन् । तरकारी पसलकै कमाइबाट जेठी छोरीलाई उच्च अध्ययनका लागि विदेश पठाएका छन् । विदेशको कमाइ छोडेर स्वदेशमै गरेको यो लगानीले उनलाई समाजमा सफल र आदरणीय व्यवसायीको रूपमा स्थापित गराएको छ ।
बजारमा व्यवस्थित शीतभण्डार (कोल्ड स्टोर) नहुँदा सामान भण्डारण गर्न गाह्रो भइरहेको उनको अनुभव छ । स्थानीय सरकारले बजारको उचित व्यवस्थापन, तरकारी भण्डारणका लागि शीतभण्डारको निर्माण र खुद्रा व्यापारीहरूको हितमा ध्यान नदिँदा आफू जस्ता व्यवसायीले घाटा सहनुपरेको गुनासो सन्तोषको छ ।