धादिङ । धादिङबेसीको व्यस्त एमालेचोकमा हरेक दिन एउटा परिचित अनुहार देखिन्छ । काखमा सियो, धागो र हातमा पुराना जुत्ता–चप्पल समातेर बसिरहेकी भेटिन्छिन्, उनी रौतहटकी सुनमादेवी राम हुन् । ग्राहकका फाटेका र पुराना जुत्तालाई नयाँ स्वरुप दिनु उनको दैनिकी हो ।
सियो र धागोको सहाराले नै उनी आफ्नो परिवारको सुन्दर भविष्य बुनिरहेकी छिन् । घाम र पानीको प्रवाह नगरी निरन्तर काममा खटिनु उनको पहिचान बनेको छ ।
विगत १३ वर्षदेखि सुनमादेवी र उनका श्रीमान् धादिङवबेसीमा बसेर यही पेसा गरिरहेका थिए । जुत्ता सिलाएरै जम्मा गरेको रकमबाट धेरै कमाउने आशामा उनका श्रीमान् विदेशिए । श्रीमान् त परदेश लागे, तर सुनमादेवीले भने श्रीमान्को पुरानो पेसा र थलोलाई सम्हालिरहेकी छिन् । सुरुका दिनहरू उनका लागि निकै कष्टकर थिए । समाजको नजर र आफ्नै मनको डरसँग उनले ठूलो युद्ध लड्नु परेको थियो ।
विगतका ती दुःखका दिन सम्झँदै सुनमादेवी भन्छिन्, “सुरुमा समाजले के भन्ला भन्ने ठूलो डर थियो । तर, बच्चाहरुको भविष्यका लागि मैले लाज र डर दुवै त्यागेँ । श्रीमान विदेश गएपनि घरमा बसिरहनुको सट्टा यही पेसा नै मेरो र मेरा बच्चाहरुको सहारा बन्यो ।”
कुनै समय बिहान–बेलुकाको छाक टार्न धौ–धौ हुने यो परिवारमा अहिले खुसीयाली छाएको छ । हिजोका दुःख र अभावहरू अहिले सुखमा परिणत भएका छन् । उनले यसै पेसाको आम्दानीबाट चार सन्तानको जिम्मेवारी सफलतापूर्वक निभाइरहेकी छिन् ।
आफ्नो वर्तमानको खुसी र सफलताको अनुभूती साट्दै उनी भन्छिन्, “अहिले मलाई निकै खुसी लाग्छ, यही पेसाबाट आएको आम्दानीले घरको खर्च चलेको छ, दुई छोरा र दुई छोरीलाई राम्रो विद्यालयमा पढाउन समेत सफल भएकी छु ।”
काम सानो वा ठूलो हुँदैन भन्ने उदाहरण बनेकी छिन् सुनमादेवी । आफ्नो सीप र मिहिनेतमा विश्वास राख्ने सुनमादेवीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिएकी छिन् ।

