गुरु भनेको केवल पढाउने व्यक्ति होइन, ज्ञानको ज्योति, अनुशासनको प्रतीक र समाजले उच्च सम्मान दिएको व्यक्तित्व हो । हाम्रो संस्कृतिमा गुरु–शिष्य सम्बन्धलाई आमा–बुबापछिको पवित्र सम्बन्ध मानिन्छ । यही कारणले यस सम्बन्धलाई सदियौँदेखि मर्यादा, विश्वास र सम्मानको आधारमा हेरिँदै आएको छ। तर पछिल्लो समय केही सामग्रीहरूमा यही पवित्र सम्बन्धलाई सस्तो मनोरञ्जन, भ्युज र चर्चाको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
हाल चर्चामा रहेको ‘मास्टर्नी’ गीतले यही बहसलाई फेरि सतहमा ल्याएको छ । गीतका केही शब्द, प्रस्तुति र दृश्यहरूले धेरै दर्शकलाई असहज बनाएको छ । विशेषगरी शिक्षक र विद्यार्थीसँग सम्बन्धित पात्रहरूको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म तीव्र प्रतिक्रिया देखिएको छ ।
“म्याथ सिक्ने भए राति घरमा आए…वा “अ आ पढाइदेऊ, तिम्रो सेक्सी नजरले हामीलाई घायल बनाइदेऊ”… जस्ता शब्दहरूले वास्तवमै शिक्षाको प्रचार गर्छन् कि शिक्षकको छविलाई यौनिक रूपमा प्रस्तुत गर्छन् भन्ने प्रश्न उठेको छ । विद्यालय, शिक्षक र पढाइसँग जोडिएका प्रतीकहरूलाई उत्तेजक शैलीमा प्रस्तुत गर्दा त्यसले मनोरञ्जनभन्दा बढी विकृत सन्देश दिन सक्छ भन्ने चिन्ता धेरैले व्यक्त गरेका छन् । नेपाल शिक्षक महासंघले त विज्ञप्ती निकालेरै गीतमा प्रतिवन्ध लगाउन माग गरेको छ ।
अर्कोतर्फ, दृश्यहरूमा शिक्षक पात्रलाई उत्तेजक हाउभाउ, नृत्य र भड्किलो प्रस्तुतिमार्फत देखाइँदा विद्यालय जस्तो पवित्र संस्थालाई नै सस्तो मनोरञ्जनको मञ्च बनाइएको अनुभूति दर्शकले गरेका छन् । कला सिर्जनात्मक हुन सक्छ, फरक हुन सक्छ, साहसी पनि हुन सक्छ; तर त्यसले समाजका आधारभूत मूल्य, पेशागत सम्मान र मानवीय गरिमालाई कमजोर बनाउनु हुँदैन ।
यस विषयको अर्को गम्भीर पक्ष बालबालिका र किशोरकिशोरीमाथिको प्रभाव हो । आज सामाजिक सञ्जालमा लोकप्रिय भएका गीतहरू विद्यालयका विद्यार्थीको मुखमै झुन्डिन्छन् । यदि यस्ता दोहोरो अर्थ लाग्ने शब्दहरू सामान्य बनाइए भने भोलि कुनै विद्यार्थीले आफ्नै शिक्षक वा शिक्षिकासँग त्यस्तै भाषा प्रयोग गर्दा त्यसको जिम्मेवारी कसले लिने ? केवल विद्यार्थीलाई दोष दिएर पुग्दैन। समाजले जे देखाउँछ, नयाँ पुस्ताले त्यसबाट धेरै कुरा सिक्ने सम्भावना हुन्छ ।
अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार हो । कलाकारलाई सिर्जना गर्ने स्वतन्त्रता हुनुपर्छ र कलाले नयाँ सोच, नयाँ शैली तथा नयाँ बहस पनि जन्माउनुपर्छ । तर स्वतन्त्रताको अर्थ समाजका पवित्र सम्बन्ध, पेशागत गरिमा वा व्यक्तिको सम्मानलाई सस्तो लोकप्रियताका लागि प्रयोग गर्ने छुट भने छैन । स्वतन्त्रतासँग जिम्मेवारी पनि जोडिएको हुन्छ ।
आजको डिजिटल युगमा भ्युज, ट्रेन्ड र रिभेन्युको प्रतिस्पर्धा तीव्र छ। यही प्रतिस्पर्धामा कतिपय सिर्जनाले ध्यान तान्नका लागि विवादलाई नै रणनीति बनाउने गरेको आरोप पनि लाग्ने गरेको छ । तर क्षणिक लोकप्रियताका लागि समाजका आधारभूत मूल्यहरूमाथि प्रहार गर्नु दीर्घकालीन रूपमा कला र मनोरञ्जन उद्योगकै विश्वसनीयताका लागि पनि हितकर हुँदैन ।
यो बहसलाई केवल प्रतिबन्धको पक्ष वा विपक्षमा सीमित गर्नु आवश्यक छैन । पहिलो जिम्मेवारी स्वयं निर्माण पक्षको हो। यदि कुनै सामग्रीले ठूलो संख्यामा दर्शकलाई असहज बनाएको छ, पेशागत गरिमामाथि प्रश्न उठाएको छ र सामाजिक रूपमा नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ भने त्यसबारे पुनर्विचार गर्नु परिपक्व निर्णय हुन सक्छ । विवादलाई प्रचारको माध्यम बनाउनु भन्दा सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनु नै सिर्जनाको सम्मान हो ।
म आधुनिकता, खुलापन र सिर्जनात्मक स्वतन्त्रताको विरोधी होइन । तर आधुनिकताको नाममा मर्यादा भत्काउने, सम्बन्धको गरिमा घटाउने र समाजमा गलत सन्देश फैलाउने प्रवृत्तिलाई सामान्य मान्न सक्दिन। गुरु–शिष्य सम्बन्ध मनोरञ्जनका लागि प्रयोग गर्ने विषय होइन; यो सम्मान, विश्वास र संस्कारसँग जोडिएको विषय हो ।
नेपाली चलचित्र र संगीत उद्योगले लोकप्रियता मात्र होइन, सामाजिक जिम्मेवारी पनि वहन गर्नुपर्छ । दर्शकलाई मनोरञ्जन दिने अधिकार जति कलाकारसँग छ, समाजका संवेदनशील सम्बन्धहरूको सम्मान गर्ने दायित्व पनि त्यत्तिकै छ । कला समाजको ऐना हो; त्यसैले त्यो ऐनाले समाजलाई विकृत होइन, विवेकपूर्ण, मर्यादित र जिम्मेवार दिशातर्फ प्रेरित गर्नुपर्छ ।