न्युजिल्याण्डबाट फर्किएर गाउँमै किवी र सुन्तलाखेती
मनिष दुवाडी

भदौ ९, २०८३

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोङ । पहाडी भूगोल, दिनैभरि घाम लाग्ने भिरालो जमिन । गाउँको परम्परागत खेतीपातीका बीचमा देखिएको किवी र सुन्तला फार्मले पछिल्लो समय गाउँमा आउने–जानेको ध्यान तान्न थालेको छ । बारीमा लटरम्मै लहरामा झुन्डिएका किवीका फल, फल धेरै लागेर भुइसम्मै लत्रिएको पातभन्दा फल धेरै देखिने जापानिज सुन्तलाले त्यहाँ पुग्ने जोकोहीलाई अचम्मित तुल्याउने गरेको छ ।

केही वर्षअघिसम्म सामान्य पाखोबारी मात्रै देखिने यो जमिन अहिले गाउँमा आधुनिक खेतीको राम्रो सम्भावनाको उदाहरण बनेको छ । र यो परिवर्तनको पछाडि छन् स्थानीय ३५ वर्षिय सन्त तामाङ ।

वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पुगेका तामाङले त्यहाँ पैसा कमाउने काम मात्रै गरेनन्, आफ्नो गाउँमा फर्किएर के गर्न सकिन्छ भन्ने सपना पनि बोकेर फर्किए । अहिले त्यही सपना सेमजोङको माटोमा किवी र सुन्तलाका रूपमा हुर्किरहेको छ ।

No data was found

विदेशमा देखेको खेती, गाउँमा फर्केर प्रयोग

वैदेशिक रोजगारीको सिलसिलामा सन्त न्युजिल्यान्ड पुगेका थिए । काम खोज्दै जाँदा उनी किवी फार्ममा पुगे । न्युजिल्यान्ड विश्वमै किवी उत्पादनका लागि परिचित देश हो । त्यहाँको किवी खेती नजिकबाट देखेपछि सन्तको ध्यान रोजगारीभन्दा आफनै पाखोबारी र गाउँको हावापनी सम्झिए ।

किवीका बोट, खेती गर्ने प्रविधि, माटोको व्यवस्थापन, सिँचाइ, काँटछाँटदेखि फल उत्पादनसम्मका प्रक्रिया उनले नजिकबाट नियाल्न थाले । सबैभन्दा महत्वपूर्ण कुरा उनले न्युजिल्यान्डको किवी उत्पादन हुने भूगोल र आफ्नो गाउँ सेमजोङको हावापानी बीच समानता देखे ।
‘यहाँको हावापानी त हाम्रो गाउँसँग पनि मिल्दोजुल्दो रहेछ,’ उनको मनमा विचार आयो, ‘विदेशमा अरूको खेतमा काम गर्नुभन्दा आफ्नै गाउँमा फर्किएर यही काम गर्न पो सकिन्छ कि ?’

परिवारबाट टाढा बसेर वैदेशिक रोजगारी गर्नुपर्दाको पीडा पनि उनलाई थियो । त्यसैले न्युजिल्यान्ड पुगेको करिब ६ महिनापछि नै उनले गाउँ फर्किने निर्णय गरे । तर उनी खाली हात फर्किएनन् । साथमा लिएर आए, किवी खेतीको ज्ञान, प्रविधि र नयाँ सम्भावनाको सपना ।

चार रोपनीबाट सुरु भएको यात्रा

गाउँ फर्किएपछि सन्तले आफ्नै पाखो जग्गामा किवी खेतीको परीक्षण सुरु गरे । सुरुआती चरणमा उनले करिब चार रोपनी क्षेत्रफलमा किवीका बिरुवा लगाए । उनको उद्देश्य तत्कालै ठूलो व्यवसाय खडा गर्नु थिएन । पहिले आफ्नो गाउँको माटो र हावापानीमा किवी कस्तो हुन्छ भनेर परीक्षण गर्नु थियो । परीक्षण सफल भयो ।

बोटमा राम्रो उत्पादन देखिएपछि उनको आत्मविश्वास बढ्यो । त्यसपछि उनले थप जग्गामा खेती विस्तार गरे । अहिले उनको किवी खेती करिब १४ रोपनी क्षेत्रफलमा पुगेको छ र अझै विस्तार गर्ने उनको योजना छ ।

‘विदेशमा सिकेको सीप र प्रविधि प्रयोग गरेर किवी खेती सुरु गरेको थिएँ,’ सन्त भन्छन्, ‘परीक्षण उत्पादन एकदमै राम्रो भयो । त्यसपछि खेती विस्तार गरेको हुँ । अब नयाँ प्रजातिका बिरुवासमेत थप्दै छु ।’

उनको फार्ममा अहिले हेल्वार्ड, गोल्डेन र रेड जातका किवी उत्पादन भइरहेका छन् । विशेषगरी रेड किवीप्रति उनको उत्साह बढी छ । अन्य जातको तुलनामा यसको बजार मूल्य राम्रो रहेको र आफ्नो फार्ममा यसको परीक्षण उत्पादनसमेत उत्साहजनक भएको उनी बताउँछन् ।

सन्तको फार्ममा उत्पादन भएको किवीको आकार र गुणस्तरले उनलाई मात्र होइन, फलफूल व्यवसायीलाई समेत आकर्षित गर्न थालेको छ । उनको फार्ममा उत्पादन भएको किवीका तस्वीर सामाजिक सञ्जालमार्फत बाहिरिएपछि बजारका व्यवसायीहरू गाउँमै पुग्न थालेका छन् ।

 

 

‘अहिले मेरो फार्मको किवी खरिद गर्न फलफूल व्यवसायीहरू गाउँमै आउन थालेका छन्,’ सन्त भन्छन्, ‘मैले राखेको मूल्यमा किवी खरिद गर्छौं भनिरहेका छन् । उत्पादन बेचिदिने मात्रै होइन, थप लगानी गरिदिने प्रस्तावसमेत आएको छ ।’

विदेशमा अरूको खेतमा काम गरेका सन्तका लागि आफ्नै खेतमा पसिना बगाएर उत्पादन गरेको फलको बजार आफैं उनको गाउँसम्म आइपुग्नु सन्तलाई मात्रै होइन गाउँलाइ नै उत्साहको विषय बनेको छ । अझ महत्वपूर्ण कुरा, उनको उत्पादनले आफ्नो मेहनतको मूल्य पाउने विश्वास बढाएको छ ।

काठमाडौंमा फलफूलको थोक व्यवसाय गर्दै आएका धादिङकै पुरुषोत्तम घिमिरे सन्तको किवी फार्ममा पुगेपछि उत्पादन देखेर प्रभावित भए । ‘फलफूल व्यवसायमा लागेको १५ वर्ष भयो । धेरै ठाउँका किवी फार्ममा पुगेको छु,’ घिमिरे भन्छन्, ‘नेपालका कुनै पनि फार्ममा यति राम्रो, उत्कृष्ट र राम्रो साइजको किवी उत्पादन भएको मैले देखेको छैन ।’

हाल किवीको माग उच्च रहेको उनको भनाइ छ । त्यसैले सन्तलाई ढुक्क भएर खेती विस्तार गर्न सुझाव दिएका छन् । आवश्यक परे थप लगानी जुटाउन समेत सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

किवी मात्रै होइन, सुन्तलामा पनि सफल परीक्षण

सन्तको कृषि सपना किवीमा मात्र सीमित छैन । उनले करिब तीन रोपनी क्षेत्रफलमा जापानिज सुन्तलाको समेत परीक्षण गरेका छन् । किवीजस्तै सुन्तलाको परीक्षण पनि सफल भएको उनी बताउँछन् । उनको बारीमा पुगेपछि सुन्तलाका बोटले पनि ध्यान खिच्छन् । बोटका पातभन्दा फल धेरै देखिने गरी सुन्तला फलेका छन् ।

पहाडी गाउँमा परम्परागत रूपमा लगाइने सुन्तलाभन्दा फरक प्रविधि र जात प्रयोग गरेर गरिएको परीक्षणले सन्तलाई फलफूल खेतीतर्फ थप आकर्षित गरेको छ । उनको उद्देश्य अब एउटा मात्रै बालीमा निर्भर हुनु होइन । आफ्नो गाउँको माटो र हावापानीअनुसार उपयुक्त नगदेबाली र फलफूलको सम्भावना खोज्दै जाने उनको योजना छ ।

 

 

सुरुमा गाउँलेले पत्याएनन्, अहिले सिक्न आउँछन् ।

सेमजोङमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य छ । विशेषगरी ‘लाहुरे’ संस्कृतिको प्रभाव रहेको यो गाउँमा विदेश जानुलाई आर्थिक उन्नतिको प्रमुख बाटोका रूपमा हेर्ने परम्परा छ । त्यस्तो ठाउँमा विदेशबाट फर्किएर सन्तले गाउँमै किवी खेती सुरु गर्दा सबैले सुरुमै उनको योजनालाई त्यति रुचाएका थिएनन् । तर बारीमा फल लाग्न थालेपछि धारणा बदलिन थाल्यो ।

आज उनको फार्म हेर्न स्थानीयहरू पुग्छन् । किवी खेती कसरी गर्ने, कुन प्रविधि प्रयोग गर्ने, बिरुवा कसरी लगाउने, उत्पादन कसरी बढाउने भन्नेबारे जानकारी लिन आउनेहरू बढेका छन् । ‘सुरुमा खासै विश्वास गरेका थिएनन्,’ सन्त सम्झन्छन्, ‘तर अहिले उत्पादन देखेपछि धेरै जना अचम्म मान्नुहुन्छ । खेतीका बारेमा सिक्न पनि आउनुहुन्छ ।’

उनका लागि यो व्यक्तिगत सफलताभन्दा ठूलो उपलब्धि हो । किनकि उनले गाउँमा विदेश जाने मात्रै होइन, विदेशबाट सीप लिएर फर्किएर आफ्नै गाउँमा व्यवसाय गर्न सकिन्छ भन्ने सोच स्थापित गर्न सफल भएका छन् ।

 

गाउँमा वर्षौंदेखि परम्परागत खेती गर्दै आएका किसानलाई हावापानी र माटो अनुसार नयाँ नगदेबाली तथा फलफूल खेती गर्न प्रोत्साहित गर्ने काममा पनि उनी सक्रिय छन् । उनको फार्म अहिले किवी खेतीको उत्पादन स्थल मात्रै होइन, सिकाइको थलोसमेत बन्दै गएको छ ।
सन्तको किवी खेतीको यात्रामा कृषि ज्ञान केन्द्र धादिङको प्राविधिक सहयोग पनि जोडिएको छ । कृषि ज्ञान केन्द्रबाट उनले अनुदानसमेत प्राप्त गरेका छन् । किवी खेतीको प्रविधि, प्राविधिक ज्ञान र खेती व्यवस्थापनका विषयमा आवश्यक सहयोग पाउँदै आएका छन् । स्थानीय वडा र गाउँपालिकाले पनि किवी खेतीलाई प्रोत्साहन गरेका छन् ।
चार रोपनीबाट सुरु भएको किवी खेती अहिले करिब १४ रोपनीमा पुगेको छ । सन्त अझै नयाँ जातका बिरुवा थप्ने र खेती विस्तार गर्ने योजनामा छन् । उत्पादनले बजार पाउन थालेको छ । व्यवसायीहरू गाउँमै खरिदका लागि पुग्न थालेका छन् । स्थानीय युवाहरूले खेतीको सम्भावना देख्न थालेका छन् ।

 

विदेशको किवी फार्ममा काम गर्दा उनको मनमा उम्रिएको एउटा सानो सपना अहिले सेमजोङको पाखोमा फल दिन थालेको छ । विदेशमा सिकेको सीप आफ्नै माटोमा प्रयोग गर्दा गाउँमै पनि सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने सन्त तामाङको किवी फार्म त्यसैको जीवन्त उदाहरण बनेको छ ।
सन्तको कथा केवल एउटा किसानले किवी खेती गरेर राम्रो उत्पादन गरेको कथा होइन । यो वैदेशिक रोजगारीमा जाने नेपाली युवाले विदेशबाट पैसा मात्रै होइन, सीप, प्रविधि र काम गर्ने नयाँ शैली पनि लिएर फर्किन सक्छन् भन्ने उदाहरण हो । न्युजिल्यान्डमा अरूको फार्ममा किवी उत्पादनमा काम गरेका सन्तले त्यहाँ सिकेको ज्ञान आफ्नै गाउँको पाखोबारीमा प्रयोग गरे । विदेशमा उनले सिकेको प्रविधि अहिले सेमजोङको माटोमा परीक्षण भइरहेको छ । र त्यो परीक्षणले राम्रो परिणाम दिन थालेको छ ।
करिब २७ वर्ष जापानमा बसेर गाउँ फर्किएका मञ्चा तामाङले पनि सन्तको किवी खेतीबाट प्रेरित भएर सेमजोङमै अहिले कफी खेती समेत सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने  निर्णय

राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
मनिष दुवाडी