सुरक्षण मुद्रणमा आत्मनिर्भर हुँदै बाह्य बजार विस्तारमा सञ्चारमन्त्रीको जोड
राष्ट्रिय समाचार समिति

असोज १, २०८३

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रणसम्बन्धी विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उहाँले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय यसअघि नै गरिसकेको छ । उक्त निर्णयपछि केन्द्रलाई सरकारी आवश्यकताका सुरक्षणयुक्त सामग्री उत्पादन गर्ने निकायका रूपमा मात्र सीमित नराखी व्यावसायिक रूपमा सञ्चालन गर्ने तथा सेवा र उत्पादनलाई बाह्य बजारसम्म विस्तार गर्ने सम्भावनाबारे कार्यक्रममा छलफल भएको थियो ।

No data was found

सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रणका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति र पूर्वाधार विकास गर्दै नेपाल क्रमशः आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । देशभित्रै उत्पादन गर्न सकिने सुरक्षणयुक्त कागजात तथा सामग्रीका लागि विदेशमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै केन्द्रलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने उहाँको धारणा थियो ।

सुरक्षण मुद्रणलाई सरकारी काममा मात्र सीमित नराखी अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योगका रूपमा विकास गर्न अन्तरराष्ट्रिय मापदण्डअनुसारको प्रविधि, गुणस्तर, सुरक्षा प्रणाली र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विज्ञहरूले अन्तरराष्ट्रिय बजारमा नेपालको सुरक्षण मुद्रणको अवस्था, प्रयोगमा रहेका प्रविधि, सुरक्षा मापदण्ड तथा अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न सकिने सम्भावनाबारे अनुभव प्रस्तुत गर्नुभएको थियो ।

बैंक नोट, राहदानी, परिचयपत्र तथा राजस्वसम्बन्धी कागजातको सुरक्षण मुद्रणमा लामो अन्तरराष्ट्रिय अनुभव भएका तादेज जे। टर्कले सुरक्षण मुद्रणको प्रविधि र अन्तरराष्ट्रिय अभ्यासबारे अनुभव साझा गर्नुभयो । सुरक्षण डिजाइनसम्बन्धी विज्ञ तथा प्रशिक्षक क्यामिला स्मिडले सुरक्षण डिजाइन, नक्कली कागजात नियन्त्रण तथा डिजाइनमा अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिनुभयो । प्रमाणीकरण तथा अन्तरराष्ट्रिय साझेदारीसम्बन्धी विज्ञ लास्लो वर्गाले प्रमाणीकरण, अन्तरराष्ट्रिय सहकार्य तथा बजार विस्तारका विषयमा अनुभव प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड तथा डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल भएको थियो । नक्कली कागजातका कारण राज्य तथा नागरिकलाई पुग्ने क्षति कम गर्न आधुनिक प्रविधि र बहुस्तरीय सुरक्षा प्रणाली आवश्यक हुनेमा विज्ञहरूले जोड दिनुभयो ।

त्यसैगरी, सुरक्षण मुद्रणमा अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्ने, नमुना परीक्षण गर्ने तथा उत्पादनलाई आवश्यक मापदण्डअनुसार प्रमाणीकरण र अनुपालन गर्ने विषयमा पनि छलफल भएको थियो ।

सुरक्षण मुद्रण केन्द्रको क्षमता विस्तारका लागि अन्तरराष्ट्रिय साझेदारी, संयुक्त लगानी तथा प्रविधि हस्तान्तरणका सम्भावनाबारे समेत छलफल भएको थियो । अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत व्यवसाय विस्तार गर्ने तथा सरकार–सरकारबीचको सहकार्यबाट सुरक्षण मुद्रणसम्बन्धी सेवा र प्रविधि विकास गर्न सकिने विषयमा पनि विज्ञहरूले अनुभव प्रस्तुत गर्नुभयो ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यावसायिक रूपमा अघि बढाउने निर्णय गरेसँगै केन्द्रको कार्यक्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण आवश्यक पर्ने सामग्री स्वदेशमै उत्पादन गर्ने क्षमता विकास गर्नुका साथै भविष्यमा विदेशी बजारमा पनि सेवा तथा उत्पादन पु¥याउने आधार तयार हुने सरकारको अपेक्षा छ ।

कार्यक्रममा सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, मुद्रण विभागका महानिर्देशक छविन्द्र पराजुली र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानालगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति