प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

राष्ट्रिय समाचार समिति

कार्तिक २३, २०८३

काठमाडौँ। यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले कार्यालयमा रहेका विभिन्न जातका कुकुरलाई पूजा गर्नुभयो । उहाँले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । गम्भीर प्रकृतिका घटना पत्ता लगाउन कुकुरले खेलेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक रानाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट हराएका करिब २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिनुभयो । नेपालमा स्थापनाकालदेखि केनाइन कार्यालयले अपराध अनुसन्धानमा ठूलो सफलता हाँसिल गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा रामचन्द्र सत्यालले २०२६ सालमा स्थापना भएको केनाइन कार्यालयले हाल देशभर १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर केनाइन केन्द्रमा १०७ कुकुर छन् ।
कार्यालयका प्राविधिक प्रहरी नायब उपरीक्षक डा चेतनारायण ज्ञवालीले नेपाल प्रहरीको कार्यसम्पादनमा कुकुरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर, रनिङतर्फ उत्कृष्ट हुने कुकुरलाई पुरस्कार प्रदान गरिएको थियो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति