हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भन्नुभएको छ । उहाँले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताउनुभयो ।
पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै उहाँले नारी शक्तिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । “स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापामगरले धार्मिक आस्था र दैनिक व्यवहारमा एकरूपता हुनुपर्ने उल्लेख गर्दै महिलाको सम्मानलाई पूजा र शुभकामनामा मात्र सीमित नराख्न आग्रह गर्नुभएको छ । उहाँले नारी सम्मानको सन्देश बोकेको तिहार महिला उत्थानको आधार बन्ने विश्वास व्यक्त गर्दै लक्ष्मीपूजाका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0