चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक
राष्ट्रिय समाचार समिति

असोज २, २०८३

काठमाडौँ। चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ ।
गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको लेखक ह्वेनसाङ हुनुहुन्छ । उहाँले परम्परागत चिनियाँ भाषामा पुस्तक लेख्नुभएको हो । जसको आधुनिक चिनियाँ अनुवाद फु छियाङले गर्नुभएको छ भने नेपाली अनुवाद दीक्षा दवाडीले गर्नुभएको हो । नेपाली अनुवाद गरिएको पुस्तकको सम्पादन गणेशकुमार जिसीले गर्नुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चीनको ऐतिहासिक पक्षका विविध आयामका बारेमा पुस्तकबाट जानकारी हुने बताउनुभयो । चिनियाँ भिक्षु ह्वेनसाङले जोखिमपूर्ण यात्रा गरी चीन फर्केर पुस्तक लेखेको पनि उहाँले सुनाउनुभयो ।
मञ्जुश्रीदेखि ह्वेनसाङसम्म र भृकुटी, अरनिकोका कारण दुई देशबीचको सम्बन्धलाई सांस्कृतिक रुपमा जोडेको अध्यक्ष दाहालले बताउनुभयो । यात्रामा देखेका र सिकेका कुरा लेखकले पुस्तकमा उतारेको उहाँले जानकारी दिनुभयो ।
पूर्वशिक्षामन्त्री रघुजी पन्तले पुस्तकको १२३ पृष्ठमा लेखिएको वाक्यांशले बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै हो भन्ने पुष्टि गरेको बताउनुभयो । ‘त्यहाँ सम्राट अशोकले बनाएको ढुङ्गाको खम्बा छ । खम्बाको टुप्पोमा पहिले घोडाको मूर्ति थियो, पछि चट्याङ लागेर भाँचेको भनिन्छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।
“संसदीय समितिबाट लुम्बिनीको भ्रमणमा जाँदा चिनियाँ भाषामा लेखिएको यही पुस्तकमा उल्लेख गरिएको माथि उल्लेखित वाक्यांश प्रमाणका आधारमा बुद्धको जन्म लुम्बिनीमा भएको पुष्टि भयो, बुद्धसँगै हिन्दू देवालयका प्रसङ्ग पनि लेखक ह्वेन साङले लेखेका छन्, नेपाली भाषामा यो कृति आएर योगदान भएको छ”, उहाँले भन्नुभयो ।
बुद्धको सम्यक् चिन्तनका आधारमा चीन अघि बढेको उल्लेख गर्दै पूर्वमन्त्री पन्तले नेपाल–चीन मित्रतामा पनि पुस्तकको अनुवादले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । अटल साहस र आत्मविश्वासका साथ करिब एक हजार ४०० वर्षअघि प्राचीन चीनको राजधानी छाङ्आनबाट बौद्ध भिक्षु ह्वेनसाङ मध्यएसिया हुँदै अध्ययन भ्रमण गर्दै सन् ६३६ तिर नालन्दा पुगेको पुस्तकमा उल्लेख गरिएको छ । त्यही क्रममा उनले नेपालस्थित बुद्धको जन्मस्थल लुम्बिनीका साथै अन्य प्राचीन राज्य तथा धार्मिकस्थलको पहिचान र अध्ययन गरेका थिए ।
चीन फर्केपछि उहाँले तयार पारेको आफ्ना विवरण तथा अभिलेखहरुको कृतिका रुपमा ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक लेखिएको हो । चिनियाँ भाषामा लेखिएको करिब एक हजार ४०० वर्षपछि यो पुस्तक नेपाली भाषामा अनुवाद गरिएको हो । आवृत्ति छापाखाना प्रालिले मुद्रण गरेको पुस्तकको मूल्य रु एक हजार तोकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

माथिल्लो त्रिशूली थ्री-ए को टनेलबाट ६ वटा शव निकालियो

चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति