हेटौँडा। बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सचिव नियुक्तिको विषयलाई लिएर प्रदेशका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलित हुने भएका छन्। प्रदेशमै सचिव बन्न योग्यता पुगेका ११औँ तहका ६ जना वरिष्ठ कर्मचारी कार्यरत हुँदाहुँदै संघीय सरकारले संघअन्तर्गतका कर्मचारीलाई सचिव बनाएर पठाउन तयारी गरेको भन्दै उनीहरूले कडा असन्तुष्टि जनाएका हुन्।
गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन स्वास्थ्य सचिव डा.सुमित्रा गौतमको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरेसँगै बागमती प्रदेशको स्वास्थ्य सचिव पद रिक्त छ। संघअन्तर्गतको दरबन्दीमा रहेकी स्त्रीरोग विशेषज्ञ डा.गौतम २०८१ पुसदेखि उक्त पदमा कार्यरत थिइन्।
बागमती प्रदेशका अन्य मन्त्रालयहरूमा प्रदेशकै ११औँ तहका कर्मचारीहरूले सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन्। केही वर्षयता अभ्यासमा रहेको यही परिपाटीलाई स्वास्थ्य मन्त्रालयमा पनि निरन्तरता दिनुपर्ने र प्रदेशकै योग्य कर्मचारीलाई नेतृत्वको अवसर दिनुपर्ने उनीहरूको मुख्य माग छ।
प्रदेशमै योग्य कर्मचारी उपलब्ध हुँदाहुँदै बाहिरबाट कर्मचारी ल्याउनु प्रदेशका कर्मचारीको वृत्तिविकास र अवसरमाथिको ठाडो हस्तक्षेप भएको उनीहरूको भनाइ छ। यदि संघीय सरकारले स्वास्थ्यमा संघकै कर्मचारीलाई सचिवका रूपमा पठाएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूलाई हाजिर नगराई संघमै फिर्ता पठाउनुपर्ने अडान कर्मचारीहरूको छ।
आफ्ना मागहरू बेवास्ता गरिए मन्त्रालयमा धर्ना दिने, कामकाजमा असहयोग गर्ने तथा मन्त्रालयका सम्पूर्ण कामकाज ठप्प पार्नेसम्मका कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउने उनीहरूले चेतावनी दिएका छन्।