धादिङ। धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ ।
भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरुको पहलमा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो ।
बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने ४ वटा पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो । त्यसले गर्दा एम्बुलेन्सले समेत वैकल्पिक र लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन् ।
धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा मलेखुमा पन्टुन ब्रिज ल्याएर जडान गर्ने प्रयास अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिए ।
अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडानको सम्भावना र आवश्यक प्राविधिक पक्षबारे स्थलगत निरीक्षण भएको छ ।
सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पन्टुन ब्रिज जडानको काम सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्मका लागि तिहार अघिनै यातायात सहज रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष दनैले बताए ।
के हो पन्टुन ब्रिज ?
पन्टुन ब्रिज भनेको पानीमा तैरिने अस्थायी वा स्थायी पुल हो, जसलाई नेपालीमा ‘तैरिने पुल’ भनिन्छ । यो साधारण पुल जस्तो खोलाको पिँधमा पिलर आवश्यक पर्दैन । पानीमा तैरिने वस्तुहरूको आधारमा बनाइएको हुन्छ ।
प्राबिधिकहरुका अनुसार यो कम खर्चमा र छिट्टै जडान गर्न सकिन्छ । आवश्यक नपरेको खण्डमा यसलाई सजिलै फुकालेर अर्को ठाउँमा लैजान सकिन्छ । नदीमा पानीको बहाव धेरै ठूलो आएमा वा बाढी आएमा यो पुल सुरक्षित हुँदैन ।
यता संघीय सरकारले पनि मलेखुको फुर्केखोलामा पुलको स्थायी समाधानका लागि सिग्नेचर ब्रिज निर्माण गर्ने र त्यसको लागि बोलपत्र आव्हान गर्ने तयारी गरेको धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । त्रिशूली नदी वारपार गर्ने घाटबेसीको पक्की पुल र अन्य पाँच वटा सडक स्तरोन्नतिको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र कार्यप्रकृया अघि बढाउने जानकारी दिएका छन् ।