काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार हुने तालिकाका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना देखिएको छ।
आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ। यस्तै, साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ।
तर, शुक्रबारदेखि काठमाडौंमा भइरहेको वर्षाका कारण आजका खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ। वर्षाका कारण त्रिवि क्रिकेट मैदानको पिचसहित आउटफिल्ड पूरै कभरले ढाकिएको छ।
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहका अनुसार वर्षाका कारण त्रिवि क्रिकेट मैदानको अवस्था बिग्रिएको छ। मैदानको मिडिया बक्स र भिआइपी बस्ने स्थानको बीचबाट वर्षाको पानी भेल बनेर मैदानभित्र पसेको छ। पानीसँगै माटो र लेदोसमेत मैदानमा जम्मा भएको छ।
मौसम पूर्वानुमान गर्ने सरकारी निकाय र मौसमविद्हरूका पछिल्ला विवरणअनुसार काठमाडौंमा आज (शनिबार) बिहानदेखि दिउँसोसम्म वर्षाको सम्भावना छ। तर दिउँसोपछि मौसममा क्रमिक सुधार हुने संकेत पनि देखिएको छ।
वर्षा रोकिएपछि मैदानबाट कभर हटाएर पिच र आउटफिल्डको अवस्था निरीक्षण गरिनेछ। त्यसपछि मात्रै खेल सञ्चालन गर्न सकिने वा नसकिने विषयमा निर्णय हुनेछ।
लगातारको वर्षाले मैदान भिजेको अवस्थामा आउटफिल्ड खेलका लागि तयार हुन समय लाग्न सक्छ। त्यसैले आजका दुवै खेल निर्धारित समयमा हुने सम्भावना कम देखिएको छ।
मैदानको अवस्थाअनुसार खेलको समय परिवर्तन हुने वा खेल रद्द हुने विषयमा निर्णय हुनेछ।