धादिङ। नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । दिपावली पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ ।
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।
धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ । दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने परम्परा छ ।
धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री गर्दै आएको छ ।