धादिङ। धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने मलेखु फुर्केखोलाको पक्की पुल बाढीले बगाएको क्षेत्रमा अस्थायी रूपमा जडान गर्न लागिएको ‘पन्टुन ब्रिज’ (तैरिने पुल) फुर्केखोला आइपुगेको छ ।
भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरूको पहलमा यो अस्थायी पुल ल्याइएको हो । बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने पक्की पुलहरू बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो, जसका कारण एम्बुलेन्ससमेत लामो र जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्न बाध्य थिए ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा आइपुगेसँगै यसको प्राविधिक पक्षबारे स्थलगत निरीक्षण भइसकेको छ ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार प्राविधिक भोलीबाटै पुलमा रंगरोगनको काम सुरु गरिनेछ । त्यसपछि तिहार लगतैबाट यसको जडान कार्य सुरु गरिनेछ । स्थायी पुल निर्माण नहुँदासम्म यातायात सहज बनाउन यसले ठूलो सहयोग पुर्याउनेछ।




