काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका ४१६ जनाको नामावली विदुर नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै बेपत्ता व्यक्तिको वडागत विवरण सार्वजनिक गरेको हो।
नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचीमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहिरको भए सच्याउन आग्रह गरेको छ।
सूचनाअनुसार सार्वजनिक विवरणमा कसैको दाबी, विरोध वा त्रुटि भए सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित निवेदन दिनुपर्नेछ। यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न भनिएको छ।
तोकिएको समयभित्र विवरण सच्याउन वा सुधार गर्न निवेदन नपरे सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गरिने नगरपालिकाले जनाएको छ।
अन्तिम विवरण कायम भएपछि बेपत्ता व्यक्तिहरूको मृत्यु घोषणा गर्न आवश्यक सिफारिस प्रक्रिया अघि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचान र विवरण यकिन गरी कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यले सूची सार्वजनिक गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ।