किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

मंसिर ७, २०८३

युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट भत्किएको आवासीय भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन् ।
किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताउनुभयो । भिश्नेभको सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु र तीन बालबालिकासहित १५ जना घाइते भएका छन् । बिला सेरक्वामा निजी घरमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ ।
युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृतकमध्ये एक किशोरी र चालीस वर्षकी महिला छन् । उद्धारकर्मीहरूले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । भग्नावशेषमा पुरिएका तथा सम्पर्कमा आउन नसकेका व्यक्तिको खोजी जारी छ ।
यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ । ड्निप्रोपेट्रोभस्क क्षेत्रको विद्युत् सबस्टेसनमा पनि आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताउनुभएको छ । जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथिका आक्रमणले युक्रेनको अवस्था थप कठिन बनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा युक्रेनले गरेको आक्रमणको जवाफ ‘अझ पीडादायी’ हुने चेतावनी दिनुभएको थियो । युक्रेनले एक साताभित्र पुलमा तीन पटक आक्रमण गर्दा सवारी आवागमनको भाग क्षतिग्रस्त हुनुका साथै रेल सेवा अवरुद्ध भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर बैठकपछि पुटिनको चेतावनी आएको हो । उक्त बैठकमा युक्रेन र युरोपेली नेताहरूलाई सहभागी नगराई शक्तिशाली राष्ट्रहरूले युद्धबारे निर्णय गर्न सक्ने आशङ्का व्यक्त गरिएको थियो । बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ, जहाँ अमेरिका, बेलायत र सोभियत सङ्घका नेताहरूले दोस्रो विश्वयुद्धपछि युरोपको क्षेत्रीय सीमाबारे छलफल गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सहिद स्मारकमा पर्यटकको आकर्षण

कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ स्थगित

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति