Sat. Jul 27th, 2024

इतिहासले विर्सेका महिला योद्धाहरुलाई संझने प्रयास

radhika sapkota

राधिका सापकोटा
अहिले हामी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा छौं । आज अभियानको एघारौं  दिन हो  । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहासलाई हेर्दा विशेष गरी महिलामाथि भएको राजनीतिक हिंसाको विरुद्ध महिलाहरुले एकवद्ध भएर आवज उठाएको सन्दर्भसंग जडिएको पाइन्छ । यो अभियानमा महिलाहरुको मुक्तिका निमित्त वा परिवर्तनका निमित्त महत्वपूर्ण योगदान पुर्याउने महिलाहरुको सम्मान गर्ने, उनीहरुको योगदानको कदर गर्ने अवसरको रुपमा समेत लिने गरिन्छ ।

 

नेपालको इतिहासलाई हेर्ने हो भने लिच्छवी कालदेखि नै नेपाली महिलाहरुले आफ्नो देशको लागि लडेको पाइन्छ । नेपालको अंग्रेजसंगको युद्ध, नेपाल एकिकरणको युद्ध देखि निंरकुश राजतन्त्रको विरुद्धको आन्दोलन सम्मका सबै आन्दोलनहरुमा महिलाहरुको महत्वपूर्ण भुमिका रहेको छ । तर कुन समयमा कस कसले परिवर्तनको निमित्त योगदान गरे भन्ने इतिहास हामी पाउन सक्दैनौं । नेपालका इतिहासकारहरुले विरहरुका मात्रै इतिहास कोरेका छन्, विरुङ्गनाहरुका इतिहास कोरिएको पाइदैन । नेपाली इतिहासले महिलाहरुको योगदानलाई हिजो देखि आज सम्म कहिपनि कदर गरेको छैन र सम्झेको पनि छैन । नेपाली इतिहासमा महिलाहरुले देशका लागि परिवर्तनका लागि पुर्याएको राजनीतिक योगदानको कदर हुन नसक्नु परम्परा नै वनेको छ । सदयौं देखि लिएर आज सम्म पनि महिलाहरुको योगदानलाई इतिहासका सुनौला पानामा चढाउन सकिरहेको छैन ।
इतिहासका पानाहरु खोतलेर हेर्दा कताकता महिलाहरुको नामहालेर उनीहरुले पुर्याएको योगदानलाई एकलाइनमा लेखिएको पाइन्छ । यसरी हेर्दा सम्राट अशोकको पालामा कुनै चारुम िभन्ने महिलाको चर्चा गरेको पाइन्छ । उनले चाबहिलमा चैत्य बनाएको जस्ता कुराहरु उल्लेख गरिएको छ । यसैगरी अंशुवर्माकी छोरी भृकुटिले चीनमा वृद्धको विचारलाई प्रसारप्रसार गर्ने काम गरेको पाइन्छ । भृकुटिको नामको भने केही रुपमा प्रसारप्रसार भएकै पाइन्छ । तर यतिवेलाका जति नामहरु वाहिर आएका छन् ती सबै राजघरानाका महिलाहरुका मात्रै नाम वाहिर आएका छन् । सामान्य नागरिकहरुको तर्फबाट पुर्याएका योगदानको कहिकतै चर्चा गरिएको पाइदैन । माथवर सिंहको पालामा महिलाहरुको शिक्षाको सवाललाई उठाउने र सामान्य परिवारबाट शिक्षाको क्षेत्रमा आउने पहिलो महिलाको रुपमा हिरादेवी गाइनेको नाम उल्लेख भएको पाइन्छ । यसै गरी स्त्री शिक्षा नामक कृति लेख्ने दुर्गा देवी आचार्य, विद्यावति र लोकप्रिया देवी जस्ता महिलाहरुले महिलाहरुले पनि शिक्षा पाउनुपर्छ भनेर आवाज उठाएको पाइन्छ ।
नेपाल एकिकरणपछि बेलायति साम्राज्यवादसंगको युद्धमा नेपाली महिलाहरुले वहादुरीका साथ लडेको इतिहास हामीले सुनेका छौं । नालापानी र काँगडाको युद्धमा

 

इन्देणी थापा, सावित्रिदेवी जस्ता देशभक्त नारीहरुले युद्ध लडेको र लड्नका लागि प्रेरणा दिएको र सहयोग गरेको कुराहरु उल्लेख गरिएको छ । काखमा वच्चा वोकेर आफ्नो देशको अस्तित्वको रक्षा गर्न त्यत्तिखेर नेपाली महिलाहरु युद्धमा होमिएका थिए । नेपाली महिलाहरुको विरता र साहासीपूर्ण लडाइ देखेर अंग्रेजका सेनाहरु समेत डराएको इतिहासमा पाइन्छ । दोस्रो विश्वयुद्धपछि १९९३ तिर चन्द्रा मल्लले छोरीहरुलाई शिक्षा दिनुपर्छ भन्दै एउटा स्कुल स्थापना गर्ने काम गरेकी थिइन् यहिवेला देखि नेपाली महिलाहरुले औपचारिक शिक्षाको अधिकार प्राप्त गरेको पाइन्छ ।

 

राणशासनको विरुद्धमा भोजपुरकी योगमाया न्यौपानेले आध्यात्मिक आधारबाट विद्रोहको शुरु गरेकी थिइन् । तत्कालिन अवस्थामा पनि महिलाहरुको हितका निमित्त सामाजिक कल्याणकारी सुधार गर्नुपर्ने, राणशाही अत्याचारको अन्त्य हुनुपर्ने, पुरोहीतवादका अमानविय चलनहरुको खारेजी हुनुपर्ने जस्ता चौविस वटा माग राखेर राणाहरुको विरुद्ध लागिन् । १९९८ मा राणहरुलाई चुनौति दिदै आफ्ना ६४ जना अनुयायी सहित अरुण नदिमा हाम फालेर आत्महत्या गरिन् । योगमाया र उनका ६४ जना साथीहरुको यो साहासिक निर्णयले सबैलाई संवेदनशिल वनायो र राणहरुको विरुद्ध लाग्नका लागि प्रेरित गर्यो । तर अहिले सम्म पनि योगमाया वाहेक ६४ जना महिलाहरु को थिए भन्ने नाम कतै उल्लेख भएको पाइदैन ।

 

२००४ सालमा नेपाल महिला संघ गठन भयो । कामाक्षदेवी, मंगलादेवी, स्नेहलता, मायादेवी, शाधना अधिकारी, प्रतिमा वैध, गुणदेवी ताम्रकार, मोहिनी अमात्य, मिठाइदेवी, शाहना प्रधान, हंसना, प्रेमलता, शान्ता श्रेष्ठ, कनकलता, कोकिला वैद्य, सावित्री पौडेल आदि महिलाहरु नेपाल महिलासंघमा संगठित भएर राणहरुको विरुद्धको आन्दोलनमा होमिए । २००४ सालमा नै काठमाण्डौ नगरपालिका गठन भयो र त्यसमा चुन्न र चुनिन पाउनु पर्ने माग राख्दै महिलाहरुले आन्दोलन गरे । नेपाल महिला संघको नेतृत्वमा मंगलादेवी सिंह, शाहना प्रधान, साधना अधिकारी, कनकलता, स्नेहलता लगायत त्यसका सबै सदस्य सहित २१ जनाको टोली पद्यम शम्सेरको दरबारमा गई महिलाहरुलाई समान  मताधिकार दिनुपर्ने माग राख्दै ज्ञापन पत्र समेत वुझाए । शुरुमा उनीहरुलाई डरत्रास देखाइए पनि उनीहरु आफ्नो आन्दोलनबाट नहटेपछि पद्यम शम्सेरले समान मताधिकारको घोषणा गरे । यो नेपाली महिलाहरुको पहिलो जीत थियो । यो जीतले नेपाली महिलाहरुलाई अझै आफ्ना अधिकारका लागि लड्न प्रेरित गर्यो । राणशासनको विरुद्धको जनताहरुको आन्दोलनमा नेपाली महिलाहरु पनि होमिए । शाहन प्रधान र शाधना अधिकारी केही समय जेल समेत परेका थिए ।

 

नेपाली इतिहासमा जनप्रतिनीधि संस्थामा चुनिएर जाने प्रथम महिलाका रुपमा साधना अधिकारी काठमाण्डौ नगरपालिकाको सदस्य पदमा निर्वाचित भइन् । काठमाण्डौ भन्दा वाहिर रहेर पूर्वमा योगमाया कोइरालाको संयोजकत्मा महिला समिति वनाई दिव्या कोइराला, मोहनकुमारी, मायादेवी र देवकुमारी अधिकारीले पनि महिलाहरुलाई सामाजिक सम्ममान दिनुपर्ने, छोरीहरुलाई पनि शिक्षाको व्यवस्था हुनुपर्ने जस्ता मागहरु राखी राणप्रधानमन्त्रिलाई चिठ्ठी लेख्ने जस्ता कामहरु गर्न थाले । यता रेवन्त देवी आचार्य, सीतादेवी नेपाल, शुसिला चालिसे र कनकलताहरुले बालविवाह रोक्ने अभियानहरु संचालन गरे । यी महिलाहरुले राणहरुको विरुद्धको आन्दोलनमा जेल परेका नेताहरुका लागि चिठ्ठी ओसार पसार गर्ने, भारतबाट हतियार नेपाल भित्र्याउने जस्ता कामहरु गरेको पाइन्छ ।

 

यसै क्रममा विराटनगरमा भएको मजदुर आन्दोलमा सहभागि भएका कारण कामिनी गिरीले एकवर्ष जेलको यातना समेत भोगिन । राणशासनको विरोध गरेको आरोपमा सोलुकी डाँटी भोटेनीको सबै परिवारको हत्या समेत गरिएको थियो । परिवारको हत्या पछि पुरुषको भेषमा काठमाण्डौ समेत आएर उनले इन्साफ मागेको र पछि घर फर्कदा उनलाई पनि झ्याङमा खोलमा मारिएको इतिहास हाम्रो सामु साझी छ । राणहरुको विरोध गरेकै कारण विद्यादेवी देवकोटालाई काठमाण्डौबाट गोरखातिर खेदिएको थियो । २००८ सालमा तत्कालिन भारतीय प्रधानमन्त्रि जवाहरलाल नेहरु नेपाल आउदा दिल्ली संझौता धोका हो भन्दै कालो झण्डा देखाउने कामको अगुवाई शान्ता श्रेष्ठ र सिद्धिलक्ष्मी काररञ्जित लगायतका महिलाहरुले गरेका थिए । यस क्रममा ५ जना महिलाहरु पक्राउ समेत परेका थिए ।
२००९ सालमा राज त्रिभुवनले न्यायपालीकाको सबै अधिकार आफ्नो हातमा लिएको विरुद्धमा, २०११ मा भएको नागरिक अधिकार हनन्को विरुद्धको आन्दोलन, २०१२ मा वारा, पर्सा, रौतहटको किसान विद्रोह जस्ता आन्दोलनहरुमा नेपाली महिलाहरुले ठूलो योगदान पुर्याएको पाइन्छ । यसै गरी २०१४ सालमा भद्रअवज्ञा आन्दोलनमा महिलाहरुको सहभागिता उल्लेखनिय रहेको पाइन्छ । २०१५ सालमा भएको आम निर्वाचनमा संयुक्त नेपाली नारी समितिका तर्फबाट चुुनावमा द्वारिकादेवी ठकुरानी,पुण्यप्रभा ढुगाना, शुसिला थापाहरु उमेरद्वार वने । चुनावमा विजयी वनेकी द्वारिकादेवी नेपालकै पहिलो महिला मन्त्रि समेत वनिन् । संसदको महासभामा कमला राण उपध्यक्ष समेत वनिन् । यसपछि १७ सालको आन्दोनमा पनि नेपाली महिलाहरुको योगदान उत्तिकै र निर्णायक समेत रहेको थियो ।

०१७ सालमा कमला राणले विवाह सम्बन्धि विशेष विद्येयक प्रस्तुत गरेर महिलाहरुको समानता कानुनी रुपमा नै प्रत्याभुति गराउनु पर्ने कुरामा जोड दिएकी थिइन् । यसै गरी तत्कालिन समयमा पनि शसिकलाले स्वास्नी मान्छे नामक पत्रिका समेत चलाएकी थिइन् । धादिङकी फुलमाया तामाङ, काठमाण्डौकी मंगलादेवी सिंह, शाहना प्रधान, विराटनगरकी लिला कोइराला, शैलेजा आचार्य आदि महिलाहरुको अगुवाईमा विभिन्न विरोध जुलुसहरु निकालिएको थियो । नेपाली महिलाहरुको आन्दोलनको विजयको रुपमा २०२० सालमा नै मुलुकी ऐनमा  लैङ्गिक विभेदलाई सैद्धान्तिक रुपमा अन्त्य गरेको थियो ।
झापाको ससस्त्र विद्रोहमा थुप्रै महिलाहरुले भुमिगत भएर आन्दोलन गरे । त्यत्तिखेर भुमिगत हुनेहरुमा लुम्बिनीकी शान्ता मानवी, झापाकी सीता खड्का, गौरा प्रसाई, शुसिला श्रेष्ठ, काठमाण्डौकी अष्टलक्ष्मी शाक्य, विरानटगरकी विद्या भण्डारी, सिन्धुलीकी गोमा देवकोटा, एवं शोभा कुवर, जया घिमिरे, इश्वरी पोखरेल, यसोदा अधिकारी, जयन्ति राई, सावित्री खतिवडा, गंगा डाँगी, नारायणी ढुंगाना, पवित्रा निरौला, नरकुमारी गुरुङ, जयमिला राई, संगिता रानामगर, रमिला राई, निर्मला पोखरेल जस्ता महिलाहरुको योगदान उल्लेखनीय रहेको पाइन्छ । पञ्चायत विरुद्धको यो आन्दोलनमा नेपाली महिलाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो योगदान पुर्याएका थिए । विशेष गरी काठमाण्डौबाट अपहरण गरी पोखरा पुर्याएर बलत्कार पछि हत्या गरिएका नमिता, सुस्मिताको घटनापछि  चेलिवेटी वेचविखन, बाल विवाह, वहुविवाह, दाइजो, जस्ता महिलाहरुमाथि हुने हिंसाको विरुद्धमा महिलाहरु उठ्न थाले ।

 

यी सबै कुरा हुनको निमित्त पञ्चायती व्यवस्थाको अन्त्य हुनु जरुरी छ भन्दै उनीहरु पञ्चायती विरुद्धको आन्दोलनमा लागेका थिए । २०४६ सालको जनआन्दोलनमा जनपुरको संघर्षमा जानकीदेवी, भुवनेश्वरी र सोनावती यादव सहिद भए । काठमाण्डौकी एघार वर्षिया रेखा रिजाल, एकासि वर्षकी अन्नापूर्णा अर्जेल्नी समेतको गालीहानी हत्या गरिएको थियो । यसै गरी पाटनमा ज्ञानीशोभा वज्राचार्यले विरगती प्राप्त गरिन् ।
यसपछिको माओवादीको २०५२ देखि २०६३ समको १० वर्षे शसस्त्र युद्धमा पनि थुप्रै महिलाहरु सहिद भए । थुप्रैले महिलाहरुले महिलाहरुमाथि भएको दमन र शोषणको विरुद्ध महिला मुक्तिको निमित्त भनेर पहिलो पटक वन्दुक उठाए । महिलाहरुले छोयो भने वन्दुक पड्किदैन त्यसैले छुन हुदैन भन्ने हाम्रो संस्कारलाई चुनौति दिदै थुप्रै मोर्चाहरुको नेतृत्व महिलाहरुले गरेको पाइन्छ । तत्कालिन माओवादीको सेनामा ४० प्रतिशत महिलाहरुको संख्या हुनुले यो विद्रोहमा महिलाहरुको सहभागितालाई आँकलन गर्न सकिन्छ । यसै गरी ६२/६३ को जनआन्दोलनमा विश्व नै चकित हुने गरी महिलाहरुको सहभागिता भयो । यो आन्दोलनमा सेतु वि.क र ………. २ जना महिलाहरु सहिद भए । थुप्रै महिलाहरु घाइते भए । काखमा बच्चा च्यापेर १९ दिन सम्म नै महिलाहरु सडकमा ओरलिए ।
इतिहासका यी विभिन्न कालखण्डमा यी साहासी महिलाहरुले पुर्याएको योगदान असाध्यै महत्वपूर्ण छ । हामीले यी इतिहासलाई विर्सेका छौं । इतिहास कोर्नेहरुले पनि पुरुषहरुका इतिहास कोरेका छन् तर अब यी साहासी महिलाहरुको इतिहास खोजिनु पर्छ कोरिनु पर्छ र उनीहरुको साहासको, उनीहरुको योगदानको कदर हुनुपर्छ । अनिमात्रै हामीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको सार्थक हुन्छ हैन भने श्राद्ध गर्दा विरालो वाध्ने जस्तै हरेक वर्ष मनाउनका लागि अभियान मनाउने मात्रै हुन्छ ।

About The Author

Loading...