Sat. Jul 27th, 2024

ग्रामीण विकासमा ‘घलेगाउँ’

 

Lucky Chaudhary
लक्की चौधरी
परिचय :
पश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गतको गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लाको उत्तरकन्या गा.वि.स. –१, को घलेगाउँ समुद्र सतहबाट २१ सय मिटर उचाईमा छ । काठमाडौंबाट १ सय ७५ किलोमिटर र तनहुँको डुम्रेबाट ४२ कि.मी., सदरमुकाम बेसीशहरबाट २७ कि.मी. पश्चिम–उत्तर दूरीमा अवस्थित सार्क राष्ट्र पर्यटकीय गाउँ हो ‘घलेगाउँ’ । १ सय १५ घरधुरी रहेको घलेगाउँमा एकघर बाहून, २४ घर दलित र बाँकी सबै गुरुङ छन् । वि.सं. २०५७ सालदेखि यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे गाउँकोरुपमा स्थापना गरिएको हो । घलेगाउँबाट माछापुच्छे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

 
करिब असीजति घरमा पाहुना राख्ने आवश्यक पूर्वाधारको विकास गरिएको छ । दुईदेखि आठ जनासम्मलाई एउटै घरमा बास गराउने व्यवस्था मिलाइएको छ । एकरातमा करिब ३ सय पाहुनालाई घलेगाउँले खुवाउन र सुताउने क्षमता राख्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सातसय वर्ष पुरानो मानिन्छ । लमजुङको सदरमुकाम वेसीशहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे तीन घण्टामा घलेगाउँ पुगिन्छ । परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्गा लगायतको नाचले स्वागत गरिने सो गाउँ वरिपरि नमूना चियाबगान, भेडीगोठ, भ्यूटावर, उत्तरकन्या मन्दिर, पिकनिक पार्क त्यहाँ अवलोकन गर्ने आकर्षक स्थान हुन् ।

 
स्वागतको शैली :
गाउँमा नयाँ आगन्तुकको पाइला पर्न पाएको हुँदैन । स्वागतका लागि महिला, बालबालिका तथा पुरुषको नृत्यटोली टुप्लुक्क अगाडि आइपुग्छ । टीका, फूलमाला पहि¥याएर गुरुङ संस्कृति झल्किने नृत्यको स्वागतले यात्रामा थाकेको मन हलुङ्गो हुन्छ । स्थानीय भाषामा ‘पा’ भनिने लोकल रक्सी सगुनकोरुपमा खानदिने चलन छ । पुरुषभन्दा महिलाको आत्मीयता अझ बढी । घलेनी, गुरुङ्सेनीको मुस्कानसहितको शब्दस्वागत्ले पर्यटकलाई मोहित पार्छ । स्वागतकै क्रममा एकछिनमा दुईचार वटा रसिला गालाभएका युवती आइपुग्छन् । उनका अभिभावकले नयाँ आगन्तुकलाई सचेत पार्छन् । ‘हाम्रा चेलीसँग फोटो खिचेर लग्नुस् तर चेली नै नलग्नुस् ।’ ठट्यौलीपाराका त्यस्ता आग्रहरुपी शब्दले आगन्तुकबीच एकछिनका लागि  भएपनि हाँसो गुञ्जिन्छ । महिला, पुरुष र युवतीका फरक–फरक नृत्य प्रस्तुत हुन्छ । आधा एक घण्टाजति सो नृत्यले पर्यटकलाई मनोरन्जन दिएपछि बासकालागि कोठामा लगिन्छ ।

 
हरेक घरमा दुईदेखि पाँच–सातजनासम्म संगै बस्नसक्ने बेडरुमको व्यवस्था मिलाइएको छ । नृत्यस्थलबाटै घरबेटीले पर्यटकलाई आफूसँगै बासस्थानसम्म लग्छन् । कोठामा पु¥याएर स्थानीय खानाका परिकारले स्वागत गरिन्छ । अर्डरअनुसारको परिकारको स्वाद आफ्नै घरमा खाएको अनुभूति हुन्छ । परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैंचामा पलेटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चै रमाइलो अनुभूति हुन्छ । अंगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र बातमार्दै त्यसको स्वादले कस्को मन आनन्दित नहोला । स्थानीय मस्र्याङ्दी नदीको माछा, भेडीगोठका भेडा, च्याङ्ग्रा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, कोदोको घरैमा उत्पादित रक्सीको स्वाद्ले पाहुनाको मन हलुङ्गो हुन्छ । करिब चारघण्टे मोटरको उकालोबाटो छिचोलेर घलेगाउँ पुग्ने पाहुनाको मन निकै थकित हुन्छ । सो थकान छिनभरमै मेटाउने घलेगाउँबासीसँग अजिवको बुटी छ ।

 
स्थानीय उत्पादनको व्यापार :
घरमै पालेका भेडा, च्याङ्ग्रा, लोकल कुखुरा, खसी, हाँसको मासु त छँदैछ । घर–घरमै माहुरीको घार छ । सो घारबाट तत्कालै निकालिएका ताजा महको स्वाद् । अंगेना वरिपरि बसाएर स्थानीय मह औलाले चाट्ने काइदा अझ गजबको । हिमश्रृङ्खलाको काखैमा अवस्थित घलेगाउँमा चिसो हुनेहुनाले दाउराको अंगेना वरिपरि पाहुनालाई बसाएर बातमार्ने पारिवारिक वातावरणले मन औधी रमाउँछ । घरमै पालेका लोकलकुखुरा र भेडाको व्यापार अधिक छ । ताजा महको व्यापार अझ राम्रो छ । पाहुनाहरुले मनभरको स्वादलिने र आवश्यक लाग्दा किनेर घर लानमिल्ने प्रबन्ध छ । शहरबजारमा चिनी मिसिएको नक्कली महको स्वादले धित नमरेका पाहुनाले सो अवसरलाई कसरी गुम्न दिन्थे र ! दुईचार किला एउटै पाहुनाले खरिद गरिदिनाले राम्रो आम्दानी हुन्छ ।

 
गाउँमै बसेर मासिक ४० देखि ५० हजार रुपैयाँ आम्दानी गर्ने घलेगाउँका बासिन्दा आर्थिकरुपले तङ्ग्रिदै गएका छन् । शुरुमा होमस्टेको प्रचारप्रसारको कमीले छिटपुट आन्तरिक पर्यटकलेमात्र खर्चको जोहो नचल्दा गाउँलेलाई चिन्तित बनाएको थियो । प्रचारप्रसारपछि घलेगाउँ अहिले देशविदेशमा परिचित भएको छ । आन्तरिकदेखि बाह्य गरी दैनिक करिब दुईसय पचासदेखि तीनसयसम्म पर्यटक घलेगाउँ पुग्ने गर्छन् । सो मध्ये ३० प्रतिशत विदेशी पाहुना आउने गरेको गाउँलेको भनाई छ । गाउँको छेउमै डाँडामा पार्क निर्माणपछि त स्थानीयको रमाइलो पिकनिक स्पट बनेको छ ।

 
बाटोघाटोको समस्या भएपनि तुलनात्मकरुपमा बाटोको सुधार गरिएको छ । वर्षायाममा बाटो विग्रेर असार र साउन दुई महिना पर्यटक शुन्य रहने सो गाउँका अगुवा प्रेम घले बताउँछन् । होमस्टे शुरु भएदेखि गाउँलेहरुलाई बालबच्चाको शिक्षादिक्षामा कुनै कठिनाई नभएको उनको बुझाई छ ।

 
आकर्षक सरसफाई :
चारैतिर बाटोले घेरिएको थुम्कोमा घलेगाउँ अवस्थित छ । गाउँलेहरु एकाविहान उठेर सामुहिकरुपमा बाटेघाटोमा झाडुलिएर सरसफाईमा जुट्छन् । पाहुनाहरु सुतेकै अवस्थामा सरसफाई सकिसक्छन् गाउँलेले । चिसोकाकारण प्रायः पाहुनाहरु विहान छ बजेतिर उठेर प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्छन् । त्यतिबेलासम्म गाउँलेहरु सरसफाई सक्काइसक्छन् । आफ्नो घरको सरसफाई पाँचबजे विहानै उठेर गर्छन् । पाहुनाहरुका लागि घरघरमै पक्की शौचालय र बाथरुम स्थापना गरिएका छन् । खानेपानीको धारा जडान छन् । पाहुनालाई तातो र चिसो पानीको प्रबन्ध आवश्यकताअनुसार मिलाइन्छ । ढुंगाको गराले बनेका घरहरुको छानामा टिनर सिलेट प्रयोग गरिएका छन् । निकै आकर्षक शैलीमा निर्माण गरिएका स–साना घरहरु छन् । घरको कोठाहरुमा काठको बार बनाएर बेडरुमहरु छुट्याइएका छन् ।

 
काठमाडौंका पाँचतारे होटलकाजस्तो चिटिक्कपरेका बेडरुम । सरसफाईमा एकदम ध्यान दिइएको छ । हरेकदिन पाहुनाले सुतेको कपडाहरु धोएर सुकाउने गरिन्छ । घरघरमा बत्तीको व्यवस्था मिलाइएको छ । फोनको राम्रो प्रबन्ध भएपनि वाइफाईको त्यति प्रबन्ध भने हुनसकेको छैन । त्यसको प्रबन्ध मिलाउने तयारी भइरहेको गाउँलेहरु बताउँछन् । पाहुनाहरु विहान उठेर मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकनपछि कोठामा आउँदा कोदोको सेल, तातो कफी, घरमै उत्पादन गरिएका काउली, आलु, बोडी, रायो आदिको तरकारी, अण्डा लगायतको परिकारको स्वागत गरिरहेको हुन्छ । सेलरोटीलाई त्यहाँ ‘स्यालरोटी’ भन्ने गरिन्छ ।

 
मनमोहक प्राकृतिक दृश्य :
निकै उचाईमा हिमश्रृङ्खलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । लाग्छ, प्रत्यक्ष हिमाललाई स्पर्श गरिरहेका छौं । नजिकका झाडीमा चिरविर चराहरुको चिरविराहटले त झन प्रकृतिसँग लुटपुटिएको अभास हुन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिँरा खोल्साखोल्सीहरु । हरिया चियाबगान, भ्यूटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ । माछापुच्छ«े, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमश्रङ्खलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरु विहानभरी क्यामेरा, मोबोइल, आइफोनमा आफ्ना तस्विर कैद गरेरै विताउँछन् । गाउँ नजिकै डाडाँमा भ्यूटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सुर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । गाउँबाट हेर्दा चारैतिर देखिने मानववस्तीहरु र साँझको अँधेरीमा देखिने झिलमिल उपत्यका र नागबेली हुँदै बगेको मस्र्याङ्दी नदीको दृश्यले सबैलाई लोभ्याउँछ ।

 
शहरी कोलाहल, धुलोधुँवाले उकुसमुकुस भएका पाहुनालाई घलेगाउँको शीतलताले सञ्जीवनी दिएको आभास हुन्छ । ग्रामीण पर्यटकीयस्थलको रुपमा सार्क राष्ट्रमै परिचित घलेगाउँलाई हनिमुन भिलेजको रुपमा स्थापित गर्ने तयारी गाउँलेहरुले गरेका छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका संयोजक प्रेम घले भन्नुहुन्छ “विदेशी जोडीहरु त आउने गरेका छन्, स्वदेशी जोडी जति आउनु पर्ने हो अझै आएका छैनन् ।” बाटोघाटोको सुगमता नभएर समस्या परेको बुझाई घलेको छ । घलेगाउँमा हनिमुन जोडीलाई स्वागतको राम्रो प्रबन्ध मिलाइएको उहाँको भनाई छ ।

 
बाटोको असुगमता :
लमजुङको सदरमुकाम बेसीशहरबाट घलेगाउँ पुग्ने तीनवटा कच्ची बाटा छन् । बेसीसहरबाट बाग्लुङ्पानी हुँदै घलेगाउँ पुग्न सकिन्छ । त्यस्तै, खुदी सिम्पानी भलाम्चौर र खुदी घनपोखरा हुँदैको बाटोबाट घलेगाउँ पुगिन्छ । मोटर र स्थानीय साना बसहरु रिजर्भ गरेर घलेगाउँ पुग्न सकिन्छ । पैडल हिडे करिब छ घण्टा लाग्ने गाउँलेहरु बताउँछन् । बेसशहरबाट उक्लिँदा उकालोमात्रै पर्नेहुनाले बढीसमय लाग्ने र झर्दा तुलनात्मक कम समय लग्ने गाउँलेको भनाई छ । पदयात्रा गर्दा बाटाभरी झरना र छहरा भेटिन्छन् । वरिपरि सेरोफेरोको हरिया जंगल, त्यसले घेरिएका गाउँबस्ती, बाटाका वरिपरि फुलेका राता लालीगुँरासले त झन पदयात्रा सहज पार्ने गरेको छ ।

 
घलेगाउँ पुग्ने बाटो सबैभन्दा त्यहाँको चुनौतिको विषय छ । बाटोको सही निर्माण हुन सके सो क्षेत्रलाई पर्यटकीयजोनकोरुपमा स्थापित गर्न सकिन्छ। ग्रामीणस्तरबाट शुरु गरिएका यस्ता हामष्टे निर्माणले एकातिर गाउँलेको आर्थिक अवस्थामा सुधार भएको छ भने अर्कोतर्फ देशको प्राकृतिक सौन्दर्य देश विदेशमा परिचित भइरहेको छ । सरकारी तवरबाट पक्की सडक, खानेपानी, विजुलीबत्तीको राम्रो प्रबन्ध हुने हो भने सार्कमा मात्रै होइन, घलेगाउँ विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्य सावित हुन्छ ।

 
यूवाविहिन गाउँ :
घलेगाउँ जति चिरपरिचित भएर स्थानीयरुपमा राम्रो आम्दानी गर्ने गाउँ भएपनि सो गाउँमा युवा टिकेका छैनन् । गाउँमा बुढाबुढी र बालबालिकामात्रै छन् । युवाहरु सबै अरव राष्ट्रतिर कोही पढ्न भन्दै गएका छन् त कोही काम गर्न । उसैपनि गुरुङहरुको पुख्र्यौैलीदेखिको पेशा लाहुरे नै हो । सोही पेसाकाकारण युवाहरु विदेशीने गरेको बुझाई स्थानीय बेल्सन गुरुङको छ । मासिक पचासहजार रुपियाँसम्म एउटै घरले कमाइरहेका बेला युवाहरु विदेशिनुलाई राम्रो मान्न सकिदैन ।

 
युवाहरु विदेशीयपछि एकातिर स्थानीय विकासमा उनीहरुको श्रम पर्न सकेन भने अर्कोतर्फ पाहुनालाई देखाइने सांस्कृतिक नाचबाट युवाहरु बञ्चित भइरहेका छन् । भोलिका दिनमा सो संस्कृतिको अंगीकार युवाले नगर्ने हो भने गुरुङ् संस्कृति नै संकटमा पर्नसक्छ । त्यसैले युवाहरुलाई गाउँकै विकासमा लगाउन पहलकद्मी लिन गाउँले नै सक्रिय हुनुपर्छ ।

About The Author

Loading...