आजभोली हाम्रो समाजमा वैदेशिक रोजगार रोजगारको आर्कषणको विषय बनेको छ । त्यसमा पनि निम्न मध्यम वर्गका यूवाहरु त झन विदेशमा नै जाने लहर चलेको छ । नेपालको एअरपोर्टको बाटो हुदै दैनिक लगभग १५०० जना यूवाहरु नेपालको विमानस्थलको बाटो प्रयोग गरेर विदेशिने गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङ बाट दिनहुँ सरदर ५० देखि ८० जना सम्मले पासपोर्ट लिनका लागि आवेदन बुझाउन आउने गरेको छन् ।
गाउँघरमा यूवाहरु विदेश जाने, पैसा पठाउने उनीहरुको परिवार शहरमा झरेर बालबच्चा पढाउने कसै कसैले घर वनाएका जग्गा किनेको सम्म सुने पश्चात गाउँमै बस्ने यूवाको मनमा पनि मन विदेशिन थाल्दछ । एकातिर गाउँघरमाका सबैले के गरेर बसेको भन्दछन् । अर्कोतिर विदेशमा रहने साथीभाईको जस्तै पैसा कमाएको, रमझम गरेको देखेर स्वदेशमा आफ्नो दुख गरी खानेहरुको मन विदेशमा नै बहकिन थाल्छ । ठूलो प्लेन चढेको पैसा टन्न कमाएका, शहरमा घडेरी किन्ने घर बनाउने जस्ता दिवा स्वप्ना देखेका हुन्छन् । परिवारका खुसी, कामको ग्यारेन्टि धेरै धन कमाउने सपना बोकेर यूवाहरु घर छोड्छन् । उमेर पुगेका यूवाहरुको घरमै एजेन्टले विदेश जानका लागि भनिरहेका पनि हुन्छन् ।
वैदेशिक रोजगारमा जानका लागि सबैभन्दा बढि विश्वासको पात्र भनेको नै पहिलो एजेन्ट हुन्छ । एजेन्टको भरमा नै पासपोर्ट बनाउने, म्यानपावर सम्म जाने जे जे भन्यो त्यहि गर्ने गर्दछन् । भिषा आईसक्यो भनेपछि उनीहरु गाउँमा महंगो व्याजमा ऋण खोज्ने हतारमा हुन्छन । जव भिषा आयो भनेर एजेन्टले पैसा माग्छन् विश्वासमा परी जति भन्यो त्यति नै पैसा वुझाएर विदेश जान तयार हुन्छन् । भिषा आउनु नै ठूलो कुरा हो अरु प्रकृयाको कुनै पनि विश्वास गर्दैनन् । जसरी पनि विदेश जानु र पैसा कमाउनु मात्र देखेका हुन्छन् । जव विदेशमा पुगेर वास्तविकता थाहा हुन्छ ।
विदेशमा काम गर्न जादैमा सबैको राम्रो हुन्छ भन्ने छैन । आज दैनि रुपमा तीन जना जस्तो मृत शरीर नेपालमा आउने गर्दछ । कति पय विदेशबाट कहाँ गए थाहा छैन । कति को त भनेको काम नपाएर अर्कै काम गर्न वाध्य छन् कति दुर्घटनामा परेर स्वदेश फर्कन सकेका छैनन् । यि धेरै समस्या हुँदा हुँदै पनि विदेश जानेको संख्यामा कुनै कमी आउन सकेको छैन । बैदेशिक रोजगारमा जादा घरबाट निस्केदेखि धेरै पटक ठगिने, वेचिएका हुन्छन तर आफैलाई थाहा हुदैन ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउनको लागि सुचीकृत म्यानपावर कम्पनी, सुचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परिक्षण गरेर जाने, आधारीकारीक एजेन्ट मार्फत जानु,राज्यले खुल्ला गरेको देशमा मात्र जाने, पैसा र पासपोर्ट बुझाएको भरपाई लिनु , जाने देशको भाषा, संस्कृति बुझेर जाने, नेपाली र अग्रेजी भाषमा भएको दुवैे संम्झौता पत्र राम्रोसँग पढेर आफू के कामको लागि जान लागेको हो, खान वस्ने सुविधा, बुझेर मात्र जाने श्रम स्वीकृत भए नभएको बुझेर मात्र रोजगारका लागि जानु पर्ने हुन्छ । श्रम स्वकृति भएपछि मोवाईलको म्यासेज वक्समा गएर एए टाईप गरी एक स्पेस छोडी पासपोर्ट नं टाईप गरी ४००१ मा पठाएमा कुन म्यानपावरबाट जान लागेको हो ? कति रकम तिरेको हो, तलव कति छ । कुन कम्पनीमा काम गर्न जान लागेको हो भनने कुरा सबै थाहा पाउन सकिन्छ ।
यसबाट आफू ठगिनबाट बच्न सकिन्छ । केही थाहा नपाईकन जाँदा धेरै ठाँउमा बेचिने र ठगिएका घटनाहरु प्रशस्त आउने गरेका छन् । कमाएको पैसा को राम्रो सदुपयोग नगर्दा धेरैको परिवारमा विखण्डन हुने अवस्था वढेको छ । सबै भन्दा पहिले वैदेशिक रोजगारमा जाने हरु आफै, रोजगारमा पठाउने एजेन्टहरु,, सरोकार राख्ने समाजका वुद्धिजिवी वर्गाहरु सबैको चासो को विषय बन्नु पर्दछ । किनकी काम गर्नका लागि जानेल कामदारलाई बेचनु भनेको मान वेचविखन नै हो । अन्जानमा काम गर्नका लागि पासपोर्ट वनाउने ठाँउ देखि विदेशमा काम गर्ने कम्पनी सम्म पटक पटक बेचिएर हिड्नु पर्ने अवस्था छ । यसले जुन सपना बुनेर वैदेशिक रोजगारमा गएका छन् त्यो भन्दा उल्टो भईरहेको छ । त्यस्ता यूवाहरु मानसिक, शारीरीक रुपमा ठगिएका छन् । यसको न्यूनिकरण गर्नु सबैको दायित्व हुन आउछ भने विदेश जानेहरुले पनि हतारमा भन्दा सोचेर जादा राम्रो हुन्छ ।