Sat. Jul 27th, 2024

वर्गीय प्रेमः यस्तो पो !

शिवप्रसाद ढुंगाना

shiba dhungana
‘नमस्ते सर !’
मलिन नारी आवाजले चिया पिउँदै गरेका एमाले केन्द्रिय सदस्य तथा ओखलढुंगा १ का निर्वाचित सभाषद् यज्ञराज सुनुवारको एकाग्रता तोडियो । चिया पिउन छोडेर उनले आवाजतिर नियाले । नमस्कार गर्ने ती युवती एकछिन् अघि अस्पतालको शैय्या छेउमा भलाकुसारी गरेकै व्यक्ति थिइन् ।

ओखलढुंगा सामुदायिक अस्पतालमा विरामीहरुसँग भेटघाट गरेर नजिकैको चिया पसलमा सभाषद् सुनुवारसित एमाले ओखलढुंगाका जिल्ला सदस्य नरेन्द्र श्रेष्ठ लगायतका साथीहरुसँगै चिया पिउन लागेका थियौं । भाउजुको कुरुवाको रुपमा सिन्धुलीको रातमाटाबाट आएकी ती युवती चिया पसलै पुगेर सभाषद् सुनुवारप्रति सम्मान दर्शाइन् ।

त्यसपछि सबैको ध्यान उनीतिर मोडियो । उनले त १० मिनेट पहिले नै हाम्रो टोलीलाई भेटेकी थिइन् । फेरि किन भेट्न पुगिन ? सबैले अचम्म मान्यौं । जिल्ला आएका बेला सभाषद् सुनुवार प्रायः अस्पताल पुगेर विरामीसँग भेटघाट गरिरहन्छन् । जिल्ला आउँदा उनको एउटा कार्यसूची नै हो यो ।

यही क्रममा एमाले जिल्ला कार्यालयमा भेट्नासाथ उनले मलाई प्रस्ताव राखिहाले ‘शिव सर, तपाईँ मसँग मिसन जाने ।’ मैले तुरुन्त स्वीकारेँ । साथमा थिए एमाले जिल्ला सदस्य श्रेष्ठ पनि । हामी पैदल यात्रा गर्दै ४५ मिनेटपछि अस्पताल पुगेका थियौं । सामुदायिक तहमा संचालित ‘मिसन’ भनेर चिनिने यो अस्पतालमा छिमेकी जिल्लाहरु उदयपुर, सिन्धुली, सोलुखुम्बु, खोटाङ लगायतका विरामी आउँछन् ।

अस्पतालका सबै जसो बेडमा पुगेर विरामीसँगको साक्षत्कारपछि चिया खान लाग्दाको घटना हो । युवतीको आवाज सुन्नासाथ सुनुवारले उनलाई सोधे– ‘तपाँइको घर कहाँ हो ? अस्पतालमा को विरामी हुनुहुन्छ ??’ जवाफमा उनले आफ्नो घर सिन्धुलीको रातमाटा भएको र भाउजुको शल्यक्रिया गरेकाले अस्पतालमा कुरुवा बसेको बताइन् । ‘भाउजुको अप्रेसन गरेको छ, चिया लिन आएकी ।’ उनले सटिक जवाफ दिइन् । उनी भाउजुलाई चिया लैजान आएकी रहिछन् ।

सभाषद् सुनुवारले विरामीहरुसँग भलाकुसारी र आराम विराम सोधेर बाहिरिएपछि उनले जानपहिचान गरेर एमाले सभाषद् भन्ने चिनिसकेकी रहिछन् । सुनुवारकोअस्पताल भ्रमणबारेको खबर उनले सिन्धुलीका एमाले सभाषद् गणेश पहाडीसँग समेत पु¥याउन भ्याएकी रहिछन् । र, उनी सभाषद् पहाडीका मतदाता पनि रहिछन् ।

त्यसपछि उनले भनिन्– ‘मैले गणेश दाइलाई ओखलढुंगाको सभाषद्लाई देखेँ भनेकी थिएँ, उहाँले चिनजान गर भन्नुभयो ।’ उनले अझै थपिन्– ‘आफ्नो पार्टीको मान्छे भेट्दा खुसी लाग्छ नि ।’  सुनुवारले उनलाई चिया पिउन आग्रह गरे । उनले पहिले विरामी भाउजुलाई खुवाउने कुरा गरिन् । चिया पसलेसँग दुई कप चिया मागेर सुनुवारले ती युवतीलाई विदा गरे ।

त्यसपछि एकछिन् गम्भीर भएर सुनुवारले हामीसँग भने– ‘हाम्रो पार्टीमा आजकल स्कूलिङ छैन, वर्गीय नाता भनेको त यस्तो पो ।’ मैले ती युवतीको नमा सोधिन् । तर उनको व्यवहारले मलाई पनि छोएको थियो । नेपाली कम्युनिष्ट आन्दोलन वर्गीयताबाट टाढिन लागिरहेको प्रति सभाषद् सुनुवार चिन्तित देखिए । उनले पार्टीभित्र वर्गीय नाता भन्दा अरु सम्बन्ध हावी हुँदै गएकोमा चिन्ता व्यक्त गरे । सभाषद् सुनुवारले चियाको पैसा तिरे । हामी चिया पिएर आ–आफ्ना गन्तव्यतिर लाग्यौँ ।

यो प्रसंग जोड्नुको तात्पर्य एमाले कार्यकर्ता र मतदातामा नेता र नेतृत्वप्रतिको विश्वास यतिधेरै छ । तर, नेताहरुले आफ्ना मतदाताप्रति वर्गीय नाता कति कायम राखेका छन् ? र, राख्ने छन् ?? प्रश्न गम्भीर खडा भएको छ । यही प्रश्नसँग एमालेको भविश्य पनि जोडिएको छ ।

About The Author

Loading...