Sat. Jul 27th, 2024

नेपाली जनता असफल र नालायक सिद्ध हुन तयार छैनन्

राजाराम शर्मा

पहिलो संविधान सभाको अन्ततिर पनि कुरा मिल्न लागेको भान भएको थियो, जुन यसपाली पनि भयो । त्यतिबेला प्रचण्डले राजनीतिक बेइमान गर्दै मैले सकिन अब जनजातीले आन्दोलन गर्नु पर्छ भनेर संविधान सभालाई निकम्मा बनाएर बिथोले । आज पनि त्यो दोहोरिन सक्ने सम्भाबना उत्तिकै छ । एमाओवादीले राष्ट्रिय राजनीतिको मूलधारमा रहिरहने हो भने आफ्नो हैसियत अनुसार राष्ट्र र राष्ट्रियताको पक्षमा आपसी छलफलमा देखिएको सहमतिकोे किरणलाई साथ दिन सक्नुपर्छ । यो पटक पनि सम्विधान बनेन भने प्रष्ट रुपमा एमाओवादीको विपक्षमा जनलहर जानेछ ।

कम्युनिष्टहरु मान्छेलाई अन्तर्राष्ट्रिय जाति मान्छन्, देशमा आफु मात्र सच्चा कम्युनिस्ट भएको दुहाइ दिने एमाओवादीले यदी जातियताको कुरालाई मानेको हो भने वर्ग संघर्ष चाहिं रद्धिको टोकरीमा फालेको हो ? यो प्रश्न अहिले नागरिकहरु गर्न थालेका छन् । मान्छेहरुलाई कित्ता–कित्तामा बाँडेर जातियता र छेत्रीयताको राजनितीमा कम्युनिष्टको भविष्य छ त ?

एमाओवादीले अहिले संविधान बनाउनका लागि जुन शक्तिहरुसंग मिलेर आन्दोलन गरिरहेको छ के यो सबैको एजेण्डा संविधानसभाबाट संविधान बनाउने नै हो त ? यता फेरी एमाओवादीले जारी गरेको चुनावी घोषणा पत्रको पृष्ठ ५० मा सहमति नभएका विवादहरुलाई प्रकृयाबाट दुइ तिहाइ मतबाट समाधान गरिनेछ भनेर लेखिएको छ । यसप्रति उनीहरु इमान्दार बन्न सके त ? दोश्रो संविधानसभाको निर्वाचनमा जनतासंथ मत माग्न जाँदा हामीलाई दुई तिहाइ दिनुस् संविधान दिन्छौं भनेका होइनन् । प्रक्रियाबाट दुई तिहाइले संविधान बन्ने भएपछि अहिले अरुको दुई तिहाइ हुँदा किन रडाको मच्चाउँछन् ।

अर्कोतिर जो मधेसका प्रतिनिधि भनेर अहिले एक मधेश एक प्रदेश भनिरहेका छन् उनिहरु मधेशमा भूमिसुधारको नाम सुन्न चाहदैनन् किनभने सबैभन्दा बढी जमिन उनिहरुको छ । जो भारतले सयौं ठाउँमा नेपाली भूमीमाथि गरेको अतिक्रमणको विरोधमा ‘चँ’ गरेको इतिहास छैन । यस्ता सामन्ती तथा शोसकहरुसंग एमाओवादिले घाँटी जोडेर आफ्नो कुन स्वार्थ पुरा गर्न खोजेको छ ? मोहन वैध संविधानसभाको अन्त्य गरेर गोलमेच चाहन्छन् भने अहिले उनिहरु समेत कुन आधारमा आन्दोलनको दायरामा छन् ? यसको पछाडि के छ ? नेपालमा जम्मा कती जातजाती छन् ? केही जातिलाई उनिहरुको जातियता झल्कने नाम दिदैमा उनिहरुमाथि भैरहेको असमानता उन्मुलन हुन्छ भन्ने वा उन्मुक्ति हुन्छ भन्ने कस्तो तर्क हो ? अहिले जसलाई न्युन संख्या भनिएको छ भोली ती साना–थोरै जनसंख्या भएका जातिका चेतना र जनसंख्या बढ्दै गएपछि उनीहरुले पनि आफ्नो जातीय राज्य र भाषा खोजेर बिद्रोह गरेर रगतको खोलो बगे को जिम्मेवार हुन्छ ?

बुभ्mन नसकिएको कुरा अर्को पनि छ, जस्तै प्रदेश तथा संख्याको कुरा । एमाओवादी मधेशका ठेकेदारसंग एक मधेश एक प्रदेश भनिरहेको छ । जब कि पहाडको भू–भाग र मधेशको भू–भाग झन्डै बराबरीको अनुपातमा छ, जातजातिको बसोबास समेत त्यतिकै फैलिएको छ भने मधेशलाई एक प्रदेश र पहाडलाई ७–८ टुक्रा बनाउनुको पछाडि के रहस्य छ ? आफुलाई लोकतन्त्र र संविधान सभाको संरक्षक ठान्ने , जनताको मतलाई अपमान गर्ने, आफुले जतिसुकै जनविरोधी, निन्दनीय कार्य गरेपनि त्यस्को दोष अरुमाथी थोपर्ने र पानी माथीको ओभानो बन्न खोज्ने ? सबै कुराहरुको निर्णायक जनता नै हुन् भने, अति को अन्त्यको निर्णायक पनि जनता नै हुनु पर्दछ । जनताका नाममा सबैथोक गर्ने छुट जनताले कसैलाई पनि दिनुहुदैन । आफुमाथि अन्याय, अत्याचार, हुकुमि र निरंकुशता लाद्न खोज्नेहरुको प्रतिबाद गर्नु पर्दैन ? कतिञ्जेल टुलुटुलु हेरेर बस्ने ?

हामी संविधानको जननी हौं भनेर जननीको जस लिन चाहानेहरुले जननीको अर्थ कहिलै बुझेनन् जस्तो लाग्छ । एउटी आमाले आफ्नो गर्भमा रहेको सन्तान राम्रो होस् भन्ने चाहन्छिन् तर राम्रो जन्मिने भएन भनेर गर्भ भित्रै मार्न सक्दिनन् । जस्तो भएपनि आफ्नो सन्तान जन्मिएको हेर्ने अभिलासा हुन्छ जननीमा । पछिल्लो घटनाक्रमलाई हेर्दा वास्तविकता त त्यो सन्तान नजन्मियोस भन्ने रहेको देखिन्छ । आमा सृष्टिकर्ता हुन् । सृष्टिकर्ता कहिल्यै पनि आफ्नो जन्मन लागेको सन्तानको बारेमा नकारात्मक अनुमान गरेर उसको हत्यातर्फ अग्रसर त के त्यसको बारेमा सोच्न पनि सक्दिनन् । आफ्ना केहि नीजि स्वार्थका लागि करोडौं जनतालाई र देशलाई धरापमा पार्न पाइन्न ।

संविधानसभाको औपचारिक बैठकमा तोडफोड भएको छ । शीर्ष नेताहरुमाथि प्रहार भएको छ । उत्तेजनात्मक ढंगले कामकारबाही भएका छन् । यो घटनालाई जति भत्र्सना गरे पनि पुग्दैन । एकीकृत नेकपा माओवादीले इतिहासमै एउटा महाभूल गरेको छ । नेपाली जनताको आशाको केन्द्र संविधान सभामा मध्यरातमा एमाओवादीका सभाषदले गरेका वितण्डाले आज हामी सम्पूर्ण नेपालीको शिर निहुरिएको छ । यसलाई सम्बन्धित पक्षले दुःखद रुपमा लिनुपर्छ । यसका लागि सम्बन्धित पक्षले जनतालाई आफ्नो कुरा भन्नुपर्छ । यो एकदमै बेठीक भएको छ । विपक्षीले संविधानसभामा गरेको गतिविधि ताण्डव नृत्य हो । अत्यन्त अलोकतान्त्रिक, अराजकतावादी तरिका हो । यसको मूल्यांकन जनताले गर्छन् । संविधान ल्याउन नचाहेको र नदिएको पनि हो । सहमति गर्न नदिने र प्रक्रिया पनि अघि बढ्न नदिएबाट संविधान आउन नदिने नियत हो भन्ने प्रष्ट भएको छ ।

देश विदेशका संचारमाध्यम र सामाजिक सञ्जालका लागि नेपालको संविधानसभा सनसनीपूर्ण खबर बनेर छाइरहेको छ । जनताको अभिमत कुल्चने र संविधानसभा भवनमा लज्जास्पद कार्य गर्ने यस्ता सभाषद र तिनका नेतृत्वलाई कुरीकुरी भन्ने बाहेक अरु अब केही बाँकी रहेन । अझ नेपाली राजनीतिको मियोका रुपमा देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, मोरङ क्षेत्र नम्बर १ का सभाषद ऋषि पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र मर्यादापालकहरुमाथि संविधानसभा भवनमै गरिएको आक्रमणको त जति खेद व्यक्त गरे पनि पुग्दैन ।

अघिल्लोपटक पनि सत्तामा रहेका बेला उहाँहरुले संविधानसभा विघटन गर्नुभयो । संविधानसभाबाट संविधान ल्याउने उहाँहरुको चाहना देखिदैन । एमाओवादी नेता बाबुराम भट्टराई सभापति रहेका संवाद समितिलाई ६ पटकसम्म समय दिंदा पनि अनेक छलकपट गरेर सहमति छाडेर समय लम्ब्याउने प्रपञ्च मात्र रच्नुभयो । यसमा स्पष्ट रुपमा उहाँमा माघ ८ कटाउने नियत देखियो । संविधानसभालाई सहमतिका नाममा बन्धक बनाउन मिल्दैन । अब संविधानसभाले आफ्नो प्रक्रिया अगाडि बढाउनु पर्छ । नेपाली जनता असफल र नालायक सिद्ध हुन तयार छैनन् ।

अन्तमा अहिलेको राजनीतिक माहोलमा सहि अडानको केन्द्रविन्दु ओली हुन भन्दा धेरैलाई नपच्ला तर यथार्थ यही नै हो । अन्तत ः यही अडानले एउटा मुर्त रुप लियो भने नेपाली राष्ट्रियतासंगै सबै नेपालीको जित हुनेछ । अब केहि मधेसी र जातियताको खेती गर्नेलाई नछोडे एमाओवादी पत्ता साफ हुने कुरा केही नेताले बुझेका छन् । सहमति भन्ने नाममा सहमति हुनै नसक्ने कुरामा जहिल्यै सुगा रटाई गर्नु भनेको संविधान नबनाउने मनशाय हो । आफ्नो स्वार्थ सिद्ध गर्न संविधान सभालाई बेकम्मा बनाउने अभिस्ट मात्र हो ?

About The Author

Loading...