Sat. Jul 27th, 2024

पर्यटन विकासको सम्भावना र चुनौति

 Rabindra tiwari 

रबिन्द्र तिवारी

प्राकृतिक सौन्दर्यको खानी नेपाल नेपालीको साझा फुलबारी हो । मनोरम हिमश्रृङ्खला, तालतलैया, हरिया वनजङ्गल, खोलानाला, हिमाल पहाड र तराइको संयुक्त अवस्थिति, नेपाल र नेपालीको गौरवशाली पहिचान बनेको छ । आफ्नो छुट्टै विरताको गाथा तथा इतिहास रहेको नेपाल पर्यटकिय दृष्टिकोणले अथाह स्रोत हो । चार जात छत्तिस वर्णको साझा फुलबारीको रुपमा चिनिने नेपालमा सबै जातजातीका समुदायको बेग्लाबेग्लै चालचलन र रितिरिवाज रहेको छ । हरेक समुदायमा विविधता भेटिनु यहाँको परिचय हो । यो विविधताबिच हरेक नेपालीहरु एक अर्कासँग परस्पर सम्बन्धमा रहेका छन् । जातिय, साँस्कृतिक , भाषिक, धार्मिक लगायतका विविधतामा रहेको नेपालमा  एक अर्काको चाडपर्व र रितिरिवाजमा अर्को समुदायले खुलेर सहभागीता जनाउँदै खुसी साटासाट गर्ने चलन नेपालीहरुबिच रहेको छ । त्यसकारण हामी विविधतामा एकताको पाठ विश्वसामु खुलेर सिकाउन सकिरहेका छौं ।

लोकप्रिय र विश्वचर्चित खेलहरु जस्तै बन्जिजम्प,¥याफ्टिङ, प्याराग्लाइडिङ, हात्तिपोलोको लागी नेपाल अति उपयुक्त र सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक बनावट तथा संरचनामा नरमाउने पर्यटक बिरलै होलान् । सगरमाथाको देश नेपाल एकपटक टेक्नकै लागी समेत पर्यटकहरु लालायित रहेको पाइन्छ । अन्य युरोपियन मुलुकहरुको तुलनामा नेपाल प्राकृतिक छटाले भरिपुर्ण स्वर्गको टुक्रासरह मान्न सकिन्छ । नेपालका हरेक वस्तुहरुमा प्राकृतिकपन भेट्न सकिन्छ । प्रकृतिप्रेमीहरुका लागी नेपाल वरदानसिद्ध छ । पुरातात्विक हिसाबले होस् या आधुनिकिकरणको नयाँ खाकाको परिकल्पनाका लागी, नेपाल एक अध्ययनभूमी बन्न सक्दछ । विकासको प्रचुर सम्भावनाको नमुना देश नेपाल, पर्यटकिय आधारमा जति व्याख्या गरेतापनि कम नै हुन्छ ।

अतिथि देवो भवःको भावना आम नेपालीमन र पनमा पाइन्छ । यो पनले विदेशी मनलाई निकै आकर्षित गर्ने गरेको छ । यति मात्र नभइ नेपाली कला, सँस्कृति, रितिरिवाज लगातयका साथै नेपाली जीवनशैली पर्यटकहरुका लागी निकै चाख लाग्ने गर्दछ । जसमध्ये नेपालीहरुको पारिवारीक जीवनपद्धतिबाट आज विकसित मानिने मुलुकका नागरिकहरु अत्यन्त प्रभावित छन् । हुर्केबढेपछि सन्तान बाबुआमासँग नरहने र वृद्ध अवस्थामा पारिवारीक जीवनको कुनै कल्पना नगरीने उक्त ठाउँहरुका लागी नेपालीपन वास्तवमै सरस र सुखद् लाग्ने गरेको धारणाहरु प्रायः पर्यटकहरुबाट सुन्न पाइन्छ, जुन नेपालीहरुको गर्वको विषय र आफ्नो मौलिक पहिचान हो ।

प्रकृतिको स्पर्शका लागी लालायित पर्यटकिय मनहरुले सम्झिने नेपाल आज आफ्नै आन्तरिक समस्याबाट गुज्रिरहेको छ । जसको प्रत्यक्ष असर पर्यटन विकासमा परिरहेको छ । राजनितिको सहि निकासको अभावमा देश ग्रसित हँुदा बढेको समस्याका कारण पर्यटकहरु नेपाल आउन डराइरहेका छन् , जसका कारण नेपालको पूँजी बजारमा ठुलो नोक्सानी भइरहेको छ । एकातिर पर्यटन प्रबद्र्धनका लागी कुनै ठोस पहलकदमी नहुनु एउटा चुनौति छँदैछ भने अर्कातिर भएका नीतिनियमको पनि सहिरुपमा कार्यान्वयन गराउन नसक्नु अर्काे चुनौति छ । यसका अलावा नेपालको अहिलेको स्थितिले पर्यटकहरु नेपाल आउनका लागी त्रसित छन् ।

विभिन्न बहानामा भइरहने बन्द,हड्तालले नेपाललाई हरेक कोणबाट घाटा मात्र भइरहेको छ । अझ अहिलेको अस्थिर राजनितिका कारण उत्पन्न अस्वभाविक परिस्थितिले नेपालको धज्जी उडेको छ । देशको उच्च ओहोदाको मर्म नबुझेको व्यवहार प्रदर्शनले नेपाल र नेपाली विश्वसामु नतमस्तक बन्न बाध्य भएका छन् । यसले नेपालको पर्यटन विकासमा निकै नराम्रो झड्का दिएको छ । तसर्थ यि र यस्ता अस्वभाविक क्रियाकलाप तत्काल नरोकिने हो भने पर्यटन विकास मात्र नभइ नेपालको भविष्य नै धरापमा पर्नेमा कुनै शंका छैन ।

About The Author

Loading...