Sun. Sep 8th, 2024

होलीलाई मर्यादित बनाऔं

संगीता रेग्मी

Sangita

मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दूधर्माबलम्बी तथा त्यो संस्कृतिसँग नजिक रूपमा रही सम्बन्ध निर्माण गरेको अन्य समुदाय पनि होली तदनुरूप मनाउने गर्छन् । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट देखिन्छ । होली निसन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक अर्कोसँग अंकमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग अविर लगाई सद्भावको साटासाट गरिन्छ ।

नेपालमा होली पर्व दुईदिनसम्म महत्वका साथ मनाउने गरिन्छ । पहाडी जिल्लामा अघिल्लो दिन र तराईमा भोलिपल्ट यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेशमा ‘फगुवा’ भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइहरूका बीचमा अबिरको टिका लगाएर एक–अर्काबीच सुखद् पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनि शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्व र सन्देश रहेको छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मिठो चोखो खाएर पनि एकअर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं । यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समय यता होलीपर्व विकृतिका रूपमा देखापरेको छ ।

होली पर्वलाई एकातिर महिलाहरूको संवेदनशील अंग छोएर आनन्द लिने दिनका रूपमा विकसित गरिएको छ, भने अर्कोतर्फ जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि यो कुरा पूर्णरूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौं । यही रवैयाबाट होली पर्वलाई प्रयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा यसलाई बन्देज लगाउनेसम्मको कार्य गर्न बाध्य हुनेछ भन्नेमा शंका छैन ।

सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्यहरू रहेका हुन्छन् । तर, समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौं । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौं भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ । यतिबेलाको समय संक्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा पनि यी कार्यहरू नहुन भनेर सजगता अपनाउन वेश हुन्छ । होली पर्व सद्भाव र भातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ ।

सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्यादितरूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई बिकृत हुनबाट रोक्नका लागि हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढंगबाट अगाडि बढाउन जरूरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ ।

About The Author