Sat. Jul 27th, 2024

अपराध एउटाको सजायँ अर्कैलाई ????

राधिका सापकोटा

radhika sapkota
“मेरो पहिचान नै वलत्कार भएको केटी भन्ने वनेको छ । मलाई स्कुलमा सबैले त्यस्तो भन्छन् मलाई नराम्रो लाग्छ । स्कुल जान पनि मन लाग्दैन । ” आफु ७ वर्षको हुँदा वलत्कार भएको एकजना बहिनीको पीडा हो यो । जसलाई घटना भएको वेला आफुमाथि के भएको भन्ने समेत थाहा थिएन । तर अहिले उनी १४ वर्षकी भइन् । वुझ्ने भएकी छिन् । अहिले उनलाई सबैले यस्तो भन्दा नराम्रो लाग्छ । पीडकका आफन्तहरुले भाउजु भन्ने काकी भन्ने फलानोको श्रीमती भन्ने शब्द प्रयोग गर्छन् जसले उनलाई सबै भन्दा वढि पीडा हुन्छ । आफुमाथि भएको घटनाको जानकारी सम्म नभएकी ति अवोध वालिकाका लागि यो सब सहन त्यो वलत्कारको पीडा सहन भन्दा गाह्रो भएको छ । उनी त्यत्तिवेला हैन अहिले पटक पटक वलत्कृत भएको महसुस गरिरहेकी छिन् । पीडा वोध गरिरहेकी छिन् ।

यस्तै पीडा वोकेकी छिन् एक बालिकाले । ६ वर्षको उमेरमा जबरजस्ती करणीको घटनाको शिकार भएकी एकजना नानीको बाबु त्यत्तिवेला वेइजत भएको ठानेर घर छोडेर हिडेका अहिले सम्म पनि घर फर्केर आएका छैनन् । छोरीलाई बलत्कार भएपछि माइतीले आउने जाने बन्द गरेका छन् । ७ वर्ष देखि आमा माइत गएकी छैनन् । गाउँलेले मेलापात वोलाउन छोडे । उनलाई थाहा छैन उनको गल्ति के हो । जसले अपराध गर्यो, ऊसले ती सबै अपमान सहनु परेको छैन । जेलमा छ मज्जाले पैसा कमाएर घर पठाउँछ तर एकजना पीडितको परिवार गाउँमा वस्न नसक्ने र विस्तापीत हुने अवस्थामा पुगेको छ ।

आफुमाथि बलत्कार भएको घटनामा मुद्धा दर्ता गरेकै कारण एकजना महिलालाई यतिवेला खाइरहेको जागिरबाट निकालिएको छ । घरमा ढुँङ्गामुढा गर्ने, हातमा खुकुरी लिएर मार्ने प्रयास गर्ने काम भैरहेको छ । उनलाई कूलपुजामा समेत सहभागि गराईएन । यो सबैको कारण उनले आफुमाथि भएको अपराध विरुद्ध कानुनी बाटो रोजिन । दुई वटा साना नानीहरु र ८४ वर्षिया बूढी सासु लिएर ती एकल महिला अब गाउँबाट विस्थापित हुने अवस्थामा पुगेकी छिन् ।
आफुमाथि घटना भएपछि उनले केही समयपछि विवाह गरिन् तर त्यो घटनाको वारेमा परिवारले थाहा पायो भने वा श्रीमानले थाहा पायो भने छोडिदिन्छ भन्ने डरले उनी माइत आउँदिनन् । आफ्नो आमाबाबुलाई भेट्न पर्दा वाटोमा वोलाएर भेट्छिन् । उनलाई सधै जीवनमा यहि चिन्ता छ की परिवारले यो घटना थाहा पाउने हो की भन्ने  अर्की एक किशोरी जसले ४ वर्ष देखि मानसिक रोगको औषधी लगातार सेवन गरिरहेकी छिन् । घटना पछि उनलाई मानसिक समस्या भयो । उनले औषधी नखाएको वेला केही सोच्नै सक्दिनन् । उनलाई त्यहि घटना याद आउँछ । तर अहिले उनको परिवारलाई औषधी खुवाउनका लागि आर्थिक समस्या भएको छ ।

९ जना बलात्कारको शिकार भएका वालिकाहरुमा गरिएको अध्ययनमा ९ जना मध्ये ५ जना जबरजस्ती करणीका पीडितहरु घर, समाज देखि विस्तापीत भएर वाहिर वसेका छन् । जो घरमा वसेका छन् उनीहरुको पीडा यस्तो खालको छ । अझै पनि हाम्रो समाजमा धेरै जसो यस्ता घटनाहरु समाजमा नै गुपचुप गर्ने गरिन्छ । वाहिर ल्याउने र प्रहरीमा उजुरी गर्ने गरिदैन । कतिकेसहरु समुदायमा नै मिलापत्र गर्ने गरिन्छ भने भएका घटनाहरुमा थोरै मात्र घटनाहरु न्यायिक प्रकृयामा आउने गरेका छन् । जब पीडितले न्ययाका लागि उजुरी गर्छन् त्यसपछि ऊमाथि विभिन्न खालका धक्किहरु आउन थाल्छन् । पीडित त्यो घटनामा अदालते प्रमाणित गर्नका लागि एउटा साझी वन्छ तर त्यो भन्दा पछाडी उसको अवस्थाको वारेमा न कसैले खोजि गर्छ, न केही सहयोग गर्छ वाच्नका लागि । पीडकलाई सजायँ पछि पीडितले न्याय पायो भन्ने हाम्रो न्यायिक संरचनामा पीडितले झन धेरै पीडाको महसुस गर्नु परिरहेको छ ।

यो सामाजिक संरचनामा बलत्कार गर्नेलाई भन्दा बलत्कृत हुनेलाई वहिष्कार गरिन्छ । घृणाको दृष्टिले हेरिन्छ । जसका कारण धेरै महिलाहरुले आफुमाथि भएको यस्ता अमानविय अपराधहरुलाई बाहिर ल्याउन चाहीरहेका छैनन । चुपचाप आफुभित्र लुकाएर बसिरहेको अवस्था छ । जसले यो अन्यायलाई बारिहर ल्याउन कोसिस गर्छन् उनीहरुका लागि थुप्रै कठिनाईहरु अगाडी आउँछन् । सबैभन्दा पहिला गाउँबाट यो मुद्धा प्रहरी सम्म आउनै लागि एउटा संघर्ष गर्नुपर्छ । मिल्नुपर्छ, पैसामा मिल्नका लागि ठूलो दबाब हुन्छ । यसलाई पार गरेर बल्ल बल्ल प्रहरी सम्म आयो भने पीडित आउनु भन्दा पहिलै ठूला मान्छेहरुको पहुँच प्रहरीमा पुगेको हुन्छ जसका कारण मुद्धा दर्ता गर्नका लागि नारा, जुलुस नै लाउनु पर्दछ । मान्छेहरुको भिड जम्मा गर्न सक्ने दबाब दिन सक्नेका लागि त हो नसक्नेका लागि मेडिकल रिपोर्टले सपोर्ट गरेन भनेर मुद्धा दर्तानै नगरि पठाइन्छ । बल्ल मुद्धा दर्ता गर्यो अनि उनको जीवन अझै कष्टकर हुन्छ । खाईरहेको जागिरबाट निकालिन्छ, बसिरहेको घर छोड्नु पर्ने वाध्यता हुन्छ, पढिरहेको विद्यालय जान नसक्ने बनाइन्छ । मानौं यिनै बलत्कृत हुनेहरुले ठूलो अपराध गरेका छन् । उनीहरुको अपराध भनेको न्यायको बाटो रोज्नुलाई ठानेको छ समाजले । किन मुद्धा हालेको ?, किन थुनाएको ? जस्ता प्रश्नहरुले उनीहरुलाई पटक पटक अपमान गरिन्छ । बलात्कृत हुनु उसको गल्ति हो भनीरहेको छ । पीडकलाई वहिस्कार गर्नुपर्ने,घृणा गर्नुपर्ने ठाउँमा उल्टै पीडितलाई घृणा गरेर उसलाई थप पीडा दिइरहेको छ यो समाज । एउटा वलत्कारको शिकार भएका पीडितले त्यो वेलाको पीडा भन्दा त्यो पछि समाजले दिने पीडाले पटक पटक वलत्कृत हुनुपर्ने अवस्था सृजना भएको छ । उनीहरुलाई समाजमा बाँच्नको निम्ति समेत समस्या भएको छ । एउटा अवोध वालिका माथि एउटा राक्षसले यस्तो घटना घटाउँछ तर त्यो वालिकाको पुरै जीवनभरी यो पीडाले पीडा दिइरहन्छ । पीडकले एकपटक सजायँ पाउँछ तर पीडितले पटक पटक सजायँ पाउँछ । पीडकले वढिमा १३,१४ वर्ष जेलमा वसेपुग्छ तर पीडितले यसको सजायँ जीवनभर भोगिरहनु परेको छ ।

जबरजस्तीकरणीका घटनामा परेका पीडितहरुको अवस्था दर्दनाक र पीडादायक छ । तर हामी मानवअधिकारका कुरा गर्नेले त्यो पीडा दिने पीडकको जेलमा सुविधा कस्तो छ ? चामल राम्रो खान पायो की पाएन ? टिभि हेर्न पायोकी पाएन ? अन्य सुविध के छ भनेर कति पटक प्रतिवेदन वनायौं र सार्वजनिक गर्यौं तर तिनीहरुका कारण पीडितभएकाहरु कहाँ छन् ? खान पाएका छन् की छैनन ? पढ्न पाएका छन् की छैनन ? भन्ने कुरा कहिलै हेरेनौै । कहिलै त्यसको प्रतिवेदन वनाएनौ र सार्वजनिक पनि गरेनौं । ती पडितहरुको जीवनलाई हेर्ने हो भने कति दर्दनाक अवस्था छ । एकपटकको पीडाले जीवन भर पीडा दिइरहेको छ ।

उनीहरुको दुःखमा साथ दिन न राज्य छ, न अरु कोही । ती पीडितहरुले आफ्नो राज्य भएको समेत महसुस गरेका छैनन । धादिङ, सिराह, महोत्तरी र वर्दियामा गरिएको एउटा अध्ययनको अनुसार जबरजस्ती करणीको घटनामा अदालतबाट फैसला भएका २४ वटा घटनामा हाल सम्म २ जनाले बाहेक अरु पीडितले क्षतिपुर्ति नपाएको अवस्था देखिएको छ । मुद्धामा प्रमाणका लागि साझीका लागि पीडितहरुलाई वोलाउने गरेको छ तर उसको मुद्धा के भयो ? उसले कति क्षतिपुर्ति प्राप्त गर्यो भन्ने कुराको सुचना पीडितहरुले प्राप्त गर्न सकेका छैनन् । क्षतिपुर्ति लिनका लागि के प्रकृया गर्नुपर्छ भन्ने समेत कसैलाई थाहा छैन । एकतिर यो अवस्था छ भने अर्को तिर पीडकले मैले तलाई पैसा दिनुपर्यो भने तलाई एकदिन भएपनि स्वास्नी वनाउँछु , मारिदिन्छ, फेरी वलत्कार गर्छु र पैसा दिन्छु भन्ने गरेको पाइयो ।

जसले गर्दा पीडितहरुले त्यो क्षतिपुर्तिका लागि पहल गर्ने नगरेको अवस्था देखियो । अर्को तिर पीडितकै सोचमा पनि जसले आफुमाथि यो घटना घटायो त्यहि मान्छेवाट पैसा लिएर त्यो पैसा के गर्नु ? त्यो रकमले थप पीडा दिएको महसुस हुने भनाई व्यक्त गरे । अनि अझै पीडादायक कुरा महिलाहरुले पैसाका लागि आफु वलत्कृत भएको उजुरी गर्ने गरेको आरोप समेत लाग्ने गरेको पाइयो । महिलाहरुको यो पीडाको मुल्य २० हजार देखि १ लाख सम्म तोकिएको छ । जुन कुनै मान्य कुरा नै हैन । त्यसैले पीडितहरु आफुलाई राज्यले सुरक्षा दिन नसकेका कारण आफुमाथि यो घटना भएकोले राज्यले आफुलाई क्षतिपुर्ति दिनुपर्ने कुराको माग राख्दछन् । वरु पीडकबाट राज्यले लियोस् तर पीडितलाई राज्यले दिनुपर्छ क्षतिपुर्ति भन्ने भनाई पीडितको रहेको छ । यसो भयो भने पीडकले पीडितलाई धम्कि दिने कुरा वन्द हुन्छ भने पीडितले पनि आफुमाथि अन्याय गर्नेले दिएको पैसा भन्ने हिनतावोधबाट मुक्त भएर आत्मसम्मानका साथ क्षतिपुर्ति लिने अवस्था हुन्छ ।

बलात्कार सम्बन्धि कानुन नै प्रभावकारी रहेको देखिदैन । धेरैवटा केसहरुमा पीडित होस्टायल भएको कारण देखाउँदै पीडकले सफायँ पाएको अवस्था छ भने कतिमा मेडिकल रिपोर्टले सपोर्ट नगरेको भन्दै पीडकलाई उन्मुक्ति दिएको छ । जबरजस्ती करणीको घटनामा ३५ दिनको हदम्याद राखिएको छ यसलाई मात्रै हेर्दा पनि ३४ दिनको दिन मुद्धा लिएर आउने पीडितको मेडिकल रिपोर्टले सपोर्ट गर्न सक्छ त ? जबरजस्ती करणीका घटनामा सबै भन्दा बलियो र महत्वपूर्ण प्रमाणका रुपमा मेडिकल रिपोर्टलाई लिने गरिएको छ त्यो नै गलत छ । माथिका सबै दृष्टान्तले पीडित किन होस्टायल हुन्छ भन्ने कुरालाई प्रमााणित गर्छ । एउटा पीडितले पटक पटक आफुमाथि भएको घटनाको बयान गर्नुपर्छ जसले उसलाई पीडा हुनु त छँदै छ अर्कोतिर होस्टायल गराउनको लागि समेत उपयुक्त वातावरणको निमार्ण हुन्छ । जब सम्म कानुनी रुपमा नै पीडकको सजायँलाई मात्रै पीडितको न्याय भनेर हेरिन्छ त्यक्तिवेला सम्म बलात्काका घटनाका पीडितहरुले वास्तविक न्याय पाउन सक्दैनन् ।

About The Author

Loading...