Sat. Jul 27th, 2024

भूकम्पको कम्पनसँग मच्चिंदा

लक्की चौधरी

Lucky Chaudhary

वैशाख १२ गते काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलद्वार अगाडि सुन्दरीघाटमा योगस्वामी रामदेव बागमती सरसफाइ महाअभियानमा सरिक हुनुहुन्थ्यो । त्यही कार्यक्रमको रिपोर्टिङमा थिएँ । बिहान आठ बजे त्यहाँ पुग्दा अभियानकर्ताहरू त्यहाँ आउनेक्रम जारी थियो । मुख्य सचिव लिलामणि पौडेल सहितका अभियन्ता टेन्टमुनिबाट कार्यक्रमबारे जानकारी दिइरहनुभएको थियो । नौ बजेतिर रामदेव गाडी लिएर आएपछि सरसफाइ कार्यक्रम शुरुभयो । केही सूचना र तस्बीर लिएर न्यूरोडस्थित गोरखापत्र संस्थानको कार्यालयमा फर्किएँ । कार्यालयको तेस्रो तलामा उक्लिएँ । साथैरहेको ल्यापटप खोलेर समाचार लेख्न के शुरु गरेको थिएँ भूकम्पको कम्पनले हल्लायो । शुरुमा त के भयो भनेर यताउता हेरें । घरै हल्लिन थालेपछि ल्यापटप भुइँमा मिल्काएर सुरक्षित स्थान खोज्न थालें । कहाँ जाउँ, के गरुँ भयो । दौडेर बाहिर जाउँ भने तीन तलामाथि छु, नजाउँ भने भवन भत्किने पो हो कि ! मनमा डरको अर्को कम्पन जाग्यो । रिपोर्टिङ कक्षमा हामी दुईजना मात्रै थियौं ।

बिहान ११ः५६ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा कार्यालयमा अरू कोही आइपुगेका थिएनन् । समाचार प्रमुख मसँग हुनुहुन्थ्यो गोकर्ण अर्याल । अब मरिने भइयो जस्तै भयो हामीलाई । बाहिर निक्लने हिम्मत पनि आएन । म प्रबन्ध सम्पादकको कक्षमा थिएँ । केही लागेन, अब त ज्यान जोगाउनै प¥यो भनेर टेबुलमुनि लुकें । एक मिनेटसम्म टेबलमुनि अर्को टि–टेबल राखेर घोप्टो परेर टाउको लुकाइ राखें । एकछिनमा कम्पन रोकिएपछि पुनः कम्पन हुने होला भनेर हामी भवनको तलतिर दौडियौं । मोबाइल खल्तीमा छामें, माथि नै छुटेको रहेछ । पुनः माथि दौडिएर छुटेको ल्यापटप, मोबाइल ल्याएँ । कोठामा फोन लगाएँ, उठेन । छोरो पढ्ने स्कुलका एक शिक्षक नजिकै बस्छन् । उहाँलाई फोन लगाएँ, फेरि उठेन । मनमा अर्को चिन्ता कायमै रह्यो । भूकम्पको कम्पनले भौतिक संरक्षणमा पुगेको क्षति र एकसाथ सबैले गरेको प्रयासले होला फोन सहजै लागेन । करीब आधा घण्टापछि छोराको मोबाइलबाट फोनको घण्टी बज्यो । परिवार जहान सबै सकुशल रहेको खबर पाएँ । मनमा अलिकति भए पनि सन्तुष्टि भयो ।

एकजना बटुवाले धरहरा ढल्यो भनेर सुनायो । खबर अपुष्ट थियो तर मनले मानेन । सुनधारामा रहेको धरहरातिर क्यामेरा लिएर दौडिएँ । गोरखापत्रको कार्यालयदेखि धरहराको दूरी करीब पाँचसय मिटरको मात्र छ । एकछिनमा त्यहाँ पुग्दा त मान्छेको विचल्ली थियो । ऐतिहासिक धरहरा गल्र्यामगुर्लुम् ढलेको थियो । मान्छेहरू चिच्याइरहेका थिए । धेरैबेर बस्न सक्ने हिम्मत आएन । एकछिनमै मान्छेको भिड देखियो । धरहरा उक्लेका सबै सोत्तर भए होलान् भन्ने कानेखुशी चल्नथाल्यो । त्यहाँ हेर्नेको अनुहार निन्याउरो देखिन्थ्यो ।

धरहरा परिसरबाट फर्किन पाएको थिएनँ । एकजनासँगै रहेको स्थानीयले वसन्तपुर दरबार ढल्यो भनेर सुनाए । डरको एउटा खुल्दुलीको अन्त्य भएको थिएन, अर्को थपियो । धरहरा परिसरबाट सिधै वसन्तपुर दरबार क्षेत्रतर्फ हानिएँ । त्यहाँ पुग्दा त धुलो अझै उडिरहेको थियो । वसन्तपुर पुरातात्विक विश्व सम्पदा सूचीमा परेको स्थान हो । ऐतिहासिक घर, मठमन्दिर सबै गल्र्यामगुर्लुम् ढलेको देखें । मनमा एक किसिमको निराशा र बेचैनी भयो । मान्छेहरू भित्र फँसेका होलान् मनमा लाग्यो । त्यहाँ हेर्न निक्लिएकाहरू पनि त्यहीं भनिरहेका थिए । कोही क्यामेरामा भत्केको भग्नावशेषलाई कैद गर्नमै व्यस्त थिए भने कोही मोबाइलमा । धेरैबेर त्यहाँ टिक्नसक्ने अवस्था थिएन । वसन्तपुरको नौतले दरबार पनि ढलेको थियो । बाँकी रहेको भाग पनि ढल्ने होला भनेर तस्बीर लिएर सुरक्षित स्थानतिर दौडिएँ । मानिसको भागदौड थियो । कोही त्यहाँबाट बाहिर निक्लिरहेका थिए । कोही बाहिरबाट भत्केको ठाउँतिर दौडिरहेका थिए । चिच्याएको आवाज सुनिन्थ्यो तर भित्र गएर कसैको उद्धार गरुँ भन्ने हिम्मत आएन । भत्केको ठाउँ धुलाम्य थियो । मान्छेहरू बेचैन थिए । एकछिनमा सुरक्षाकर्मीले सो ठाउँलाई घेरा हाल्यो । स्थानीयलाई प्रवेशमा रोक लगायो ।

वसन्तपुर क्षेत्रभित्र मान्छेहरूको दौडधुप चलिरहेकै थियो । घरछाडेर सबै सडकमा निक्लिए । कोही चिच्याइरहेका थिए, कोही आफन्त खोज्न दौडिरहेका थिए । एकछिनमै मान्छेको भिड सडकमा देखियो । सुरक्षाकर्मीहरू देखिन थाले । एम्बुलेन्स, दमकलको आवाज सुनिनथाल्यो । बाटोभरी मान्छेको भिडले गर्दा सुरक्षाकर्मीको गाडी बाहिर जानसक्ने अवस्था थिएन । ठूलो प्रयासकाबीच सुरक्षाकर्मीको गाडी सडकमा छिर्ने वातावरण बन्यो । प्रहरीको गाडीको साइरन जताततै सुनिन थाल्यो । खुलामञ्च, टुँडीखेलमा सुरक्षा खोज्दै भागेका मानिसले खचाखच भयो । बाटोभरी मान्छे नै मान्छे थिए । गाडीहरू आवत–जावत हुन पाएको थिएनँ । सुरक्षाकर्मीलाई बाटो खुलाउन घण्टौं लाग्यो । टुँडिखेलको दुईवटा मूलगेट पनि गल्र्यामगुर्लुम् ढलेको थियो । सडकमा रहेका मान्छेलाई सुरक्षाकर्मीले टुँडिखेलतिर हुलेपछि बाटो केहीमात्रामा खाली भयो । ‘यहाँ यस्तो भयो, त्यहाँ के भएको होला’ सबैको मानमा जिज्ञासा थियो । मान्छेहरू एकछिनमा यताउता हिंड्न थालें । फेरि सुरक्षाकर्मीलाई बाटो खुलाउन हम्मे भयो । यो क्रम निकै बेरसम्म चलिरह्यो ।

नजिकै रहेको बीर अस्पतालका बिरामीहरू स्लाइन पानी हातमा बोकेरै खुलामञ्चमा दौडिए । कोही आफन्तको साथमा त कोही आफै । नर्स र चिकित्सकहरूले पनि बिरामीलाई बाहिर ल्याउन सघाए । भूकम्पमा परेर घाइते भएकाहरूको अस्पतालमा भीड लाग्न थाल्यो । भित्र उपचार गर्न समस्या थियो । फेरि भूकम्पको कम्पन आउनसक्ने खतरा यथावत थियो । त्यसैले होला चिकित्सकहरूले बिरामी र घाइतेहरूको उपचार अस्पताल परिसरमा नै शुरु गरे । घाइतेहरू रक्ताम्य थिए । कसैको हातखुट्टा भाँचिएको थियो, कसैको टाउको फुटेको थियो । एम्बुलेन्सले घाइते ओसारिरहेको थियो । अस्पताल एकछिनमै घाइतेले खचाखच भयो । घाइतेको तस्बीर खिच्नेको भिड थियो । भिड थेग्न नसकिने भएपछि चिकित्सकहरू रिसाउन थाले । भीडले घाइतेको उपचारमा समस्या पर्न थालेपछि चिकित्सक र नर्सहरू वाक्क भए । खुलामञ्चमै गएर तस्बीर खिच्न खोज्दा नर्स र चिकित्सको हप्की खानुप¥यो । गोरखापत्रकोे पत्रकार भएको बताउँदा पत्याएनन् । परिचयपत्र झिकेर देखाएपछि बल्ल पत्याए ।

शनिबारको दिन आतंकितरूपमै बित्यो । साँझ छ बजेतिर घर फर्किएँ । कोठामा सुत्नसक्ने अवस्था थिएन । सबैजना बाहिर थिए । सुत्ने गन्तव्य खुलाचौर बन्यो । भूकम्पको कम्पन फेरि हुन्छ भन्ने सबैमा त्रास थियो । घर खाली गरेर अरूजस्तै हामी पनि चौरमा बास बस्न गयौं । रातभरी जाग्राम बसेर बित्यो । भूकम्पमा फँसेको त्यो क्षणले छाडेन । बसे पनि, सुते पनि शरीर घुमेजस्तै महसूस भइरह्यो । आकाशमुनि चटाई ओछ्याएर सुत्ने प्रयास गरियो तर निद्रा परेन । रात त्यसै बित्यो । रेडियो नेपालको समाचार रातभरि आइरहेको थियो । रातको साथी त्यही मोबाइल फोेनको रेडियो बन्यो । समय बिताउन सजिलो भयो । बिहान साढे चारबजेपछि उज्यालो छाएपछि उठेर एकछिन यताउता हिडियो । खाना पकाउन कोठामा छिर्ने हिम्मत आएन । चाउचाउ र पाउरोटी, च्यूरा खाएर भोक मारियो । अर्कोदिन आइतबार १० बजेतिर कार्यालय तिर हिडियो । कोटेश्वर जडिबुटीबाट न्यूरोड पुग्न एक घण्टाको पैदलयात्रा गर्नुपर्छ तर त्यो दिन दुई घण्टा लगाएर पुगें । गाडीहरू सडकमा गुडेका थिएनन् । बाटोभरि चर्किएका मक्किएका घरहरू नियाल्दै, तस्बीर क्यामेरामा कैदगर्दै हिडेर कार्यालय पुगियो ।

कार्यालय पुगेको करीब आधाघण्टा भएको थियो । कार्यालय परिसरमै तल पानी खाएर बसेको थिएँ । केही कर्मचारीहरू पनि पुगिसकेका थिएँ । कर्मचारीबीच गफिदै थियौं । त्यहीबेला १२ः५४ मा अर्को भूकम्पको चाल महसूस भयो । मान्छे भागाभाग गरेको देखियो । पहिलो दिनको डर बिर्सिन सकेको थिएनँ अर्को आतंक मनमा शुरु भयो । एकछिनपछि समाचारमा सुनियो ६.९ रेक्टरस्केलको भूकम्प आएछ । पहिलो दिनको भूकम्पले चिरापरेका घरहरूलाई सबै भत्काएको होला भन्ने अनुमान धेरैले लगाए । भयो पनि त्यस्तै नै । गोरखापत्रको पुरानो भवन पनि केही भयो कि भनेर हामी नियाल्न थाल्यौं । धेरै ठाउँमा नराम्ररी चिरापरेको देखियो । घर भत्केको रहेनछ भनेर सन्तोषको सास फे¥यौं ।
आइतबारको रात पनि आकाशमुनि बित्यो । उपत्यकाबासीको सबैको रातदिन चौरमै टेन्टमुनि बित्यो । यो क्रम मंगलवारसम्म चल्यो । भूकम्प विज्ञहरूले ७२ घण्टासम्म भूकम्पको खतरा रहेको अनुमान सुनाएपछि मानिसहरूले घरमा प्रवेश गर्ने हिम्मत गर्ने त कुरै भएन । सबैले समाचार सुनेर आफ्नो बाटो तय गरे । मंगलवार १२ बजे ७२ घण्टा लागेपनि धेरैको मनमा अन्यौल कायमै रह्यो । कोठामा प्रवेश गर्ने कि आकाशुमनि नै बिताउने भनेर । दिउँसो पानीले भुइँ चिस्सिएपछि बाध्यतावश केहीले मंगलवारको रात डराएर भए पनि कोठाभित्र बिताए तर बुधवारबाट अधिकांशले आकाशमा बासलाई त्यागे ।

About The Author

Loading...