Sat. Oct 12th, 2024

नौ तलामाथि भुइँचालोले हल्लाउँदा

ज्ञानेन्द्र खड्का

gayanendra khadka

मानिसको जीवन संयोग रहेछ। जो जन्मिँदा र मर्दा एउटा संयोग लिएर आउँछ जान्छ। छैटींमा लेखेको कुरा मानिसले जति बल गरे पनि मेटिन्न भनिन्छ। ज्योतिषीको भाषामा जीवनमा पटकपटक खड्गो आउँछन्, कुनै खड्गोले टपक्क टिपेर लैजान्छ त कुनैलाई जितेर मानिसले आयु बढाउँछ। जीवनको आधा उमेर बिताउन लाग्दा कुनै ज्योतिषीले मेरो खड्गो काटेको थाहा छैन। तर जीवनकै ठूलो शनिबारको खड्गो काट्न सकेकोमा अझै पनि आफैंलाई पत्यार लाग्या छैन।
नेपाल र नेपालीका टुसाउँदै गरेका सपनामाथि बज्रपात प्रहार गर्दै गएको भूकम्पको हप्ता बित्न लाग्दा पनि आफू बाँचेको पत्यार गर्न सकेको छैन। बाहिरबाट हेर्दा सामान्य छु, सामान्य बन्ने कोसिसमा छु। र, अहिले पनि भुइँचालोले हल्लाइरहेको मनलाई सम्हाल्दै सोच्दैछु, सायद मेरो खड्गो सानो थियो, जसलाई मैले पराजित गरेँ। तर, म जस्तै शनिबारको विपद्मा परेर ज्यान गुमाउने ६ हजार बढीको खड्गो ठूलो रहेछ। जसको खड्गो टरेन र मृत्युले जित्यो। शनिबार बिहान अन्नपूर्ण पोस्ट्को नौ तलामाथिको न्युज रुमको कम्प्युटरको किबोर्डमा मेरा औंला नाचिरहेका थिए। बिहानको समय न्युज रुम पूरै सुनसान थियो। अरू बेला करिब ७० जना अन्नपूर्णकर्मीले भरिभराउ हुने न्युज रुममा म प्रवेश गर्दा पूरै सुनसान थियो। मेरा औंला अनवरत कम्प्युटरको किबोर्डमा निरन्तर नाचिरहेका थिए। यस्तो लाग्थ्यो, आज निकै हतारमा छु, सबै काम आजै सक्नुछ। गायक तथा साहित्यकार प्रेमप्रकाश मल्लको शुक्रबार राति निधन भएकाले उनको निधनको समाचार पोस्ट् गर्ने अर्को हतारो थियो। बिहान १० बजेर ४५ मिनेटमा न्युज रुममा छिरेको मैले करिब एक घन्टाको बीचमा चारवटा समाचार पोस्ट् गरिसक्दा पनि मेरा औैंला निरन्तर किबोर्डमै नाच्दै थिए।

अचानक, किबोर्डमा नाचिरहेका औंला अनियन्त्रित भए। किबोर्डमा नाचेका औंलासँगै जिउ पनि नौ तलामाथि उफ्रिन थाल्यो। हेर्दाहेर्दै पूरै भवन लिंगे पिङझैं मच्चिन थाल्यो। बालककालमा लिंगे पिङमा मच्चिएको मलाई भुइँचालाले त्योभन्दा बढी हल्लायो। मानिसको जीवन सधैं समथरमा मात्रै हुँदैन। कहिलेकाहीँ भीरको टुप्पोमा गएर उँधो न उभो पनि हुँदो रहेछ। भुइँचालोको चक्रमा नौतले कार्यालयले पिङ खेलिरहँदा लाग्यो, जीवन अब भीरको टुप्पोबाट एकै चोटी खोँचमा झरेर टुक्राटुक्रा हुने भयो। बिहान ११ बजेर ५६ मिनेटमा सुरु भएको भुइँचालाले केही सेकेन्डमै मृत्युको मुखमा धकेलिदियो। आपत् परेपछि दिमागले केही सोच्न सक्दो रहेनछ, त्यो पनि नौ तलामाथि। भुइँचालोले क्षणभरमै न्युज रुम बाँसको लिंगोमा परिणत भयो। कुर्सीबाट जुरुक्क उठ्न खोज्दा भुइँमा पछारिएँ।

कम्प्युटर टेबलमा राखेको पानी पोखिएर जीउभरि पर्‍यो। हेर्दाहेर्दै कार्यालय समुद्री तुफानमा परेको पानीजहाज झंै हल्लिन थाल्यो। तुफानले पानीजहाज घोप्टिएजस्तै कार्यालय पनि ढल्नमात्रै बाँकी थियो। जीवन टुंगिन लाग्दा पनि माया त हुने नै रहेछ। आफूलाई सुरक्षित बनाउन अठ्याउने ठाउँ खोज्दा केही भेटिनँ। मृत्युको भयले संसारै अध्याँरो भइरहँदा त्यसलाई सहर्ष स्वीकार्नुबाहेक अर्को विकल्प थिएन। गुहार लगाउँदा बचाउन कोही आउँदैन। भुइँचालोले हल्लाइरहँदा कसैलाई सम्झन सकिनँ। केबल मृत्युको प्रतीक्षामा थिएँ। तर, कसरी ज्यान जाला, झट्टै गए त जाती नै हुन्थ्यो तर तड्पेर मर्नुपर्‍यो भने कति गाह्रो होलारु यही कल्पनाले मनमा अर्को भुइँचालो आइरह्यो। भगवान्को विश्वास गर्छु तर, म ढोंगी भने होइन। भुइँचालोको चक्रमा परिरहँदा अनायासै राम…राम…राम… पुकार्न पुगेछु। उठ्दै लड्दै गरेको मैले राम…राम…राम… पुकार्दै प्रधानसम्पादक युवराज घिमिरेको कार्यकक्ष नजिकैको टेबलको बारमा समाउन पुगेछु। त्यो बेला मेरो मुखमा राम…राम…राम… र मृत्यु कुराइबाहेक अरू केही थिएन।

करिब २० सेकेन्डसम्म भूकम्पसँग झुलिरहँदा राजनीतिक ब्युरो प्रमुख चिरञ्जीवी ढुंगानालाई मेरो अगाडि देखेँ। उहाँ नजिकै आउनुभयो तर, बोल्न सक्नुभएन। सायद मृत्युलाई नजिकबाट देखेर होला उहाँ पनि अवाक भइसक्नुभएको थियो। मसँग पनि उहाँसँग बोल्ने हिम्मत थिएन। दुवैजनासँग एउटै विकल्प केवल मृत्यु। दुबैजना एक ठाउँमा मृत्यु कुरिरहँदा रिपोर्टिङमा महिला सहकर्मी चिच्याइरहनु भएको थियो। आफैं आतेसमा परेका बेला त्यहाँ पुग्ने हिम्मत थिएन लौ न कोही छ, बचाऊ बचाऊु, निरन्तर यो आवाज रिपोर्टिङ सेक्सनबाट आइरहेको थियो। यता भुइँचालोले घर नै उखेलेर फ्याक्ने गरी झन् बढी हल्लाउँदै थियो। आफू नजिकै आएका चिरञ्जीवी दाइलाई समेत छाडेर मैले टेबलको बार समाइरहेँ। सायद अरूको भन्दा आफ्नो ज्यानको माया बढी भएर होला, त्यो बेला उहाँलाई सुरक्षित भएर बस्नुस् समेत भन्न सकिनँ।

रिपोर्टिङ सेक्सनबाट भुइँचालोसँगै झन् ठूलो आवाजमा रोएको आवाज आइरह्यो। यता हामी दुई भने अवाक थियौं। भुइँचालो केही मत्थर भएको मौकामा नितु घले दौडँदै हामी भएको ठाउँमा आइपुग्नुभयो। भुइँचालोले होसहवास उडाए पनि नितु घलेले भुइँचालोबाट जोगिने उपाय भुल्नुभएको थिएन। उहाँ मैले बार समाएको टेबलमुनि छिर्नुभयो। त्यो बेला पनि सान्त्वनाका दुई शब्द मुखबाट निस्केनन्। आपत् परेपछि दिमागले केही सोच्न सक्दो रहेनछ, त्यो पनि नौ तलामाथि। भुइँचालोले क्षणभरमै न्युज रुम बाँसको लिंगोमा परिणत भयो।

नितु टेबलमुनि छिरेपछि भुइँचालो झनै उग्र हुन थाल्यो। नितु टेबलमुनि छिरेपछि झन् ठूलो भएको भुइँचालो मत्थर त भयो तर रोकिएको भने थिएन। तर, रोकिँदै झट्का दिँदै गरेकाले हाम्रो काल भने टरेको थिएन। लेखन्तमा हामीलाई अझै बाँच्न लेखेकैले होला धरहराजस्तै अग्लो भवनमा बसेर पनि हाम्रो काल केहीबेरलाई टर्‍यो। भवनसँगै पिङ खेल्दा होसहवास उडिसकेको थियो। खुट्टा जति दह्रो टेके पनि पोलियो लागेजस्तै लुला थिए। मुटु छाती बाहिर निस्केलाझैँ धड्किरहेको थियो। न्युज रुमबाट निस्केर पनि एकै पटक सडकमा पुग्ने अवस्था थिएन। धर्ती नै पल्टाउने गरी आएको भुइँचालोले बिजुली धेरै अघि गइसकेको थियो। यस्तो बेला लिफ्टमा चढ्ने कुरै थिएन। नौ तलामाथिबाट भुइँतलासम्म पुग्न जति नै छिटो हिँड्दा पनि कम्तीमा तीन मिनेट लाग्थ्यो। भुइँचालो मत्थर भएको मौकामा तीनैजना श्वास रोकेर एकै पटक न्युज रुम बाहिर दौड्यौं। तर, भवनले पिङ खेल्न छोडेको थिएन, केही कममात्र भएको थियो।न्युज रुम बाहिर निस्केर भस्याङतर्फ झर्दा पानी पोखिएर हिलाम्य।

भुइँचालो मत्थर भएको मौकामा जतिसक्दो चाँडो बाहिर निस्कन खोजेका बेला अर्कातिर पानीमा चिप्लेर ज्यान जाने डर। जे परोस् जन्मैदेखिको हिम्मत बटुलेर हतारहतार खुड्किलो नापियो। प्रत्येक तलामा झर्दा भस्याङका खुड्किला हिलाम्य थिए। भुइँचालोले किचेरभन्दा बढी मानिस आत्तिएर भाग्दा मर्छन् भन्ने सुनेको थिएँ, त्यो बेला थाहा भयो। नौ तलाबाट झर्दा एकै चोटी डिसहोमको कार्यालय रहेको चौथो तलाबाट महिला कर्मचारी रुवाबासी गर्दै निस्केको देखेँ। उनीहरू पनि होसहवास गुमाउँदै भवन बाहिर दौडँदै थिए। उनीहरूलाई पनि उछिनेर भुइँतलामा पुग्दा चिरञ्जीवी दाइ र नितु कता पुग्नुभयोरु अत्तोपत्तो भएन। म चाहिँ भवनबाट बाहिरिँदै नासा कलेजका बास्केटबल कोर्टमा पुगेर थुचुक्क बस्न पुगेछु। त्यहाँ यसअघि नै करिब ३० जनाजति मानिस जम्मा भइसकेका थिए। बास्केटबल कोर्टमा बसेर अघि पिङ खेलेको नवौं तलालाई हेर्दा झनै अत्यास लागेर आयो। जहाँ मेरो कम्प्युटर अगाडिको झ्यालबाट पर्दा हल्लिरहेको थियो।

बास्केटबल कोर्टमा बस्दा पनि भुइँचालो आउन छाडेको थिएन। त्यहीँबाट पत्नी यशोदा र अन्य नातागोतालाई फोन गर्ने होस आएछ। फोन गरें, कसैको फोन लाग्दैन। करिब १० मिनेट त्यहाँ बसेर पिङ खेलिरहेको भवन हेरेर कोठातर्फ लागेँ। मानिसको कोलाहल र आतेसले सडक र चौर गुञ्जिएको थियो। त्यहीबेला सहकर्मी सहदेव चौधरीलाई भेट्टाएर पत्नी यशोदा र छोरीको खोजीमा निस्केँ। शान्तिनगर एक फन्को लगाएपछि उनीहरूलाई भेटेँ।कार्यालयमा पिङ खेलेपछि उडेको होस पत्नी र छोरी भेटेपछि आउन त आयो। तर भूकम्पको समाचार लेख्ने कुराले सताइरहेको थियो। चौरमा बसिरहेका पत्नी र छोरीलाई लिएर कोठामा हान्निएँ। कोठामा पुगेर समाचार लेख्न बस्दा झन् बढी धक्का दिइरह्यो।भुइँचालोले हल्लाइरहँदा मलाई भने आफ्ना लाखौं पाठकलाई अनलाइनमा समाचार दिने हुटहुटीले सताइरहेको थियो। प्राथमिक सूचना मात्रै भए पनि अनलाइनमा हाल्न सके देश विदेशका लाखौं पाठक जानकार हुने कुराले पिरोलिरह्यो। पत्रकारको २४ घन्टे पेसाको जिम्मेवारीलाई भुइँचालोले हल्लाइरहँदा पनि डगमगाउन दिइँन।समाचार पोस्ट् गरिछाड्ने हिम्मत जुटाएर भुइँचालो गएको करिब ५० मिनेटमा कोठामा पसेँ। भुइँचालोबारे जानकारी बटुल्दै गर्दा पोर्चुगलमा रहेको साथी शैलेन्द्र महतले सीएनएनमा प्रसारित नेपालको भूकम्पसम्बन्धी समाचार फेसबुक म्यासेजमा हालिदिए। त्यसैलाई आधार बनाएर धरहरा ढलेको र सडक भत्केको फोटोसहितको समाचार अनलाइनमा हालेपछि मात्रै ढुक्कको श्वास फेरें। जब धरहरा ढलेको फोटो हेरें, त्यो बेला अन्नपूर्ण पोस्ट्को न्युज रुम रहेको नवौं तलालाई तुलना गरें। धरहरामा करिब दुई सय मानिस परेको समाचार सुनेपछि झनै अत्यास लागेर आयो।

नौ तलाको धरहरा ढलेर सयौं मानिसले अकालमा मृत्युवरण गरे। नौ तलामै बसेर मैले पुनर्जन्म पाएँ। सायद यसैलाई भन्लान्, मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ। जब म बसेको कुर्सी कसैले हल्लाउँछ, त्यही भुइँचालाले फेरि सातो लिन्छ। भूकम्प गएको सातौं दिन त्यही कुर्सीमा बसेर किबोर्डमा औंला नचाइहरँदा त्यो दिन सम्झिरहँदा यस्तो लाग्छ, मृत्युको मुखमा पुगिसकेपछि मान्छेलाई मर्न डर लाग्दो रहेनछ। जब कुनै विकल्प हुँदैन, त्यो बेला मृत्यु स्वीकार्न सकिने रहेछ। तर, बूढापाकाले भनेजस्तो भोग नपुगी कहाँ काल आउँदो रैछ ररु

About The Author