Sat. Jul 27th, 2024

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको सन्देश

mahendra bista
मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरका पत्रकारहरू विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । तर, हामी नेपाली पत्रकारहरू भने गत वैशाख १२ गते गएको प्रलयकारी महाभूकम्पबाट पत्रकार सुमन भोम्जनलगायत साढे छ हजार भन्दा बढी नागरिकको ज्यान गएको दुखद अवस्थाका कारण शोकमा छौं । शोकको यस घडीमा नेपाल पत्रकार महासंघ र नेपालको प्रेस जगत प्रेस स्वतन्त्रता दिवसका कुनै पनि औपचारिक कार्यक्रम नगरी भूकम्प पीडितको उद्धार र हरसंभव सहयोगमा केन्द्रित हुनु परेको छ । महाभूकम्पको एक साताको यो अवधिसम्ममा साढे छ हजार भन्दा बढीको जीवन गुमिसकेको छ भने हजारौं घाइते भएको अवस्था छ । लाखौं घर पूर्ण क्षति भएका छन् । धराहरालगायत थुप्रै ऐतिहासिक तथा धार्मिक मठमन्दिर, सांस्कृतिक सम्पदा र पुरातात्विक स्मारकहरू नष्ट भएका छन् । यस्तो अवस्थामा हरेकलाई आफू सम्हालिन, आफन्तलाई सम्हाल्न अनि आफ्नो जिम्मेवारी सम्हाल्न मुस्किल हुनु स्वाभाविक हो । यसका बाबजुद पनि हामी सवै यो विपसत्तको सामना गर्न कृतसंकल्पित छौं ।

नेपाल पत्रकार महासंघ अहिले राष्ट्रिय विपत्तिको सामनामा जुट्नुका साथै पत्रकार तथा प्रेस जगतमा भएको क्षतिको विवरण संकलन एवं सक्दो उद्धार, राहत र मिडियामार्फतको दायित्व निर्वाह गरिरहेको छ । पत्रकार सुमन भोम्जनलाई गुमाउनु परेको पीडा त छदैछ, यो विपत्तिमा महासंघ केन्द्रीय सदस्य माधव दुलालसहित दर्जन बढी पत्रकारले आफन्त गुमाउनु परेको छ । कतिपय घाइते हुनुहुन्छ । धेरै सञ्चार संस्थाहरू कामै नलाग्ने गरी क्षतिग्रस्त छन् । कतिपय बन्द छन् भने कतिपयले अस्थायी शिविर खडा गरेर प्रकाशन–प्रसारणलाई निरन्तरता दिइरहेको अवस्था छ । यो बेला अत्यन्तै जोखिमका बीच पनि मिडियाकर्मीहरूले जसरी आफ्नो दायित्व पूरा गरिरहनुभएको छ, त्यो प्रशंसनीय छ । यस्तो घडीमा हामीले अझ बढी जिम्मेवार र उत्तरदायित्वपूर्ण ढंगले काम गर्नुपर्ने खाँचो छ । विभत्स दृश्य, नकारात्मक सन्देश र अतिरञ्जनापूर्ण प्रस्तुति हुन नपाउन् भनेर थप होसियारी अपनाउनुपर्ने खाँचो छ । नेपाल र नेपालीमा परेको यो महाविपत्तिप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोग र अन्तर्राष्ट्रिय मिडिया जगत्को ऐक्यवद्धताले हामीलाई सान्त्वना मिलेको छ । तर, कतिपय विदेशी मिडियाबाट पीडाको यस घडीमा जसरी नेपालको सार्वभौमिकता,पत्रकारिताको धर्म र मानवीयताको खिल्ली उडाउँदै थप पीडा दिने काम भएको छ, हामी त्यसबाट मर्माहत भएका छौं । खासगरी केही भारतीय मिडियाको अफवाह, अतिरञ्जना र संवेदनाहीन प्रस्तुतिप्रति खेद छ । यस सन्दर्भमा मुलुकका जिम्मेवार निकाय र अन्तर्राष्ट्रिय मिडिया जगत्को हामी गम्भीर ध्यानकर्षण गराउन चाहन्छौं ।

नेपाली मिडिया अनेकखालको चुनौतीबाट गुज्रिरहेको छ । मुलुक लोकतान्त्रिक युगमा छ, तर नेपाली मिडियाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग र पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको अनुभूति गर्न पाएको छैन । दण्डहीनता व्याप्त छ । सेल्फ सेन्सरसीपले गाँजेको छ । यो वर्ष मात्रै पनि प्रेस स्वतन्त्रता हननका ४६ वटा घटनाहरू भएका छन् । यस्ता थुप्रै नीतिगत, संरचनागत, कानुनी र अन्य पेशागत मुद्दामा हामी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विशद् छलफल गर्न चाहन्थ्यौं । प्रेस स्वतन्त्रताका योद्धाहरूको सम्मान गर्न चाहन्थ्यौं । तर, नियतिले हामीलाई अहिले यी सवै विषयलाई थाँती राखेर महाविपत्तिको सामनामै केन्द्रित हुनुपर्ने अवस्थामा पु¥याएको छ । महाविपत्तिको यस्तो घडीमा आएको विश्व प्रेस स्वतन्त्रता दिवस, २०७२ का अवसरमा म महाभूकम्पमा परी जीवन गुमाउने सवैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । र, आमसञ्चारकर्मी, विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र आमनागरिकमा आपसमा मिलेर यो विपत्तिको सामना गर्दै प्रेस स्वतन्त्रताको रक्षा र मुलुकको पुनर्निर्माणमा लाग्ने संकल्प गर्न हार्दिक अपील गर्दछु ।

३ मे २०१५,
(२० बैशाख २०७२)

डा. महेन्द्र विष्ट
अध्यक्ष

About The Author

Loading...