Sat. Jul 27th, 2024

दशैं–सांस्कृतिक जिज्ञासा

                                                                    
रमेश अधिकारी 

दशैं धर्म वा जात विशेषको चाड नभै नेपालीहरुको गौरवपूर्ण साँस्कृतिक पर्व हो भन्नेमा मतैक्यता छ । यो मानव सभ्यता जत्तिकै पुरानो छ भन्नुमा गल्ती नहोला किन कि यसको प्रारभ्भ यकीन छैन । यो अनमोल संस्कृति हाम्रो पहिचान हो यसर्थ यसको जगेर्ना गर्नु हामी सबैको कर्तब्य हो । संस्कृति जगोर्नाका लागि जिज्ञासा चाहिन्छ, त्यसैले दशैंका बारेमा पनि हाम्रा जिज्ञासाहरु हुनु स्वभाविक छ ।

दशैं कसरी असत्य माथि सत्यको विजय हो ? असत्य जीवन हो कि प्रवृत्ति ?हामी के को अन्त्यको कामना गर्छौं ? टीका किन लगाउने ? राता, सेता, पहेंला, काला टीका के का प्रतीक होलान् ?टीकामा अरु अन्नका प्रयोग नभएर किन अक्षता चामल कै प्रयोग हुन्छ होला ? जमरा किन लगाउने ? त्यसमा पनि जमरामा किन जौ अन्न उमारिन्छ होला ? आशिर्वाद कसको लिने ? किन लिने ? दक्षिणा के हो ? किन दिनु पर्छ ? बली के हो ? किन दिइन्छ ? आदि जिज्ञासा । यी जिज्ञासासंग विज्ञान र आध्यात्म जोडिए अझ कति सुन्दर हुन्थ्यो होला ।

किंबदन्ती नै सही एकै तरिकाले दशैं नमनाए पनि टीका सबैले लगाउँछन् । विजया दशमीदेखि कोजागत पूर्णिमासम्मका पाँचै दिन टीका लगाउने चलन सबै ठाउँमा छैन । शुरुमा दहीमा मुछेको सेतो टीका लगाइन्थ्यो, पछि रातो टीका लगाउन थालियो । टीका धर्मको चिन्ह पनि हो । शैव, वैष्णव, तान्त्रिकहरुले लगाउने टीका फरक फरक छ । कालो टीका त्रन्त्र परंपरासंग सम्बन्धित छ, रातो टीकालाई विजयभाव,सौभाग्य,संवृध्दि, रजगुण र शक्तिको प्रतीक मानिन्छ, सेतो टीका शान्ति र सप्तगुणको प्रतीक हो, पहेंलो टीकाले पितृभाव झल्काउँछ । भष्म, विभूत,कुमकुम,अक्षता, चन्दन आदि अन्य टीकाका प्रकार हुन् । टीका लगाउनु देवत्व झल्काउनु त हुँदै हो, यसको रहस्य आत्मिक नयनको सकृयतासंग पनि जोडिन्छ । दुई आँखाका बीच हुने तेस्रो आँखा जसलाई ज्ञान चक्षु पनि भनिन्छ, यो नेत्र खुलोस् भन्ने आशिर्वादका लागि टीका लगाइन्छ । निधारलाई देवस्थल पनि भनिन्छ, अतः अन्तरज्ञान र आज्ञाचक्रको सकृयताका लागि सधैं कुनै न कुनै टीका लगाउने, निधार खाली नराख्ने हाम्रो परंपरा छ ।

दशैंमा प्रायः रातो टीका लगाइन्छ,खड्ग पूजा गरिन्छ, खासमा यो परंपरा युध्द र विजय श्रीसंग जोडिएको हुनुपर्छ । विजय उन्मादका लागि द्योरालीमा पशुको रगतमा अक्षता मुछेर टीका लगाउने चलन थियो, कुनै पनि शास्त्रले अनुमति नदिए पनि बली प्रथा यसैसंग जोडिएको हुनसक्छ ।

दशैंमा जौको जमरा लगाउने चलन छ, पौष्टिक, प्राचीन खाद्य बाली र प्रचुर औषधीय गुण भएकाले यसको स्वास्थ्य र खाद्य सुरक्षाको दृष्टिकोणबाट जगेर्ना गर्न जमराको प्रचलनमा समेत ल्याइएको हुनसक्छ, यद्यपी जौ को चलन भारतवर्षदेखि नै इरान लगायतका देशमा भएको र सभ्यता सगै यो अन्नको प्रयोग हाम्रो संस्कृतिसंग जोडिएको भनाइ छ ।

दशैंमा आफन्त – नातेदारका हातबाट टीका लगाउने र आशिर्वाद लिने चलन छ । तर यो आशिर्वाद कसले को संग लिने भन्ने मतलव छैन । खासमा मानिसले आफूसंग जे छ त्यो मात्र दिन सक्छ, त्यो पनि जसले माग्यो उसैलाई दिन्छ भन्ने छैन । हामी आफन्तका नाममा त्यस्तो मान्छे कहाँ पनि गै रहेका हुन्छौं कि उ आफै प्रताडित छ, घमण्डी छ, दम्भी, लोभी,क्रोधी, कपडी, स्वार्थी,कन्जुस छ उसले हामीलाई ज्ञान, कृति, ऐश्वर्य,मान दिन्छ ? तपाईलाई देख्दैमा उसलाई औडाहा होला त के दिन्छ उसले आशिर्वाद ? आफै रोगले थलिएको मान्छे ऊ आफैं जीवनको भीख मागी रहेछ त उसले आयु आरोग्यको आशिर्वाद अरुलाई कसरी देला ?फेरि एकै मान्छेले आयु,श्रेय,शत्रुनाश,ऐश्वर्य,मान,बल,ज्ञान र कृतिको आशिश कसरी देला ? भगवान्संग त हामी फरक फरक आकांक्षा गरीरहेका हुन्छौं कि सरस्वतीसंग विद्या, लक्ष्मीसंग वैभव,दुर्गासंग शक्ति आदि आदि । त्यसैले आफूलाई चाहना के हो, त्यही दिन सक्ने भद्र मान्छेसंग लिनु वेश होला आशिर्वाद, भलै ऊ नाताले आफन्त नहोस् । यसले बसुधैव कुटुम्बकम् को सूत्रमा हामीलाई बाध्न सक्छ ।

हामी संस्कृतिमा धनी छौं, हाम्रा मौलिक परंपरा हाम्रा नीधि हुन् । यिनको रक्षा गर्नु हामी सबैको कर्तब्य हो । धार्मिक सहिष्णुता, जातीय र भाषिक एकता नै हाम्रो राट्रियता हो ।

About The Author

Loading...