Sat. Jul 27th, 2024

थारु संस्कृतिको सामिप्यतामा

रमेश अधिकारी
यो महिनाको आरम्भको करीब एकसाता थारुटोलमा बस्ने अवसर मिल्यो, माघीको रौनक सकिएको थिएन, सन्दर्भबस् हामी नवलपुरको चर्चायोग्य अमलटारी होमस्टे मा जम्मा भएका थियौं । मनमिल्ने केहीथान थारु साथीहरु छन् मेरा, वहाँहरुबाट थारु संस्कृतिका बारेमा केही चर्चा सुनेको त थिएँ तर अनुभूत गर्ने मेसो मिलेको थिएन, यसपटक धित मर्नेगरी थारु संस्कृतिमा रमाएँ म । सुनेको मात्र थिएँ थारु प्रकृति हो भन्ने कुरा, यस पटक सत्यता अनुभव गरें । आफू जे हो, उनीहरुले त्यसलाई बिर्सिएका छैनन्–छोडेका छैनन् ।

थारु तराइको पहिलो, सबैभन्दा ठूलो र मौलिक आदिबासी समुदाय हो । नेपालको पूर्वदेखि सुदूर पश्चिमसम्म नै बसोबास गरीरहेका थारु समुदाय १० औं शताब्दी अघि नै नेपाल प्रवेश गरेको अनुमान छ । भारतको थार क्षेत्रबाट आएका हुनाले उनीहरु थारु कहलिएका हुन् भन्ने भनाइ छ । केही मंगोलियन विशेषता देखिए पनि उनीहरु आफूलाई राजपूत वंश भएको दावी गर्छन् । शाक्यवंशीय वा शाक्य गणराज्यबाट समय र घटना क्रममा उनीहरुको विस्तार भएको इतिहासकारहरु बताउँछन् । हालको दाङमा दंगीशरण र पादुप्रदन्नाको थारु राज्य थियो र पछि सल्लेरी राजाहरुले कब्जा गरेको प्रसंग इतिहासमा छ । नेपाल एकीकरण पछाडि उपत्यकाको सुरक्षाका लागि पृथ्वीनारायण शाहले थारुहरुलाई सेनामा भर्ती गरे, देशभक्तिपूर्ण आन्दोलन र सीमा रक्षामा उनीहरुको महत्वपूर्ण योगदान छ ।

संयुक्त परिवार मन पराउने थारुमा मैथिली,भोजपुरी,अवधि आदि भाषाको प्रभाव छ । पूर्व, मध्य र पश्चिममा बोलिने लवज समान छैन । जसरी भाषिक अन्तर छ, उनीहरुको थरहरु पनि भिन्न छ, लालपुरिया, चौधरी, राना, मजौरा, मर्दनिया, कडरिया, डगौरा आदि एकसय भन्दा बढी उनीहरुका थर हुन् । विशेष गरी उनीहरु वनको आत्मा अर्थात् भूतको पूजा गर्छन् । उनीहरुका गोरैया र मैन्या गरी दुई कूल देवता छन् । गोरैयालाई सुँगुर र मैन्यालाई बोका चढाइन्छ । भूँइहार भनिने ग्राम देवतालाई पनि पुज्ने र पशुबली दिने चलन छ ।

थारुहरुले गुरवा अर्थात् गाउँको मुखियालाई मान्छन्, यिनैको संरक्षण र निर्देशनमा गाउँको परम्ंपरा चलेको हुन्छ । थारु नयाँ वर्ष अर्थात् माघीको दिन सबै भेला भै अघिल्लो वर्षको समीक्षा गर्छन् र आगामी वर्षका लागि आफ्नो मुखिया छान्छन् । आगामी वर्ष के के काम गर्ने भन्ने सल्लाह गरिन्छ । यसै दिन उनीहरुले चिरकिया (संचार गर्ने ब्यक्ति)को पनि छनौट गर्छन्, वर्षभरी गाउँमा सूचना संचारको काम उसले गर्छ । देशले भन्दा अधि थारु जातिले लोकतन्त्रको अभ्यास गरीरहेको थियो । नयाँ वर्षका दिनमा बन्छ नयाँ सिस्टम । कमैया प्रथा छैन अहिले, पहिले यसैदिन खोदनी बोदनी गर्ने(कमैया साटफेर) काम पनि हुन्थ्यो ।

यो जाती जंगलको बीचमा घना बस्ती बनाएर बस्न रुचाउँछ । थारु प्रकृति प्रेमी हुन्छन। उनीहरुको वातावरणीय उल्लेख्य पक्ष के हो भने माटोको ममता । माटो, गोबर र घाँस उनीहरुको जीवन हो । लौकीका(लौका) भाँडा,माटाका भाँडा र परालबाट बनाइएका अन्य सामाग्रीहरुको प्रयोग हुन्छ । ढकिया कला पुस्तान्तरण हुँदै आएको एक विशेष कला हो थारु समुदायको । धान राख्ने माटोले बनेको भकारी(बेहरी) हुन्छ, भौकामा राखिन्छ कपडा , भौका कसौजा,मुज् जस्ता जंगली लहराबाट बनाइने एक प्रकारको दराज हो । महिलाहरुले आफूलाई हातले बनाइएका चाँदीका गहनाहरुले सजाएका हुन्छन् । महिलाहरुको शरीरमा टाटु बनाइएको हुन्छ, जसलाई गोदना,टिका छेदना भनिन्छ,यी आकृतिहरु प्रकृतिबाट प्रेरित भै बनाइएका हुन्छन् । त्यसमा बनाइएका चूलो आकृतिको टाटुले उनीहरु विवाहित भएको संकेत गर्छ । टाटु बनाउँदा हाडजोर्नी दुखेको निको हुन्छ । मरेर गए पछि यो सम्पत्तिको रुपमा जान्छ भन्ने विश्वास पनि छ ।

माघी यो समुदायको विशेष पर्व हो, यसलाई ठाउँ अनुसार यस दिनलाई तिला सक्रान्ति पनि भनिन्छ । यस दिन किछरा, खिचरी खाने चलन छ । पश्चिमी भेगमा कृष्णष्टमी भब्य रुपले मनाइन्छ । यस दिन परिवारको जेष्ट सदस्यको कोठाको भित्तोमा अष्टिमकी चित्र कोर्ने चलन हुन्छ । थारुको अर्को महत्वपूर्ण चाड जितिया पर्व हो,आफ्ना सन्तानको कल्याणका लागि यो व्रत बस्ने चलन छ । पूर्वीय भेगका थारुहरुले दाजुभाइ र दिदीबहिनीहरुको सम्बन्ध प्रगाढ बनाउन कार्तिक महिनामा सामाचकेवा पर्व मनाउँछन् । यसका अतिरिक्त दशैं, दिपावली, शिरुवा आदि थारु समुदायको मुख्य पर्व हुन् । छुर, गुल्ली, कवड्डी, नोक्का, सान्दी उनीहरुका खेलहरु हुन् । विभिन्न उत्सवहरुमा झुमरी मादल, डिम्की, ठेकारा, कारा, बैंसी, मझौरा, तमाउरा, ढफा, झर्रा, झाइफल, पिपनी, पिलरु, खैजडी, मजिरा अदि बाद्यबादनका सामाग्रीहरुको प्रयोग हुन्छ । साखिया नृत्य परंपरागत नृत्य हो । लाठी नाँच जसलाई थारु नाँच पनि भनिन्छ, यो निकै प्रसिध्द छ र यो एक थारु समुदायको युध्दकलासंग पनि सम्बन्धित् छ ।

आफ्ना पितृहरुप्रति उनीहरुको ठूलो श्रध्दा छ, दशैंको अष्टमीका दिन पूजा गरिएका सबै प्रसादहरु जस्तै ढिक्री, सिद्रा,मासु आदि नवमीका दिन नजिकको नदीमा लगि(पित्तर दिने) पितृका नाममा विसर्जन गरिन्छ, यही दिन नै समस्त पितृलाई पूजा गर्ने र संझिने दिन हो । आफूलाई रावण पक्षीय ठान्ने भएकोले रावणबधको यस दिनमा रावण सहित सबै पितृको पूजा गरिएको भनाइ छ । लाशलाई गाड्ने र गाढ्दा पुरुषको भए उत्तानो र महिला भएमा घोप्टो बनाउने चलन छ ।

थारुहरुका खानाका अनेक परिकारहरु छन् । घुंगी,सुँगुरको मासु, सिद्रा, गंगटा, जाँड र ढिक्री मुख्य हुन् ।
थारुहरु खाँदिएको बस्तीमा बस्न रुचाउँछन्, सामान्यतया जंगलको जीवनसंग उनीहरु परिचित छन् । नेपाल एकिकरण पछि शासक परिवारका सदस्यले तराइमा मौजा पाए पछि क्रमशः थारुहरु भूमिहीन बनाइदै गए, चितवन संरक्षण क्षेत्र स्थापना हुँदा थारु समुदायलाई आफ्नो परंपरागत भूमिबाट स्थानान्तरण हुन बाध्य पारियो । थारु जनता कमैया भनेर चिनिने बाँधिएका मजदूर बनेका थिए । १९५० को दशकमा तराइको औलो उन्मुलन भएपछि नेपालको पहाडी भूभागबाट तराइमा बसाइ सराइ भयो । अर्कोतर्फ नेपालको सीमा भएर जाने भारतीय रेलको लिक बनाउन नेपालको जंगल ठूलो रुपमा मासियो, यो कटान गर्न आएका भारतीयहरुलाई सो भूमि बसोबासका लागि प्रयोग गर्न दिइए पछि तराइमा गैह्र थारुहरुको जनसंख्या बढ्दै गयो, धेरै थारु परिवारहरले जमीन गुमाए र कमैयाको रुपमा काम गर्न बाध्य भए । नेपाल सरकारले जग्गा लिन आह्वान गरेको भए पनि कर संकलनकर्ताहरुको शोषण र जंगली जनावरका आतंकका कारण उनीहरुले जग्गा लिन इच्छा गरेनन् । फलतः जमिनदारहरुको अधीनमा कमैया भै काम गर्न उनीहरु बाध्य भए । पछि जंगबहादुरले जारी गरेका मुलुकी ऐनले थारुलाई पानी चल्ने मसिन्या मतवालीको रुपमा वर्गीकृत गर्यो ।

२०५७ सालमा नेपाल सरकारले कमैया प्रणली अन्तर्गत प्रचलित बन्धक प्रथालाई खारेज गरी ऋणपत्र गैरकानुनी घोषण गर्यो तथापी उनीहरुले अझै जग्गाधनी पूर्जा पाएका छैनन् । अवसरहरुको समानता, भूमि र स्रोतहरुको समान वितरणका लागि उनीहरुले गरीरहेका आन्दोलनले अझै सार्थक रुप लिन सकेको छैन ।

About The Author

Loading...