Sat. Jul 27th, 2024

एमालेको जिल्ला अधिवेशन र विवेकहिन नेता कार्यकर्ता

सानुबाबु तिमिल्सिना
यतिबेला नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन चर्चाले फेरी स्थान पाएको छ । माघ १९ गते उद्घाटन भएको एमाले धादिङको नवौं जिल्ला अधिवेशन माघ २० गते विहान बन्द सत्र शुरु हुने क्रममै रोकिन पुग्यो । यस विचमा सामाजिक सञ्जालमा धेरै टिका टिप्पणी, आरोप प्रत्यारोप मात्र नभएर एक अर्को पक्षका विचमा गाली गलौजको अवस्थासम्म पुग्यो । यसमा धेरै एमालेकै जिल्ला तहका नेताहरु सक्रिय भएर लागे । भित्री रुपमा रहेको गुटगत राजनीतिले यस अधिवेशनको दौरानमा छताछुल्ल रुपमै पोखिने मौका पायो । विवाद चर्कदै गएपछि आफ्नै पार्टीका कार्यकर्ता र शुभचिन्तकले समेतले राम्रै मलजल गरे भने विपक्षले त झन यसमा राम्रै खुराक भेटाउने नै भयो । जे हुनु नपर्ने थियो आखिर त्यही भयो एमाले धादिङको नवौं जिल्ला अविधेशनका क्रममा ।

अधिवेशनको तिथीमितिप्रति नै टिप्पणी
हुन त नेकपा एमाले जिल्ला कमिटि धादिङले नवौं जिल्ला अधिवेशनको मिति सार्वजनिक गरेदेखि नै टिप्पणी शुरु भएको हो । माघ १९ गते लाई नै एमाले धादिङले आफ्नो जिल्ला अधिवेशनको मिति किन तय ग¥यो भनेर आमा मानसमा टिप्पणी शुरु भएको थियो । तत्कालिन राजाले देशमाथि कु गरेको दिनलाई एमाले जस्तो लोकतान्त्रिक एक जिम्मेवार पार्टीले आफ्नो जिल्ला अधिवेशन गर्ने मिति कसरी तय गर्न सक्यो भनेर छलफलको खुराक पनि बनाइए । तर यो विषय संयोग मात्र पनि त हुनसक्छ । आखिर जिल्ला अधिवेशन गर्नको लागि जुनसुकै मिति पनि तय हुन सक्छ र यो नितान्त सम्बन्धित पार्टीको आन्तरिक कुरा रहेका कारण यसै हुनुपर्छ भन्ने पनि भएन । मात्र कुरा रह्यो माघ १९ नै किन? यसले प्रश्न उब्जाउनु स्वभाविक पनि हो ।

त्यति मात्र होइन, माघ २० गते विहान वन्द सत्र शुरु हुनै लाग्दा विवाद उत्पन्न भएर अधिवेशन रोकियो । पक्षविपक्षका विज्ञप्ती आयो । केन्द्रमा नेताहरु बोलाइए, प्रदेशको विज्ञप्ती आयो, यस्तो हुँदाहुँदै फेरी अर्को विज्ञप्ती आयो कि जिल्ला अधिवेशनको बाँकी काम फागुन १ गते सम्पन्न गर्ने भनेर । यहाँ पनि तिथिमितिप्रति टिप्पणी शुरु भयो । फागुन १ गते ताकि जनयुद्ध दिवसका दिन किन एमाले धादिङको बन्दसत्रको बाँकीकाम? नसार्नु सारिसकेपछि फागुन १ नै किन भन्नेहरु पनि धेरै छन् । यसले पनि राम्रै चर्चा पायो । यो पनि संयोग मात्र हुनसक्छ ।

आर्थिक संकलनको नयाँ अभ्यास
एमाले धादिङले जब आफ्नो नवौ जिल्ला अधिवेशनको मिति तय भएपछि अधिवेशन सञ्चालननार्थ भनेर आर्थिक संकलनको नयाँ अभ्यास चलायो । ‘पार्टीको लागि मेरो योगदान, १ सय रुपैँयाको अभियान’ नामदिएर सामाजिक सञ्जाल फेसबुकमा बैंक एकाउन्ट सहितको क्युआर कोड सार्वजनिक गरेको थियो । यसमा खासगरी पार्टीका नेताकार्यकर्ता एवं शुभचिन्तकहरुप्रति लक्षित गरिएको जनाइएको थियो । एमाले धादिङले आर्थिक संकलनको नयाँ अभियान चलाएको भनेर धेरैले खुलेर नै सहयोग गरेको पाइयो । राम्रो अभियान भनेर धेरैले प्रशंसा गरेको भएपनि केही व्यक्तिले भने यस अभियान माथि आलोचना समेत गरे । एमाले जस्तो लोकतान्त्रिक पार्टीले अधिवेशनको नाममा रकम माग्दै हात थापेको नसुहाउने भन्दै केहीले फेसबुकमै आलोचना गरे । तर यस विषयमा जिल्ला कमिटिले आर्थिक संकलन भन्दै रसिद प्याड बोकेर डुली हिड्दा राम्रो सन्देश नजाने भएकाले १ सय रुपँैयाको सहयोग संकलन अभियान चलाएको स्पष्ट पारिसकेको छ ।

अधिवेशनको पूर्वसन्ध्यादेखि नै विवाद
एमाले धादिङले जब आफ्नो नवौ जिल्ला अधिवेशनको मिति तय ग¥यो, त्यसपछि प्रचार प्रसारका काम पनि शुरु भयो । खासगरी पार्टी भित्रका संगठनहरु यस कार्यमा तल्लिन रहे । यसमा पनि प्रचार विभागले प्रचारको कामलाई सक्रिय बनायो । प्रचार विभागले एमाले धादिङको अधिवेशनको क्रममा इतिहास खोतल्न शुरु ग¥यो र एउटा लेख निकाल्यो । ‘अविष्मरिणय इतिहास बोकेको नेकपा मालेको पहिलो जिल्ला अधिवेशन’ शिर्षकको लेख सार्वजनिक भएपछि यस विषयमा धेरै चर्चा परिचर्चा भए । पार्टीको इतिहास खोतल्ने काम गरेको भनेर धेरैले रामै्र प्रशंशापनि गरे । यसमा धेरै कुरा छुटेको भन्ने कुरा पनि बाहिर आए । खासगरी त्यतिवेला पार्टी निर्माणको क्रममा ठुलो भुमिका खेलेका नरनाथ लुईटेलले सामाजिक सञ्जाल मार्फन लेख राम्रो भएपनि पुरा इतिहास समेट्न नसकेको भन्दै सुझाव दिनुभएको छ भने तत्कालिन नेकपा माले धादिङका संस्थापक सदस्य टंकानाथ शर्मा तिमिल्सिनाले सामाजिक सञ्जाल मार्फत सो लेखले इतिहास मार्ने काम गरेको भन्दै आलोचना नै गर्नुभयो । उहाले २०४३ सालमा भएको गाउँ पञ्चायतको निर्वाचनको क्रममा नलाङमा जनपक्षिय उम्मेद्वारको रुपमा पार्टीले आफलाई उठाएको हुँदाहुँदै अर्का व्यक्तिको नाम राखेर इतिहास मार्ने काम भएको उल्लेख गर्नुभएको छ । यस विषयमा पनि पक्ष विपक्षमा धेरै टिका टिप्पणी भएका थिए । यस विषयले पनि केही विवाद पक्कै निम्त्यायो ।

बन्दसत्रमा पत्रकारमाथि दुव्र्यवहार
एमाले धादिङले आफ्नो नवौ जिल्ला अधिवेशनका क्रममा माघ २० गते पार्टी कार्यालयमा बन्दसत्र शुरु गर्नै लाग्दा विवाद उत्पन्न भयो । विवादका क्रममा धकेलाधकेलको अवस्था सिर्जना भयो । धेरैले यसको फेसबुकमा लाइभ भिडियो पनि देखाए । यो गर्न ठिक थियो थिएन उनै जानुन् त्यही क्रममा समाचार लिन जाने पत्रकार माथि दुव्र्यवहार भयो भनेर कुरा बाहिर आयो । सामाजिक सञ्जालमा पनि यसले राम्रै स्थान पायो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा र जनजाति पत्रकार महासंघ फोनिजले ध्यानाकर्षण सहितको विज्ञप्ती निकाल्यो । यहाँनेर बुझ्न नसकेको कुरा एउटा राजनीतिक दलको जिल्ला अधिवेशनको बन्द सत्र किन फितलो हुन्छ ? बन्दसत्रमा पत्रकार मात्र होइन जो कुनैलाई पनि सहज प्रवेश दिनु नपर्ने हो । भलै पत्रकार समाचारको लागि रिपोर्ट लिन पुग्न सक्छन्, यस्तो अवस्थामा पार्टीले प्रचार विभाग मार्फत बन्दसत्रको जानकारी पत्रकारलाई कुनै माध्यमबाट गराउनुपथ्र्यो । गेटबाट सबैलाई किन प्रवेश दिइयो ? बन्द सत्र भनेपछि प्रतिनिधि र पर्यवेक्षक मात्र रहनुपर्छ ।

प्रचार विभाग र प्रेस चौतारीको भूमिका शुन्य
जब बन्दसत्रको लफडा शुरु भयो । पत्रकारमाथि दुव्र्यवहार भएको विषय बाहिर आयो, विज्ञप्ती नै आयो । यस्तो अवस्थामा पार्टीको प्रचार विभाग, पार्टी निकटको प्रेस चौतारी नेपाल जिल्ला समिति र स्वयं पार्टीले नै घटनाको विषयमा यथार्थ विवरण वाहिर ल्याउनुपथ्र्यो तर, यस विषयमा पनि यीनका भूमिका शुन्य भए । पार्टीका नेताहरु त झमेलाका कारण यस विषयमा समय दिन नभ्याउन सक्छन् तर, मातहतका संगठनहरुले यस विषयमा भएको समग्र विषयमा तथ्यसहितको जानकारी गराउनुपथ्र्यो । पत्रकार महासंघले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरिसकेको अवस्थामा त झन चुप लागेर बस्नु हुदैनथ्यो । जे भएको हो, कुरा बाहिर ल्याउनु राम्रो हुन्थ्यो । यस विषयमा कसैको पनि ध्यान गएन ।

बन्दसत्रमा तनाब, घाइते, घाइतेमाथि राजनीति
बन्दसत्रको क्रममा लफडामा परि एक जना कार्यकर्ता घाइते भएको विषयले पनि राम्रै चर्चा पायो । बन्दसत्रको क्रममा घाइते भई जिल्ला अस्पतालमा भर्ना भएको भनेर फोटो सहित सामाजिक सञ्जालमा कुरा बाहिर आयो । केही नेताहरुले विरामीको नजिक बसेर फोटो खिचाए अनिबन्दसत्रका क्रममा अर्को पक्षको आक्रमणबाट घाइते भएको भनेर शिघ्र स्वास्थ्य लाभको कामना भनेर स्टाटस समेत लेखे । केही नेताकार्यकर्ताहरुले यस विषयमा खण्डन गर्दै झडपमा परि घाइते नभएको बरु आफैं लडेर घाइते भएको समेत भन्न भ्याए । जे होस एकजना घाइतेलाई माध्यम बनाएर एमालेका नेता कार्यकर्ताहरुले राम्रै मलजल गरेर सामाजिक सञ्जाल सिगार्न पछि परेनन् । अस्पताल भर्ना भएका विरामी जे जसरी नै घाइते भएपनि शिघ्र स्वास्थ्य लाभको कामना छ ।

आरोप प्रत्यारोपमा नेता कार्यकर्ता
बन्दसत्रका क्रममा लफडा शुरु भएपछि नेताहरु दुई समुहमा बाडिए । कोही अधिवेशन गर्नु पर्छ भन्ने कोही स्थगित गर्नुपर्छ भन्ने । प्रदेश कमिटिका अध्यक्ष स्वयं बन्दसत्र स्थगित भयो भनेर विज्ञप्ती निकाल्छन्, जिल्ला अध्यक्ष बन्द सत्र शुरु हुन्छ भनेर विज्ञप्ती निकाल्छन् । यसमा नेता कार्यकर्ताहरु दुई समुहमा बाडिएर फेसबुकमा जुहारी खेल्न तल्लिन हुन्छन । यस्तो अवस्था दुई दिनसम्म रह्यो । तर माघ २३ गते जब नवौं जिल्ला अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बाँकी काम फागुन १ गते गर्ने भनेर विज्ञप्ती निकालेपछि फेसबुकमा देखिएको दुई पक्षविचको जुहारी केही मत्थर भएको छ ।
यस्तो आरोह अवरोहकाविच विगत केही दिनदेखि धादिङको राजनीतिक माहोलमा उत्तार चढाप आएको छ । सामाजिक सञ्जालमा यस विषयले निकै राम्रो स्थान समेत पायो । अन्ततः आरोप प्रत्यारोपकाविच जिल्ला अधिवेशनको बन्दसत्रको बाँकी काम फागुन १ गते गर्ने कुरा बाहिर आएको छ । फागुन १ पनि आउन लाग्यो । आशा गरौं फागुन १ गते हुने बन्दसत्र मायी र यस्ता कुनैपनि गतिविधि नभै सफलता पुर्वक अधिवेशन सम्पन्न होस् । यसमा नेता कार्यकर्ताहरुले आफ्नो विवेक नगुमाउन, धैयर्ता कायम गरुन । निकै सौहार्दपूर्ण वातावरणमा नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको खवर सुन्न पाइयोस । अधिवेशन सफलताको शुभकामना ।

About The Author

Loading...