‘सीपमूलक जनशक्ति उत्पादनका लागि बहुप्राविधिक शिक्षालयको खाँचो छ’

साउन २०, २०७८

पाहुना

Daakurnath parajuli_Prabidhik school

डाकुरनाथ पराजुली

प्रस्तुतकर्ता: पाविलन्युज

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले धादिङको गजुरीमा धादिङ बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएर तेश्रो वर्ष चल्दैछ । यो वर्ष विद्यार्थीले चार वर्षे कार्र्स सकेर पासआउट हुँदैछन् । सुरुवाती वर्षहरुमा भन्दा पछिल्लो वर्षहरुमा यो शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । शिक्षालय प्रमुख डाकुरनाथ पराजुली भन्छन्, ‘सीपमूलक जनशक्ति उत्पादनका लागि बहप्राविधिक शिक्षालयको खाँचो छ ।’

प्राविधिक शिक्षालय किन आवश्यक छ ?
व्यावसायिक वातावरण सिर्जना, आर्थिक–सामाजिक उन्नति, स्वदेशमै स्वरोजगारी र श्रमको सम्मानका लागि प्राविधिक शिक्षालयको ठूलो आवश्यकता छ । अनौपचारिक वा औपचारिक शिक्षा लिएकाहरुको सीप परीक्षणका लागि पनि यो आवश्यक छ ।

बहुप्राविधिक शिक्षालयमा पढिसकेपछि रोजगार हुन कति सजिलो छ ?
विद्यार्थीहरुले १८ महिने टीएसएलसी वा तीनवर्षे डिप्लोमा कोर्स गर्न पाउँछन् । तीन महिने, ६ महिने कोर्सहरु पनि थुप्रै छन् । ४० विषयमा डिप्लोमा र २५ विषयमा टीएसएलसी गर्न सकिन्छ । यी सब पढ्ने अनि काम शुरु गरिहाल्ने कोर्स हो । रोजगार उन्मुख शिक्षा भएकाले अपवाद बाहेक सबैले काम पाउँछन् ।

धादिङ बहुप्राविधिक शिक्षालयको बारेमा केही भन्दिनुस् न ?
यहाँ डिप्लोमा सकेर व्याचलर सम्मका विद्यार्थी अध्ययन गर्ने भएकाले यसलाई बहुप्राविधिक शिक्षालय भनिएको हो । धादिङमा चाही बहुप्राविधिक शिक्षालयलाई हामीले धादिङ पोलिटेक्निक स्कुल नाम राखेका छौं । स्कुल भन्ने वित्तिकै सिक्ने र पढ्ने कुरा बुझिन्छ । भर्ना हुने बेलामा विद्यार्थी इन्चिच्युटमा भर्ना भएका थिए भने अब पासआउट भएर सर्टिफिकेट लिएर जाने बेला बहुप्राविधिक शिक्षालयको सर्टिफिकेट लिएर जानेछन् ।

कस्ता खालको शिक्षालाई प्राथमिकता दिएको छ ?
यो समुदायमा ८५ प्रतिशत मानिस कृषिमा आधारित छन् । तीनहरुका लागि विशेष सोच बनाउन सकिरहेका छैनौं । सरकारको प्राथमिकता पनि कृषिमा रहेको र हाम्रो श्रोत र साधन पनि कृषिमा नै प्रयाप्त भएकोले कृषि क्षेत्रकै ज्ञान सीपलाई प्राथमिकतामा राखेका छौं ।

‘बाख्राको बर्कम्लाको अध्ययन गर्नुपर्ने देशमा कम्प्युटरको अध्ययन गरेर देशमा समृद्धि आउँदैन’ भन्ने विकासवादीहरुको भनाईलाई आधार मानेर पनि कृषि लाई नै मुल विषय बनाएर कृषिका फ्याकल्टीहरु नै समेटिएको छ । पशु र कृषि दुई वटा छुट्टा छुट्टै छ । अहिले विद्यार्थीको अत्याधिक चाप भएकाले कृषिमा मात्रै पनि २ वटा ग्रुपमा अध्ययन भइरहेको छ । फार्मेसी र फरेस्टीको पनि निर्णय ल्याएका छौं । अर्काे सालबाट फरेस्टी विषयमा पनि अध्ययन गर्ने तयारीमा छौं ।

पढ्न जाँदा पनि काम गर्नुपर्ने कस्तो शिक्षालय ?
करिकुलमले तोकेको प्रयोगात्मक अभ्यास शतप्रतिशत गराउनुपर्छ र विद्यार्थीले काम गर्दै सिक्दै कमाउँदै तिर्दै अध्ययन गरुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाइरहेका हौं । अहिले विद्यार्थीहरुलाई सीपसँग नजोडिकन ज्ञान हासिल गर्न नसकिने भएको हुनाले सिक, कमाउ र तिर भन्ने अवधारण अनुसार यहाँ शतप्रतिशत प्रयोगात्मक अभ्यास होस् भनेर माछा पालन, कुखुरा पालन, गाईभैसी पालन, बाख्रा पालन गरेर उत्पादनसम्म लान सुरु गरिरसकेका छौं । तरकारी खेती र पशुपालनबाट भएको आम्दानी छुट्टै राखेका छौं ।

धादिङ बहुप्राविधिक शिक्षालयमा आकर्षण बढ्नुको कारण के हो ?
साधारण शिक्षामा एउटा डिग्री हासिल गर्नेपर्ने भन्ने हाम्रो सोच थियो । अब चाही सीप सहितको शिक्षा चाहिन्छ भन्ने कुराको ज्ञान बढ्दैछ । धादिङ जिल्लाका १ सय ३२ वटै मावि स्कुलसँग समन्वय गर्नेवित्तिकै विद्यार्थीको सँख्या ह्वात्तै बढ्यो ।

शुल्क पनि देशकै सबैभन्दा सस्तोमा प्राविधिक शिक्षा दिइरहेका छौं । यसअघि वार्षिक १ लाख ६० हजार तिर्नुपर्नेमा अहिले ३ वर्षमा ६० हजार मात्रै तिरे पुग्छ । यो शुल्क भनेको कक्षा ११, १२ मा भन्दा सस्तो हो । सस्तोमा बहुप्राविधिक ज्ञान लिन सकिने भएपछि विद्यार्थीको आकर्षण बढेको छ ।

शिक्षालयप्रति अभिभावकको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
अभिभावकको अवस्थामा सुधार आउनु जरुरी छ । कलेजमा प्रयोगात्मक अभ्यासलाई जोड दिएको हुनाले ‘त्यहाँ त पढ्न पठाएका हौं काम गर्न पठाएका होइनौं’ भन्ने गर्नुभएको छ । पढाउने नाउमा काम लगायो भन्ने बुझाइ धेरै अभिभावकमा छ । तर, यो विषय नै यस्तो चिज हो जुन चिज नगरीकन जानिदैन । भनेको भरमा मात्रै जान्ने भए त एउटा किताब किनेर घरमै बसेर पढे भइहाल्यो । त्यसो हुनाले हामीले काम गर्नै पर्छ ।

कतिपय अभिभावकहरुले फिजिक्समा पनि फिल्डमा काम, केमिस्ट्रीमा पनि फिल्डमा काम भन्नुहुन्छ । काम गरेको कुरालाई ठूलो सानो मान्नु हँदैन । काम गरेर नै कन्फिडेन्स लेभल डेभलप गराउनु राम्रो हो । यो सबै एप्लाई साइन्स् हो । हामी इङ्लिसमा पनि धान खेती कसरी गर्ने भनेर एस्से लेख्न लगाउछौं ।

यसअघि टाइसुट र छालाको जुत्ता ड्रेस थियो । अहिले त्यो पनि परिवर्तन गरेका छौं । अहिले कृषि कै ड्रेसकोट अनुसार हरियो कुर्ता र कालो सुरुवाल र हरियो सर्ट र कालो पाइन्ट राखेका छौं । किनभने तत्काल फिल्डमा काम गर्नुपर्छ टाइसुट र छालाको जुत्ता लगाएर सम्भव हुँदैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश 

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन  

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस 

‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत    

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड 

यो पनि पढ्नुहोस