जीवनको पहिलो कमाइ र ‘भद्र वाच सर्विस’ बाट सुरु भएको यात्रा

कार्तिक २८, २०८२

जीवनको यात्रा कहिलेकाहीँ अनपेक्षित ठाउँबाट सुरु हुन्छ । केही व्यक्तिहरू भेटिन्छन् जसले केवल केहि शब्दले होइन, आफ्ना साना कामले पनि कसैको भविष्यको दिशा परिवर्तन गरिदिन्छन् । मेरो जीवनमा पनि त्यस्तै एक व्यक्तित्व हुनुहुन्छ–भद्रमान श्रेष्ठ, जसले मेरो पहिलो व्यवसायिक यात्रा सुरु गर्न आर्थिक मात्र होइन, नैतिक र आत्मिक सहारा दिनुभयो । आज जब पछाडि फर्केर ती दिन सम्झन्छु, “भद्र वाच सर्विस” को त्यो साइनबोर्डले मेरो संघर्ष, लगन, र कृतज्ञताको कथा बोकेको महसुस हुन्छ । यद्यपी त्यो पेशा र व्यवसायलाई मैले निरन्तरता दिन नसकेकोमा भने पछुतो पनि छ ।

संघर्षको शुरुवात
धेरैका लागि पहिलो कमाइ केवल पैसाको कुरा हुँदैन । त्यो आत्मविश्वास, आत्मनिर्भरता र आफ्नो अस्तित्व प्रमाणित गर्ने पहिलो कदम हो । मेरो बाल्यकाल सामान्य परिवारमा बित्यो, जहाँ मिहिनेत र इमान्दारिता नै जीवनको मूल्य मानिन्थ्यो । तर जब म युवा भएँ, परिवारका अपेक्षाभन्दा फरक बाटो रोज्ने निर्णय गरेँ । कला, सिर्जना र सानो व्यवसायको माध्यमबाट आफ्नो पहिचान बनाउन खोजेँ । जतिबेला म एसएलसी परीक्षा दिएर नतिजाको पर्खाइमा थिएँ ।
त्यो समयमा हातमा पूँजी थिएन, अनुभव सिमित थियो, तर भित्र एउटा सपना पलाएको थियो । केही आफ्नै बनाउन सकूँ, जसले मलाई र अरूलाई पनि प्रेरणा दिन सकोस् । तर सपना मात्रले पर्याप्त हुँदैन, त्यसलाई मूर्त रूप दिन कहिलेकाहीँ कसैको सानो सहयोग ठूलो वरदान बन्न पुग्छ ।

भद्रमान श्रेष्ठसँगको भेट
भद्रमान श्रेष्ठसँग मेरो भेट सामान्य परिस्थितिमा भएको थियो। उहाँ पेशाले घडी मर्मत गर्ने, तर स्वभावले सधैं सहयोगी, आत्मीय र हौसला दिने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको घर अगाडि वष्णिुभक्त श्रेष्ठ (म उहाँलाई काका भन्छु) को घरमा हाम्रो सानो होटल थियो शर्मा होटर एण्ड लज नामको । त्यहि होटलमा आमाले पकाएको खाना सर्भ गर्ने र कहिलेकाहिँ आमाले नभ्याउँदा भाँडा माभ्mने पनि गरिन्थ्यो । भद्रमान श्रेष्ठको घडि मर्मत गर्ने पसल थियो । हरेक विहान हामीकोमा चिया पिउन आउनु हुन्थ्यो । उहाँकोमा मानिसहरू घडी बनाउनेभन्दा बढी सल्लाह र हौसला लिन पुग्थे । त्यही पसलमा मेरो जीवनको एउटा नयाँ अध्याय लेखिन थालेको थियो । म पनि फुर्सद भयोकि उहाँलेघडि मर्मत गरेका हेरेर बस्थें, अचम्म लाग्थ्र्यो कदमै साना पार्टपुर्जामा उहाँले खेलेको देख्दा ।

एक दिन मैले उहाँसँग मेरो इच्छा साटें । “म आफ्नो सानो आर्ट स्टुडियो खोल्न चाहन्छु, जहाँ साइनबोर्ड, कलात्मक डिजाइन र चित्रकला गर्ने सपना छ ।” त्यो सुन्दा उहाँको अनुहारमा हाँसो फ्याँकिएको थियो, र म झस्किएँ कि शायद उहाँले मेरो कुरा बालसुलभ कल्पना ठान्नुभयो होला । तर उहाँले भन्नुभयो “काम सानो ठुलो हुँदैन, मन ठूलो हुनुपर्छ । सुरु गर, म तिम्रो साथमा छु ।” ती शब्द आज पनि मेरो कानमा बज्छन् ।

आर्टमा कसरी मेरो मन गयो त ?
सानैदेखि मेरो हस्तलेखन (ह्याण्डराइटिङ) राम्रो थियो । त्यसो त मेरो परिवारमा सानी दिदिको मेरो र भाइको हस्तलेखन (ह्याण्डराइटिङ) कक्षाका साथीहरुभन्दा अव्वल नै थियो । वशिेषगरि कक्षा नौ मा पढ्दा शिक्षा वषियमा बनाउनु पर्ने वार्षिक कार्य तालिकामा बनाएको कलात्मक डिजाइनले गुरु बासुदेव लम्सालको पनि ध्यान तानेको थियो । गुरुले एकदिन भन्नु भयो तिम्रो हस्तलेखन राम्रोछ, लेखेरै पनि खान्छौ । तर जीवनमा त्यसो त पूरा गर्न सकिन, रहर भने पु¥याएँ र पहिलो आम्दानी त्यसैलाई बनाए । लेखनकै क्रममा २०४८ सालको आम निर्वाचनमा प्रचार प्रसारको धेरै ब्यानर लेखियो । आफ्नो आस्था रहेको पार्टीको लागि सहयोग स्वरुप लेखियो र केहिको पैसा लिएर लेखियो । जसका लागि सहयोग स्वरुप लेखियो त्यतिबेला लेख्न लगाउनेले विगत विर्संदा भने नमज्जा लागेर आउँछ ।

पहिलो सहयोग–पहिलो विश्वास
त्यो समयमा मेरो परिवारको लागि आर्थिक अवस्था निकै कमजोर थियो । पसल खोल्ने, सामग्री किन्ने, बोर्ड बनाउने सबै कुरा सपना जस्तै लाग्थ्यो । तर भद्रमान श्रेष्ठले मेरो सपना बुझ्नुभयो र आफ्नै तर्फबाट आर्थिक सहयोग गर्नुभयो । उहाँले भन्नुभयो “यो त उपहार हो, तिम्रो लगनमा विश्वास गरेर दिएको । जब तिमी सफल हुन्छौ, त्यही त मेरो खुशी हो ।”
त्यो सहयोग केवल केही हजार रुपैयाँ थियो, तर मेरो लागि त्यो रकमभन्दा पनि ठूलो कुरा थियो । त्यो पहिलो विश्वास थियो, जसले मेरो आत्मबल पुनर्जीवित ग¥यो । उहाँले यो सहयोग हो ऋण होइन भन्नु भएको थियो ।

“भद्र वाच सर्विस” पहिलो साइनबोर्ड
भद्रमान अंकलले गरेको सहयोगबाट नारायणगढ पुगेर केहि थान प्लेन जस्तापात, ३/४ किसिमका रंग र पेन्टिङ ब्रस ल्याएँ । जब मैले आफ्नो सानो आर्ट स्टुडियो खोल्ने तयारी पूरा गरेँ, सबैभन्दा पहिलो साइनबोर्ड बनाउनु थियो । त्यो मेरो पहिलो पेशागत काम पनि बन्न पुग्यो । मलाई पहिलो ग्राहक नै खोज्न नपरी, भद्रमा श्रेष्ठले नै भन्नुभयो “मेरो पसलको साइनबोर्ड नयाँ बनाइदेऊ, अनि त्यो तिम्रो पहिलो काम मान ।” यदि पहिलो काम विग्रियो भने लगानी पनि जान्छ र विश्वास पनि गुम्छ । मैले त्यहि गरें । मलाई केहि राहत पनि भयो किनभने उहाँले दिएको रकममा केहि भनेपनि घटाउन पाएँ । उद्यपी उहाँले भन्नु भएको फेरिपनि दोहो¥याउँछु, यो सहयोग हो ऋण होइन ।

साइनबोर्डमा ठूला अक्षरमा लेखेँ– “भद्र वाच सर्विस”
त्यो अक्षरहरू म केवल ब्रसले होइन, भावना र सम्मानले कोरिरहेको थिएँ । मन्थनमा थिएँ–यो त केवल बोर्ड होइन, मेरो करियरको पहिलो हस्ताक्षर हो । जब त्यो साइनबोर्ड तयार भयो, उहाँको आँखामा खुशीको झिल्को थियो र मेरो पनि । उहाँले साइनबोर्ड हातमा लिएर भन्नुभयो –“अब त यो बोर्डमा तिम्रो नाम पनि लुकेको छ, जसले मलाई गर्व दिन्छ ।” त्यो पलमा मैले महसुस गरेँ कि कसैको जीवनमा सहयोग गर्नु भनेको उसको भविष्यको उज्यालोमा बत्ती बाल्नु हो ।

पहिलो कमाइ, आत्मविश्वासको बिउ
भद्रमान श्रेष्ठको पसलमा साइनबोर्ड टाँसिएपछि, केही दिनमै अरूले सोध्न थाले “यो साइनबोर्ड कोले बनाएको ?” त्यो नै मेरो पहिलो पहिचान बन्यो । विस्तारै अरू साइनबोर्ड, पेन्टिङ र डिजाइनका कामहरू आउन थाले । भद्रमाको मृदु व्यवहार र उहाँको सिफारिसले मलाई समुदायमा चिनाउने माध्यम बन्यो । तीनै सामाग्रिहरुको कामबाट मैले उहाँले दिएको बाँकि रकम पनि फिर्ता गरें र केहि रकम जम्मा (नाफा) पनि गरें ।
पहिलो कमाइको त्यो पैसा सानो थियो, तर त्यसले मेरो मनमा ठूलो गर्व जगायो । त्यो दिन मलाई लाग्यो, कडा मिहिनेत, विश्वास र सच्चा सहयोग मिल्दा कुनै पनि सपना असम्भव हुँदैन ।

भद्रमानको मानवीयता र सरलता
भद्रमान श्रेष्ठ केवल ग्राहक होइन, गुरु र अभिभावक जस्तै हुनुहुन्थ्यो । उहाँ सधैं भन्नुहुन्थ्यो, “कसैलाई पनि सधैं सहयोग गर्न सकिँदैन, तर हौसला दिन सधैं सकिन्छ ।” उहाँको यही विचारले मलाई हरेक कठिनाइमा अघि बढ्ने साहस दियो । जब कहिलेकाहीँ बजारमा प्रतिस्पर्धा र निराशा बढ्थ्यो, उहाँले सम्झाउनुहुन्थ्यो । “काम राम्रो गर, नाम आफैं फैलिन्छ ।” उहाँले मलाई सिकाउनुभयो, सफलता केवल पैसा कमाउनु होइन, विश्वास जित्नु हो । यो उहाँको हृदयको विशालता र व्यवहारको सरलता नै उहाँलाई असाधारण बनाएको छ मेरो मानसपटलमा ।

भद्र वाच सर्विसको साइनबोर्डको प्रतीकात्मक अर्थ
“भद्र वाच सर्विस” को त्यो साइनबोर्ड मेरो लागि एउटा विद्यालय जस्तै बन्यो । त्यहीँबाट मैले व्यवसायिक जिम्मेवारी, समयको मूल्य र ग्राहकको सम्मान सिकेँ । फेरि पनि भन्छु यद्यपी मैले यसलाई निरन्तरता दिन सकिन । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं जानुपर्ने भएकोले मैले यो काम छाडें । करिव आठ महिना काम गरेर मैले यसलाई बिट मार्न बाध्य भएँ ।

घडी मर्मत गर्ने भद्रमाको पसलमा म पनि सिक्थें “घडी जस्तो नै जीवन पनि मर्मत गर्नुपर्छ । बिग्रियो भने धैर्यले ठीक गर्नुपर्छ ।” त्यो साइनबोर्ड आज पनि मेरो स्मृतिमा झल्कन्छ । न त केवल रंग र अक्षरको कारण, बरु त्यसमा झल्किएको विश्वास, मित्रता र सुरुवातको शक्तिका कारण । आठ महिनाको समयसँगै मेरो आर्ट स्टुडियो “शर्मा आर्ट” नामले परिचित हुन थाल्यो । धेरैजसो साइनबोर्ड, वाल पेन्टिङ, र सृजनात्मक कामहरू गर्दा हरेकपटक मलाई भद्रमानको त्यो सहयोग सम्झना आउँथ्यो । म कहिलेकाहीँ सोच्दथें, यदि त्यो पहिलो सहयोग नभएको भए, म सायद अझै हिचकिचाइरहेको हुने थिएँ । उहाँको एउटा सानो योगदानले मलाई आत्मनिर्भर, आत्मविश्वासी र पेशामा योग्य बनायो । अहिले जब मैले विभिन्न संस्थाका लागि काम गर्न पाउँछु, मेरो मन भित्र सधैं एउटा आवाज आउँछ, “पहिलो अवसर दिने हातलाई कहिल्यै बिर्सिनु हुँदैन ।”

आभार र प्रेरणा
आज यो लेख लेख्दै गर्दा, हरेक वाक्यसँग एउटा भाव जोडिएको छ, कृतज्ञताको । भद्रमान श्रेष्ठप्रति म केवल धन्यवाद मात्र होइन, हार्दिक नमन प्रकट गर्न चाहन्छु । उहाँले दिएको सहयोग, हौसला र विश्वासले आज म जुन ठाउँमा छु, त्यसमा ठुलो योगदान छ । उहाँले सिकाउनुभएको एउटा कुरा जीवनको मन्त्र बनिसकेको छ । “सफलता त्यही हो, जहाँ आफ्नो कामले अरूको अनुहारमा हाँसो ल्याउँछ ।” त्यो साइनबोर्डको अक्षर हराइसके पनि, त्यसको अर्थ अझै मेरो हृदयमा जिवन्त छ ।
यतिबेला भद्रमान अंकल घडि मर्मत गर्ने पेशा र व्यवसायमा हुनुहुन्न र म पनि साइनबोर्ड लेख्ने पेशा र व्यवसायमा छैन । उहाँ अहिले आध्यात्मिक चिन्तन, घरपरिवार र वस्तुभाउको धन्दामा उत्तिकै सक्रिय हुनुहुन्छ । आज पनि म दैनिकजसो उहाँलाई भेट्दछु । जतिबेला भेट्दछु त्यहि दिन सम्झन्छु । तर मैले यो कुरा उहाँसंग व्यक्त गरेको छैन । थाहा छैन उहाँलाई यी कुरा याद छ कि छैन । सायद उहाँले म जस्ता अरुलाई पनि यहि प्रकृतिको सहयोग गर्नुभएको होला । तर आज म यो लेख मार्फत ती दिन सम्झिरहेकोछु ।

जीवनमा सबैभन्दा मूल्यवान कुरा पैसा होइन, विश्वास र सहयोग हो । भद्रमान श्रेष्ठले मलाई दिएको सहयोगले एउटा साधारण युवकलाई आत्मनिर्भर कलाकार बनाएको थियो । आज जब म नयाँ पुस्तालाई हेर्छु, म पनि त्यही सन्देश दिन चाहन्छु कि “यदि तिमी कसैको सुरुवातमा सहयोग गर्न सक्छौ भने, गर । किनकि त्यो सहयोगले कुनै दिन अर्को जीवनको दिशा परिवर्तन गर्न सक्छ ।” भद्रमान श्रेष्ठ केवल मेरो लागि सहयोगी होइन, मेरो जीवनका पहिलो गुरु, प्रेरक र मित्र हुनुहुन्छ । उहाँको “भद्र वाच सर्विस” मेरो लागि केवल पसल होइन, एउटा स्मारक हो । जहाँबाट मेरो सपनाको पहिलो पाना लेखिएको थियो ।

अन्त्यमा, जीवनको पहिलो कमाइको यात्रामा अमूल्य सहयोग र प्रेरणाको स्रोत बन्नुभएका भद्रमान श्रेष्ठप्रति हार्दिक धन्यवाद र गहिरो आभार व्यक्त गर्दछु । उहाँले निःस्वार्थ रूपमा देखाउनुभएका सद्भाव, विश्वास र आर्थिक सहयोगले मात्रै होइन, साथसाथै उहाँको उत्साहवद्र्धनले पनि आजको यात्रामा ठूलो हिम्मत र आत्मविश्वास प्रदान गरेको छ । उहाँप्रति सदैव कृतज्ञ छु र उहाँको यो सद्भाव र सहयोगले भविष्यमा पनि नयाँ सपनाहरू साकार पार्न निरन्तर प्रेरणा दिइरहनेछ ।
धन्यवाद

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
67%
😊
खुशी
0%
😢
दुःखी
33%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

ताजा खबर

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै  

धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउन सुरु

बाख्रापालनबाट स्वरोजगार   

यो पनि पढ्नुहोस