रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

राष्ट्रिय समाचार समिति

कार्तिक २३, २०८३

यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि साउदी राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ । आक्रमणबाट त्यहाँस्थित अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले आइतबार एएफपीलाई बताएका छन् ।
“किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरलाई लक्षित गरिएको हो, यसमा कुनै शङ्का छैन,” एक प्रत्यक्षदर्शीले बताउनुभयो । अन्य दुई प्रत्यक्षदर्शीले पनि उक्त भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।
अर्का एक प्रत्यक्षदर्शीका अनुसार अरामको टावरका धेरै तल्लामा क्षति पुगेको छ । भवनका सिसा फुटेका छन् भने बाहिरी संरचनाका केही भागमा समेत क्षति देखिएको छ ।
यमनमा लामो समयदेखि जारी द्वन्द्वका क्रममा सन् २०२२ मा भएको युद्धविराम गत जुलाईमा भङ्ग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः आक्रमण र प्रत्याक्रमण जारी छ । हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य संरचनालाई निशाना बनाउँदै आएका छन् ।
इरानको समर्थन प्राप्त हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए । त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धन यमनी सरकारको समर्थनमा द्वन्द्वमा सहभागी भएको थियो ।
किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट साउदी अरबको आर्थिक तथा सामाजिक सुधार अभियानको प्रमुख प्रतीक मानिन्छ । यहाँ अग्ला सिसे भवन, विलासी पसल तथा हरियाली क्षेत्रहरू छन् । आवासीय भवन र ठूलो मेट्रो स्टेसनसमेत रहेको यस क्षेत्रमा बिहानको व्यस्त समयमा मानिसहरूको बाक्लो आवतजावत हुने गर्दछ ।
यस क्षेत्रमा भएको आक्रमणलाई साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्वमा गम्भीर तनाव वृद्धिका रूपमा हेरिएको छ ।
आक्रमण साउदी शिक्षा मन्त्रालयले शनिबार राति रियादका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन हुने घोषणा गरेको केही घण्टापछि भएको हो । यसअघि आक्रमणको शृङ्खलाका कारण केही सातादेखि विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको थियो ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत हुथी समूहले रियादलाई लक्षित गरी प्रहार गरेका दुई ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेर नष्ट गरेको बताएका थिए । यसैबीच साउदी राजधानीमा ठूला विस्फोटका आवाज सुनिएका थिए ।
हुथी विद्रोहीबाट दैनिक आक्रमणको सामना गरिरहेको साउदी अरबले सहयोगी राष्ट्रहरूसँग सहयोगका लागि आग्रह गरिरहेको छ । हुथी विद्रोहीले हालै साउदी समर्थित सरकारको नियन्त्रणमा रहेको लाल सागरको तटीय क्षेत्रको ठूलो हिस्सा कब्जा गरेका छन् ।
यमनका विभिन्न अधिकारीहरूले एएफपीलाई बताएअनुसार हजारौँ सिरियाली सैनिक साउदी अरब र यमनमा तैनाथ हुने तयारीमा छन् । तीमध्ये केही सैनिक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा द्वन्द्व पुनः चर्किएयता एक हजार छ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।
सन् २०२२ मा भएको कमजोर युद्धविराम सम्झौता हुथी विद्रोहीले साउदी अरबको नियन्त्रणमा रहेको यमनी हवाई क्षेत्रको प्रतिबन्ध उल्लङ्घन गर्दै इरानी विमानलाई राजधानी सानामा अवतरण गर्न दिएपछि भङ्ग भएको थियो । त्यसपछि आक्रमणको शृङ्खला सुरु भएको थियो ।
त्यसपछि हुथी विद्रोहीले साउदी अरबमाथि सामुद्रिक नाकाबन्दी घोषणा गर्दै उसका जहाज, भू–भाग र तेल पूर्वाधारमा आक्रमण गरेका थिए । उनीहरूले आक्रामक अभियान सञ्चालन गरी यमनको सम्पूर्ण लाल सागर तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए ।
–––
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति